राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार पाँच जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
पौडेलसहित तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, तत्कालीन निमबहादुर वली, म्याक्स इन्टरनेशनल प्रालि पुतलीसडक र उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अकबर हुसेनविरूद्ध मुद्दा दायर भएको हो।
उनीहरू प्रत्येकलाई ५ करोड ७९ लाख रुपैयाँ बिगो कायम गरेको छ।
केन्द्रबाट आर्थिक वर्ष २०७५/७६ मा सप्लाइ डेलिभरी एन्ड इन्स्टलेशन एन्ड कमिशनिङ अफ आरआइएससी एन्ड एचसिआइ सर्भर खरिद सन्देहपूर्ण रहेको भन्दै अख्तियारमा उजुरी परेको थियो।
खरिद गरिएका मुख्य उपकरणहरूको प्राविधिक विवरण अनलाइनमा प्राप्त विवरणहरूसँग मिल्न गएको तर अनलाइनमा रहेको मूल्यसूची भन्दा पनि बढीमा खरिद गरेको भन्ने उजुरी थियो।
राष्ट्रिय सूचना प्रविधि केन्रले यस खरिदका लागि २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँको लागत अनुमान तयार गरी पेश गरेको थियो।
म्याक्स इन्टरनेशनलले २०७६ असार ४ मा उक्त केन्द्रमा ‘ट्रेनिङ एन्ड वानटाइम इन्स्टलेशन एन्ड कन्फिगुरेशन एट जिआइडिसी र डिआरसी’ शीर्षकमा भ्याट बाहेक दुई करोड ६५ लाख र तीन वर्षको वारेन्टी सहयोग शीर्षकमा भ्याट बाहेक तीन करोड १४ लाख रुपैयाँ भुक्तानी लिएको देखिएको हो।
मिलेमतो गरी ट्रेनिङ, इन्स्टलेशन र कन्फिगुरेशन कार्यको लागत अनुमान तयार गरेको, सम्झौता बमोजिम वारेन्टी अनसाइत सपोर्टको कार्य नै नभएको भन्दै पाँच करोड ७९ लाख रुपैयाँको भ्रष्टाचार भएको अख्तियारले जनाएको छ।
यसरी भ्रष्टाचार गरेको रकमलाई सुनिल पौडेलले सिंगापुरको बैंक खातामा समेत जम्मा गरेको खुलेको हो।
म्याक्स इन्टरनेशनलले सिंगापुरको बांकटेक पिटिई लिमिटेडमार्फत सामान खरिद गरेको थियो। उक्त खरिद गर्ने आपूर्ति कम्पनी बांकटेकले सन् २०१९मा पौडेलको सिंगापुरस्थित बैंक खातामा ७९ हजार ६४० अमेरिकी डलर जम्मा गरेको समेत अख्तियारले जनाएको छ।
यो पनि: तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलले यसरी मागेका थिए घुस