मोरङमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका व्यक्ति ७ वर्षपछि पक्राउ परेका छन्।
विराटनगर महानगरपालिका-१६ बस्ने ५५ वर्षीय एसराज लामा पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले शनिबार पक्राउ गरेको हो।
उनीविरूद्ध इलाका प्रहरी कार्यालय रानीमा २०७६ जेठ १३ गते कर्तव्य ज्यानको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी कोपिला चुडालले जानकारी दिइन्।
उनका अनुसार विराटनगर महानगरपालिका-१६ बस्ने २१ वर्षीया ईशायोगी शेर्षा र सोही ठाउँमा भाडामा बसी पसलमा काम गर्ने रेम्बो भन्ने रूद्रराज लामा प्रेम सम्बन्धमा थिए।
२०७६ साल वैशाख ८ गते रूद्रराजले ईशालाई घरमा बोलाई घर परिवारको मिलोमत्तोमा शरीरमा पेट्रोल छर्की आगो लगाएर गम्भिर घाइते बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ।
उपचारको क्रममा काठमाडौं कीर्तपुर अस्पतालमा ईशाको मृत्यु भएको डिएसपी चुडालले जानकारी दिइन्।
'ईशाको मृत्युपश्चात रेम्बोसहित उनका परिवारविरूद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो,' उनले भनिन्, 'एसराज रेम्बोका बुबा हुन्।'
उनी लामो समयदेखि फरार थिए। शनिबार पक्राउ गरी आइतबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको उनले जानकारी दिइन्।