दाङको तुलसीपुरस्थित एक निजी विद्यालयमा विद्यार्थीले शिक्षकमाथि धारिलो हतियार खुँडा प्रहार गरेका छन्।
तुलसीपुर उपमहानगरपालिका-६ रजौरास्थित हिमाल एकाडेमीमा कक्षा १२ मा पढ्ने १८ वर्षीय सुरेश सुनारले ३७ वर्षीय विशेष श्रेष्ठमाथि खुँडा प्रहार गरेका हुन्। श्रेष्ठ कक्षा १२ का संयोजक समेत हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राना मगरका अनुसार श्रेष्ठको बायाँ कुम र दुबै हातको पाखुरामा चोट लागेको छ। उनको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँबाट प्राथमिक उपचार पछि राप्ती लाइफ कियर हस्पिटलमा लगिएको छ।
उनको स्वास्थ्य अवस्था मध्यम छ।
कक्षा १२ को परीक्षा आइतबारदेखि सुरू हुँदैछ। परीक्षा अघि नै विद्यालय बिदा भइसकेको थियो। शुक्रबार बिहान विद्यालय पुगेका सुरेशले कापी जाँचिरहेका शिक्षक विशेषमाथि खुँडा प्रहार गरेको विद्यालयका एक शिक्षकले बताए।
‘गितार बोक्ने झोला बोकेर आएका थिए। विशेष सर विद्यालय प्राङ्गणमा कापी जाँचिरहनुभएको थियो। एकाएक सुरेशले हतियार प्रहार गरेर भागे,’ ती शिक्षकले भने।
सुरेशले किन शिक्षकमाथि हतियार प्रहार गरे भन्ने खुलिसकेको छैन।
‘घाइते भइसकेपछि पनि सरले आश्चर्य व्यक्त गर्नुभएको थियो,’ ती शिक्षकले भने, ‘मैले उसलाई कहिलै केही गरेको वा भनेको थिएन, तर मलाई किन उसले खुँडा हान्यो भन्नुभएको थियो।’
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।