त्रिभुवन राजपथको नागढुंगा नौबिसे सडकखण्ड आंशिक रूपमा बन्द हुने भएको छ।
सोमबारदेखि वैशाख ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्मका लागि सवारीसाधनहरूलाई आंशिक रूपमा रोकेर निर्माणको काम गरिने नागढुंगा मुग्लिन सडक योजना कार्यालयले जनाएको छ।
काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारीसाधनहरूलाई राति नागढुंगा चेकपोष्टमा रोकिनेछ।
त्यस्तै नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीसाधनहरूलाई खत्रिपौवा पुलमा रोकिनेछ।
साना तथा मझौला सवारीसाधनहरूका लागि भने वैकल्पिक रूट प्रयोग गर्न भनिएको छ।
सीतापाइला भिमढुंगा-रामकोट-धार्के सडक प्रयोग गर्न भनिएको छ।
त्यस्तै वैकल्पिक बाटोको रूपमा सामाखुसी-टोखा-गुर्जेभञ्ज्याङ-छहरे-त्रिशुली-गल्छी सडक हुँदै जान सकिने उल्लेख छ।
राति ११ बजेतिर सवारीसाधनलाई रोकेर बिहान ३ बजेपछि मात्रै छाडिने योजनाले जनाएको छ।
एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने निर्वाध रूपमा संचालन हुनेछन्।