भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको ३ करोड ६१ लाख रुपैयाँ बराबरको मालसामानसहित ३ वटा भारतीय नम्बरका कन्टेनर ट्रकहरू झापामा प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड नगरपालिका–५ स्थित नागरमोड नजिक पूर्व–पश्चिम राजमार्गमा भारतको काकडभिट्टाबाट नेपाल प्रवेश गरिरहेका कन्टेनरहरूलाई गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिइएको हो।
प्रहरीले नियन्त्रणमा लिएका भारतीय नम्बर प्लेट भएका कन्टेनरहरू क्रमशः एनएल ०१ एच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका रहेका छन्।
ती कन्टेनरहरू जाँच गर्दा पात संकलक तथा आवश्यक उपकरणसहितको ट्रयाक कम्बाइन हार्भेस्टर फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको मालसामानको मूल्य करिब ३ करोड ६१ लाख रुपैयाँ बराबर रहेको प्रारम्भिक अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाले ती कन्टेनरहरूलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, इटहरी पठाएको छ। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।