हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा परेको छ।
गत बुधबार रातीको बाढीको कारण खोज्दै माथिल्लो तटिय क्षेत्रमा पुगेका सुरक्षाकर्मी सहितको स्थानीयको टोलीले सिरानमा रहेका दुई हिम ताल फुटेको आशंका गरेका हुन्।
४ दिनसम्म केन्द्र र स्थानीय सरकारले बाढीको कारण पत्ता लगाउन चासो नदिएपछि नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्चोर तामाङ केही स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा थाक्रा पुगेका थिए।
अध्यक्ष सहितको टोली पहिरोको कारण खोज्दै ८ हिनेर ५ हजार ३ सय मिटरको उचाइमा रहेको थाक्रा पुगेका हुन्।
हिल्सास्थित सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका १० जनासहित थाक्रा पुगेका हुन्। लिमीमा कुनै पनि सुरक्षा निकायको उपस्थिति छैन। उनीहरू दक्ष प्राविधिक टोली र उपकरणबिना नै उच्च स्थानमा पुगेका थिए।
पहिरोका कारण गाउँ पुग्ने सबै संरचना तहसनहस भएको छ। गाउँलाई बाढीले तीन तिरबाट कटान गरिरहेको छ। १९ घर परिवारका ३३ जना बसोबास गर्दै आएको तील गाउँमा बुधवार राती लेदो सहितको बाढी आएको थियो।
पहिरोले हाल्जी र हिल्सा तर्फको बाटो र पुल भत्काएको छ। सेखाङलुङबा खोलामा आएको बाढीले बस्तीतर्फ र तिल्जुङ्ग खोलामा आएको बाढीले विद्युतीय पावरहाउस भत्काउनुको साथै हिल्सा जाने बाटो भत्काएको हो।
त्यस वरपरको अन्य संरचना पनि भत्काएको छ। पहिरोले बाटो भत्काएर पोखरी जस्तो दह बनाएको वडा नम्बर ६ का पाल्जोर तामाङ्गले बताए।
‘जोखिम बढेको छ। केन्द्र सरकारले समयमा उद्धार गरेन भने जे पनि हुन सक्छ,’ उनले भने।
वडानम्बर ६ स्थित थाक्रामा रहेका दुई वटा चर्किएको जस्तो देखिने तालको संरचना देखाउँदै तील गाउँका स्थानीयवासी कुञ्जोक फुर्बु लामाले भने, ‘हामी ५ जना माथि यो तालसम्म आएका छौं। घटनास्थल तील गाउँबाट यहाँ आइपुग्न ८ घण्टा लाग्य । अहिले हामी ५ हजार ३ सय उचाइमा छौं। यहाँ दुई वटा हिमताल रहेछन्। माथि बरफ (हिउँ) को तल पानी रहेछ। त्यो पानी जमिन मुनिबाट निस्केर तल गएको देखियो। त्यही पानीले घटना गराएको रहेछ भन्ने हामीलाई लागेको छ।’
हुम्लाको नाम्खा गाउँपालिकाभित्र लिमि उपत्यकाभित्र पर्ने तील गाउँ सबैभन्दा विकट गाउँ हो। यो गाउँमा समय समयमा यसअघि पनि हिउँ पहिरो आउने गरेको थियो। मनसुन पूर्वको यो बाढी र कटानले गाउँ नै बगेर जाने जोखिम देखिएको छ।
(न्युज एजेन्सी नेपाल)