पाल्पाको रामपुर नगरपालिका वडा नं. ६ ताल पोखरास्थित भण्डारी परिवारमा बुधबार वार्षिक पुण्य तिथिको काम हुँदै थियो।
गत वर्ष निधन भएका विमल भण्डारीको वार्षिक पुण्य तिथिको लागि टाढा टाढाका आफन्त र पाहुनाहरू मंगलबार साँझ नै ताल पोखरा आइसकेका थिए।
घरपरिवार र आफन्तहरू विमलको वार्षिकीमा गर्ने किरिया कर्महरूको तयारीमा जुटिरहेका थिए। विमलका नाति (दाइको नाति) जनक भण्डारी भने श्रीमती कल्पनालाई मोटरसाइकलमा राखेर मंगलबार बिहान ८ बजे बुटवल हिँडेका थिए।
लोक सेवा आयोगले खुलाएको अधिकृत पदको लागि कल्पनाले फारम भरेकी थिइन्। मंगलबार दिउँसो ४ बजे बुटवलमा सोही लोक सेवाको पहिलो परीक्षा थियो। कल्पनाले दिउँसो परीक्षा दिएपछि उनीहरू पौने ६ बजेतिर बुटवलबाट घर फर्किँदै थिए।
बुधबार हुने कान्छो हजुरबुवाको वार्षिक पुण्य तिथिमा जनक जसरी पनि उपस्थित हुनु थियो। त्यसैका लागि मंगलबार रातिसम्म भए पनि घर फर्किने भन्दै बिहान रामपुरबाट हिँडेका जनक कहिल्यै नफर्किने गरी सधैंको लागि सिद्धबाबा पहिरोमा अस्ताएका छन्।
चट्टान सहितको पहरो छिचोल्दै बनेको बुटवल दोभान सडक खण्ड वर्षायाममा मात्र होइन, हिउँद याममा समेत ढुङ्गा सहितको पहिरोले कैयौँको ज्यान लिइसकेको छ।
दिनभर मौसम सफा रहेको बुटवलमा पाँच बजेपछि पानी परेको थियो। रातिसम्म भए पनि घर पुग्नुपर्ने भएकोले उनीहरू पानी परिरहेकै बेला बुटवलबाट घर फर्किँदै थिए।
सिद्धबाबा मन्दिरदेखि १ किलोमिटर पर विद्युत् हेड बक्स नजिकै पुग्दा सडकदेखि माथिबाट ढुङ्गासहितको पहिरो खस्यो।
लु ५१ प ६६३३ नम्बरको मोटरसाइकलमा सवार भण्डारी दम्पती सोही पहिरोमा परे। मोटरसाइकल र कल्पनालाई सडकमै अडिए पनि जनकलाई भने पहिरोसहित झरेको ढुंगाले उछिट्ट्याउँदै सडकदेखि ३५ मिटर तल तिनाउ खोलाको पहरोमा पुर्याएको थियो।
मोटरसाइकल माथि पहिरो झरेको थाहा पाउने बित्तिकै प्रहरी चौकी दोभान र बुटवलबाट गएको प्रहरी टोलीले तत्काल भण्डारी दम्पतीको उद्धार गरी अस्पताल पुर्याएको थियो।
दुर्घटनामा परेको १५/२० मिनेटमै गम्भीर अवस्थामा उद्धार गरिएका जनक भने बाँच्न सकेनन्। प्रहरीले लुम्बिनी प्रादेशिक अस्पताल पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरिदिए। मोटरसाइकलको पछाडि बसेकी कल्पनाको हात खुट्टा भाँच्चिए पनि जोखिममुक्त रहेकी छन्।
उनी भाँच्चिएका हातखुट्टाको प्लास्टर गरी आफन्तसँग बुधबार दिउँसो घर फर्किँदै छन्। कल्पनालाई जनकको मृत्यु भएकोबारे परिवारले अझै जानकारी गराएका छैनन्। बुटवलबाट जनकको शव लिएर रामपुर जाँदै गरेका स्थानीय सागर देवकोटाले जनक गम्भीर घाइते भएको र अस्पतालमा उपचार भइरहेको झूटो आश्वासन दिइएको बताए।
‘उहाँले आशङ्का त गर्नुभएको छ होला तर हामीले जनकको मृत्यु भएकोबारे जानकारी गराएका छैनौँ,’ उनले भने।
कल्पनाले बुटवलमाभन्दा काठमाडौंमा राम्रो उपचार हुने भएकोले काठमाडौं लैजान भनिरहेको पनि उनले बताए।
जनक बुवा सागर प्रताप र आमा कृष्ण कलाका एक्ला छोरा हुन्। कल्पना र जनककी ५ वर्षकी छोरी प्राप्ति छन्। बुवा सागर प्रताप सरकारी विद्यालयका शिक्षक भए पनि जनक भने सानो उमेरदेखि नै समाज सेवामा लाग्दै आएको सागरले बताए।
३६ वर्षीय जनकले समाज सेवा, राजनीति र व्यवसायलाई सँगसँगै अगाडि बढाइरहेका थिए भने उनलाई बुवा आमा र श्रीमती कल्पनाले सघाइरहेका थिए। उनले रामपुरमा पिउने पानीको उद्योग सञ्चालन गर्दै आएका थिए।
नेकपा एमालेका जिल्ला कमिटी सदस्य रहेका जनक गत स्थानीय तहको निर्वाचनमा एमालेबाट वडा नं. ६ को अध्यक्षको उम्मेदवार बनेका थिए।
निर्वाचनमा पराजित भए पनि आफूले गर्दै आएको सामाजिक क्षेत्रको काममा कुनै पनि कमी आउन नदिएको वडा नं. ६ का वडा अध्यक्ष समेत रहेका स्थानीय दिवाकर देवकोटा बताउँछन्।
‘भण्डारी परिवारले मात्र होइन, सिंगो गाउँले नै होनाहार युवालाई गुमाउनुपर्यो, कान्छो हजुरबुवाको वार्षिकीमा आएका पाहुनाहरू नातिको मलामी जानुपर्ने दु:खद् घटना भयो,’ दिवाकरले भने।
उनले एउटा राजनीतिक दलको कार्यकर्ता भए पनि जनक गाउँमा सबैको प्रिय रहेको बताए।
जनकको शवलाई बुधवार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरी दिउसो १२ बजेतिर रामपुर हिँडाइएको छ।
रामपुर घरमा पुर्याएपछि कालिगण्डकी नदिको स्थानीय तातोपानी घाटमा उनको दाहसंस्कार गरिने दिवाकरले बताए।