काठमाडौंमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
गएराति साढे ११ बजे काठमाडौं महानगरपालिका-६ रामहिटीस्थित सडकखण्डमा बा. प्र. ०१-००६ ख ५५०८ नम्बरको टिपरले अन्दाजी ७० वर्षका वृद्धलाई ठक्कर दिएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते भएका वृद्धलाई उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज पुर्याइएको थियो।
त्यहाँ १२:०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो। मृतकको पहिचान नखुलेको पनि एसपी बोहराले जानकारी दिएका छन्।
शव पोस्टमर्टमका लागि आइतबार बिहान साढे २ बजे त्रिवि शिक्षण अस्पताल पठाइएको पनि एसपी बोहराले जानकारी दिए।
पैदलयात्रीलाई ठक्कर दिएर टिपर फरार भएको थियो।
काठमाडौंबाट फरार भएको उक्त टिपर र चालकलाई आइतबार बिहान साढे ५ बजे काभ्रेको मण्डनदेउपुरबाट नियन्त्रणमा लिइएको एसपी बोहराले जानकारी दिए।
टिपर र त्यसका चालक मण्डनदेउपुर-६ का २८ वर्षीय अजय श्रेष्ठलाई काठमाडौं ल्याउँदै गरिएको प्रहरीले जनाएको छ।