दुई सातामा जाजरकोटमा २४५ वटा भेडा मरेपछि किसानहरू चिन्तामा छन्।
पालेका भेडा कोही मर्ने त कुनै बिरामी पर्न थालेपछि किसानहरू चिन्तामा छन्।
बारेकोट गाउँपालिका–३ पहाडा मौसम गाउँका ३३ वर्षीय वीरबहादुर रोकायाले पालेका एक सय २५ भेडामध्ये दुई साताको अवधिमा ४५ भेडा मर्यो भने अरू बिरामी परेका छन्।
उनीसहित ९ किसानले पालेका दुई सय ४५ भेडा मरिसकेको छ। रोकायाका अनुसार भेडालाई पखला चल्ने समस्या देखिएको छ।
‘पखला चल्ने समस्या देखिएको छ, के रोग हो भन्ने पत्ता लागिसकेको छैन,’ उनले भने, ‘मेरो मात्रै ४५ भेडा मर्यो, त्यो करिब ८ लाख बढीको क्षति हो।’
ठूलो संख्यामा भेडा बिरामी भएको र मर्ने क्रम बढेपछि पशु चिकित्सकहरूसमेत सो क्षेत्रमा खटिएका छन्। तर के कारणले गर्दा भेडा मरिरहेको छ भन्ने पहिचान भइसकेको छैन।
जंगलमा गोठ बनाएर यहाँका स्थानीयले भेडापालन गर्दै आएका छन्। द्वारे ओडार भन्ने ठाउँमा चरनमा लगिएका स्थानीय लोमबहादुर रावत र लोकबहादुर रोकायाले पालेका भेडामा सुरूमा पखला चल्ने समस्या देखिएको किसानहरूको भनाइ छ। यो बीचमा रावतका २५ र रोकायाका १५ भेडा मरिसकेका छन्। अरू भेडा पनि बिरामी छन्।
यो गाउँमा वीरबहादुर रोकाया नाम गरेका तीन जना किसान छन्। उनीहरूले पालेका भेडा पनि मर्ने र बिरामी पर्ने गरेको छ।
बारेकोट ३ का अध्यक्ष रामबहादुर सिंहले पहिचान हुन नसकेको रोगका कारण भेडा बिरामी पर्ने र मर्ने क्रम चलिरहेको बताए। ‘बिरामी परेका भेडालाई कुन औषधि खुवाउने हो पनि किसानलाई जानकारी दिन सकिएको छैन,’ उनले भने, ‘वडाका पशु सेवा शाखाका प्राविधिक पनि भेडा बिरामी भएका खटिएका छन्। दिनहुँ ८/१० वटाका दरले भेडा मर्ने गरेको छ।’
गाउँपालिकाका पशु शाखा प्रमुख भीमबहादुर चलाउने नेतृत्वमा पशु प्राविधिकहरू पहाडा गाँउमा खटिएका थिए। तर भेडा मर्ने क्रम नरोकिएपछि जिल्ला र कर्णाली प्रदेशबाट पशु सेवाका थप विज्ञ बोलाइएको थियो।
बिरामी परेका भेडाका नमूना वैशाख १२ गते संकलन गरेर जिल्ला र प्रदेशका पशु शाखा हुँदै काठमाडौं पठाइएको छ। साथै पशु सेवा चिकित्सक र प्राविधिकहरूले करिब ६ सय भेडामा सुईमार्फत् औषधि दिएका थिए। सुई लगाएपछि केही भेडा भने तङ्गिएका छन्।
२५ वटा भेडाका दिसा, सिगान, रगत, कलेजो, फोक्सो, ठूलो र सानो आन्द्राको नमूना संकलन गरिएको पशु सेवा चिकित्सकहरूले बताएका छन्। यसको रिपोर्ट शुक्रबार बेलुकासम्म आइपुग्ने उनीहरूको भनाइ छ।
जिल्ला पशु सेवा कार्यालयका सूचना अधिकारी तिलकबहादुर रानाका अनुसार बिरामी भेडालाई सलाइन र एन्टिबायोटिक दिए पनि समस्या समाधान भएको छैन।
भेडा मर्न थालेपछि अनुसन्धान र उपचारका लागि पुगेका पशु चिकित्सक भानुभक्त गौतमका अनुसार धमाधम भेडा मर्नुका पछाडि केही कारण हुन सक्छन्।
हालै वर्षा भएका कारण वन जंगलमा नयाँ प्रजातिको कुनै झार पलाएको हुन सक्छ। त्यो भेडाले खाएपछि त्यो विषको रूप लिन गयो कि भन्ने आशंका छ।
किसानले पालेका भेडामा पखाला लाग्ने प्रमुख समस्या देखिएको र केही भेडाको पिसाबमा रगतको मात्रा पनि भेटिएको उनले बताए। ‘किसानले भेडालाई पानी कम खुवाएको पनि हुन सक्छ,’ उनले भने।
उनले पिपीआर रोगलगायत हो कि भन्ने पनि आशंका छ। ‘पिपीआर वा ओभर इटिङले त्यति धेरै भेडा मर्ने हुँदैन,’ उनले भने।