काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-९ पिन्थलीमा लोदोसहितको पहिरो खस्दा बिपी राजमार्ग अवरूद्ध भएको छ।
खहरे खोलाको लेदो सहितको बाढीले आइतबार साँझ साढे ६ बजेदेखि दुईतर्फी सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलेले जानकारी दिए।
उनका अनुसार इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले बाटो खुलाउने पहल गरिरहेका छन्।
गत असोज १० देखि १३ गतेसम्मको बाढीले बिपी राजमार्ग क्षतिग्रस्त बनाएको थियो।
उक्त सडक खण्डको १३ किलोमिटर भाग कटान नै गरेपछि बनाउन ठेक्का आह्वान भएको छ। अहिले उक्त राजमार्ग अस्थायी तरिकाले सञ्चालन गरिँदै आएकोमा सडक खण्डका खोला, खोल्सीमा भेलबाढी आउनेबित्तिकै गाडीहरूको आउजाउ रोकिने गरेको छ।
बाढी पहिरोको जोखिमलाई ध्यानमा राख्दै एक महिनाका लागि काभ्रेभञ्जाङ-भकुण्डे हुँदै सिन्धुली जाने यात्रुबाहक सवारी साधनलाई साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म चल्न रोक लगाइएको छ।
असार २२ गतेदेखि थप एक महिनाका लागि यात्रुबाहक सवारी साधन चल्न रोक लगाइएको हो।