ट्रम्प प्रशासनले त्रुटिपूर्ण ढंगले डिपोर्ट गरेको एक जनालाई फर्काएको छ।
अमेरिकी युवतीसँग बिहे गरेर मेरिल्याण्ड बस्दै आएका २९ वर्षीय किल्मार अब्रेगो गार्सियालाई अमेरिकी सरकारले एल साल्भाडोरबाट फर्काएको हो।
उनलाई मध्ये मार्चमा भेनेजुयली आप्रवासीहरूसँगै राखेर ट्रम्प प्रशासनले एल साल्भाडोरको जेलमा डिपोर्ट गरेको थियो।
त्यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १८ औं शताब्दीको विदेशी शत्रु कानुन ब्युँताएर भेनेजुयलाको आपराधिक समूह ट्रेन दि अरागुआमा संलग्न रहेको आरोपमा डेढसय भन्दा बढी आप्रवासीलाई एल साल्भाडोरको जेल पठाएको थियो।
तीमध्ये किल्मार अब्रेगो गार्सिया भने वैध ढंगले नै अमेरिकाको मेरिल्याण्ड बस्दै आएको खुलेको थियो।
वर्क परमिट लगायतका कागजातसहित उनी वैध ढंगले काम गरिरहेको भए पनि उनलाई ट्रम्प प्रशासनले डिपोर्ट गरेपछि अदालतमा मुद्दा परेको थियो।
अमेरिकी सरकारले उनलाई भूलवश डिपोर्ट गरिएको स्वीकार पनि गरेको थियो। भूलवश डिपोर्ट गरिएको भए उनलाई तत्काल फिर्ता ल्याउन मेरिल्याण्डको ग्रीनबेल्ट अदालतमा मुद्दा दर्ता भएको थियो।
न्यायाधीश पाउला जिनिसले ती व्यक्तिलाई अमेरिका नै फिर्ता ल्याउन अप्रिल ७ सम्मको समय दिएकी थिइन्। तर झन्डै दुई महिनापछि मात्रै अमेरिकी सरकारले किल्मारलाई फिर्ता ल्याएको हो।
राष्ट्रपति ट्रम्पका महान्यायाधिवक्ता पाम बोन्दीले किल्मार अमेरिका फिर्ता भइसकेको र उनीमाथि आप्रवासी तस्करीको कसुरमा अनुसन्धान भइरहेको जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
किल्मारलाई आपराधिक समूह ‘एमएस-१३’को सदस्य रहेको आरोप पनि ट्रम्प प्रशासनले लगाएको छ। यद्यपि किल्मारका वकिलले भने उक्त आरोपमा सत्यता नरहेको दाबी गरेका छन्।
राष्ट्रपति डोनाल्ड ट्र्म्पले पनि किल्मारलाई अत्यन्त खराब व्यक्ति भनेका छन्। ‘उनी कति खराब मान्छे हुन् भन्ने देखाउनका लागि पिन फर्काइएको हो,’ ट्रम्पले एयरफोर्स वानमा पत्रकारहरूसँग भने।
ट्रम्प प्रशासनले बुधबार पनि त्रुटिपूर्ण ढंगले डिपोर्ट गरेको समलिंगी पुरूषलाई ग्वाटेमालाबाट फर्काएको थियो।
यी दुई घटनाले आप्रवासी डिपोर्ट गर्दा ट्रम्प प्रशासनले कति हेलचेक्र्याँइ गरेको थियो भन्ने पुष्टि गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।