अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय पोखराका लेखा अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
अख्तियारले लेखा अधिकृत झलक शर्मा पौडलविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
२०५४ सालमा नियुक्ति भएका पौडेलले २०८० मंसिर १० गतेसम्म ६ करोड २६ लाख ९३ हजार १२९ रूपैयाँ आम्दानीको स्रोत पुष्टि गर्न नसकेकाले मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
उनका अनुसार उक्त समय अवधिमा पौडेलको ९ करोड ६६ लाख ८० हजार ६२० रूपैयाँ कमाएको देखिन्छ। त्यसमध्येमा उनको सेवा, सुविधा ऋणसहित ३ करोड ३९ लाख ८७ हजार ४९० रूपैयाँ मात्र आय गरेको प्रमाण भेटिएको छ। बाँकी रकमको स्रोत खुलेन।
बाँकी रकमको स्रोत पुष्टि गर्न नसकेकाले सार्वजनिक पदमा रहँदा आफ्नो पदीय हैसियतको दुरूपयोग गरी गरैकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएको प्रवक्ता पौडेलले जानकारी दिए।
उनीविरूद्ध ६ करोड २६ हजार ९३ हजार १२९ रूपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता गरिएको छ।
गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति पौडेलकी श्रीमती हुमाकुमारी उपाध्यायको नाममा समेत राखेको देखिएकाले उनीमाथि पनि मुद्दा चलाइएको प्रवक्ता पौडेलले जानकारी दिए।