चैत, वैशाखमा प्रकृतिले काँचुली फेर्छ। सुकेका पातहरू झरेर हरिया पालुवा पलाउँदा प्रकृतिमा बहार छाउँछ।
तर अचेलको चैत पहिलेको जस्तो छैन। अचेल चैतमा वनैभरि फैलिएको डढेलोको धुवाँले वायुमण्डल ढाक्छ। पालुवा पलाउँदै गरेका रूखहरूलाई खरानी बनाउँछ। हामीले ऋतुराज मान्दै आएको वसन्त ऋतुमा मान्छेलाई श्वास फेर्नै मुस्किल हुन थालेको छ।
वनमा अनियन्त्रित रूपमा लागेको डढेलोसँगै सवारी साधन, कलकारखानाले निकाल्ने धुवाँ, खेतबारीमा लगाइने आगोको धुवाँ तथा सीमापारिबाट हावासँगै बगेर आएको प्रदूषणले केही दिनयता जनजीवनलाई नै प्रभावित बनाइरहेको छ। अन्य प्रदूषणमा डढेलोबाट निस्किएको धुवाँ मिसिँदा हावा थप विषालु बनेको विज्ञहरू बताउँछन्।
भरतपुर–७ का अमर न्यौपाने प्रदूषित हावाका कारण मोटरसाइकल चलाउनै गाह्रो भएको बताउँछन्।
‘एकैछिन मोटरसाइकल चलाउँदा पनि आँखा पोलेर गाह्रो भइहाल्छ। चस्मा र माक्स लगाएर बाहिर निस्कन पनि मुस्किल भइरहेको छ,’ ४५ वर्षीय न्यौपाने भन्छन्, ‘यति धेरै गाह्रो त यसअघि कहिल्यै भएको थिएन। प्रदूषणले हैरान बनायो।’
रत्ननगर–७ की रमा आचार्य आँखाको परीक्षणका लागि भरतपुर आँखा अस्पताल पुगेकी थिइन्। केही दिनदेखि उनको टाउको दुख्ने, आँखाबाट आँसु बगिरहने समस्या भएको थियो।
‘हावा फोहोर भएर समस्या भएको हो भनेर डाक्टरले औषधि दिनुभएको छ। नजिकैको जंगलमा डढेलो लागिरहन्छ। दिनभर खेतमा काम गर्नुपर्ने मान्छेलाई त्यही डढेलोको धुवाँले असर गरेको होला,’ उनले भनिन्।
चितवन मेडिकल कलेजका वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ प्रा.डा.शितल अधिकारीका अनुसार हावामा बढेको प्रदूषणले दीर्घरोगी, फोक्सो, श्वासप्रश्वासको समस्या हुने, मुटु, मिर्गौलाको समस्या हुने व्यक्ति र बालबालिकालाई धेरै असर गर्छ। त्यसैले सकेसम्म बाहिरका गतिविधिमा सहभागी नहुन उनको सुझाव छ।
‘स्वास्थ्यका लागि मर्निङ वाक, इभिनिङ वाक गर्नेहरू पनि अहिलेको अवस्थामा बाहिर ननिस्कँदा राम्रो हुन्छ। बालबालिका, वृद्धवृद्धाहरूलाई यो प्रदूषणले अझै असर गर्छ। बच्चाहरूमा रोगसँग लड्ने क्षमताको विकास भइसकेको हुँदैन। पछि श्वासप्रश्वासमा समस्या आउनसक्छ,’ अधिकारीले भने।
पृथ्वी राजमार्गको कुरिनटारबाट देखिएको डढेलो।भरतपुर अस्पतालका मेडिसिन विभाग प्रमुख डा.प्रकाश खतिवडा भाइरल इन्फ्लोइन्जाका बिरामी बढिरहेको समयमा फैलिएको प्रदूषणले थप असर गरिरहेको बताए।
इन्फ्लोइन्जामा वायु प्रदूषण मिसिँदा आँखा, नाक पोल्ने, खोकी लाग्ने, घाँटी दुख्ने, घ्यारघ्यार हुने समस्या पनि थपिएको उनले बताए।
‘यसको असर भविष्यमा अझै बढी पर्छ। श्वासप्रश्वासमा समस्या भएका व्यक्तिलाई यसले अझै धेरै असर गर्छ,’ खतिवडा भन्छन्, ‘यो समयमा अलि धेरै नै सतर्क हुनुपर्छ।’
बढ्दो वायु प्रदूषणले पर्यटन व्यवसायमा पनि गम्भीर असर गरेको छ।
सौराहास्थित होटल जंगल क्राउनका सञ्चालक तथा कार्यकारी प्रमुख सन्तोष गिरीले प्रदूषण बढ्दा पर्यटकहरू चिन्तित भएको बताए।
‘पर्यटकहरू वन, वन्यजन्तु हेर्न भनेर टाढाबाट आउँछन्। तर त्यही वनमा डढेलो लागिरहेको देख्दा निराश बन्छन्,’ गिरीले भने, ‘प्रदूषण बढ्न थालेपछि होटल बुकिङ गरिसकेका पर्यटकहरूले सम्पर्क गरेर चासो राख्न थालेका छन्।’
उनले वन नजिक रहेका होटलहरूमा अझै धेरै समस्या भएको बताए।
‘आकाशबाट डढेलोको लप्का, खरानी उडेर होटलभित्रै आउँछ। जति सफा गरे पनि एकैछिनमा फोहोर भइहाल्छ। बाहिर सुकाएका कपडा, स्वीमिङ पुलमात्रै होइन कोठाभित्र पनि फोहोर हुन्छ,’ गिरी भन्छन्, ‘कहिले वर्षा होला र प्रदूषण घट्ला भनेर पर्खिरहेका छौं।’
सौराहाकी नेचर गाइड सुस्मिता न्यौपानेले वनमा जथाभावी डढेलो लाग्दा पर्यटकले किन लागेको हो भनेर चासो राख्ने गरेको बताइन्। उनीहरूले वनमा आगो लाग्दा वन्यजन्तुहरूको अवस्था के होला भनेर चिन्ता देखाउने गरेको सुनाइन्।
‘केही दिनदेखि मेरो आँखाबाट आँसु आइराखेको छ। मलाई जस्तो गाह्रो पर्यटकलाई पनि भइरहेको छ,’ उनले भनिन्।
सौराहा पर्यटकले राप्ती किनारमा बसेर प्रकृतिको रसास्वादन गर्ने उपयुक्त गन्तव्य पनि हो। यहाँ किनारमा रहेका धेरै रेष्टुरेन्टहरूले खुला आकाशमुनि पर्यटकलाई रेष्टुरेन्टको सेवा दिन्छन्। तर बढ्दो प्रदूषणले पर्यटकहरू खुला क्षेत्रमा बस्न डराएका छन्। राप्ती किनारमा रहेको सनसेट भ्यू रेष्टुरेन्ट एण्ड बारका सञ्चालक दिपेन्द्र खतिवडाले आँखा पोल्ने समस्याले गर्दा बाहिर बसेर खाने पर्यटकहरू कम भएको बताए।
‘यसपालि करिब एक महिनादेखि समस्या यो समस्या भइरहेको छ। हरेक वर्ष चैतमा यस्तै हुन्छ। यस्तो अवस्थामा बाहिर बस्न नखोज्नु स्वाभाविकै हो,’ उनले भने।
खतिवडा चितवन राष्ट्रिय निकुञ्जभित्रको घाँसे मैदानको व्यवस्थापन गर्न आगो लगाउने बाहेकको विकल्प खोज्नुपर्ने बताउँछन्।
‘पहिले हरेक वर्ष खर खडाइ खुल्थ्यो। यसले घाँसे मैदानको व्यवस्थापनमा सघाउँथ्यो। भृकुटी कागज कारखानाले पनि निकुञ्जको काँस प्रयोग गथ्र्यो। अहिले यी काम रोकिँदा निकुञ्जलाई घाँसे मैदान व्यवस्थापन गर्न असहज भएको छ। कन्ट्रोल फायरिङ गरेर व्यवस्थापन गर्दा धुवाँको असर परेको हुनसक्छ,’ उनी भन्छन्, ‘निकुञ्ज बाहिर पनि अनियन्त्रित आगो त्यस्तै फैलिएको छ।’
पटिहानीमा रहेको सोल्टी वेर्स्टन रिसोर्टका म्यानेजर केशव ढकालले प्रदूषण बढेकै कारण धेरै पर्यटकले ‘बुकिङ क्यान्सिल’ गरेको बताए। चैत, वैशाखमा ८० प्रतिशत अकुपेन्सी हुनुपर्नेमा ४० प्रतिशतमात्रै भइरहेको उनले बताए।
‘आइतबार मात्रै चितवन आउनुपर्ने हाम्रा पाहुनाहरू पोखरा डाइभर्ट हुनुभयो। दुई हप्तादेखि यस्तै भइरहेको छ। काठमाडौंबाट चितवन आउने सडक पनि अहिले राम्रो छैन,’ ढकालले भने, ‘आएका पर्यटक पनि किन आँखा पोलेको भनेर सोध्छन्। आइसकेपछि सफारीमा त जान्छन् तर डराउँछन्।’
भरतपुरस्थित बुद्ध एयरका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार १० दिनदेखि काठमाडौं–भरतपुर नियमित उडान हुन सकेको छैन। यो अवधिमा दुई दिन त उडान नै हुन सकेन। ‘आकाश पुरै धुवाँले ढाकेको छ। हावा चल्यो भने एकैछिन खुल्छ। त्यही मौकामा जहाज आइहाल्छ। हावा चलेन भने त ठप्पै हुन्छ,’ बस्नेतले भने, ‘काठमाडौंमा बोर्डिङ भएर जहाज चढिसकेका यात्रुलाई पनि मौसमले साथ नदिएर ओराल्नुपरेको छ।’
बस्नेतले यति लामो समयसम्म नियमितरुपमा उडान प्रभावित यसअघि कहिल्यै नभएको बताए। ‘दिनमा एक, दुईवटा उडान हुनु नै ठूलो कुरा भइरहेको छ। आइतबार पहिले उडान नै २ बजे भयो। त्यसपछि अलीअली हावा चलेका कारण तीनवटा उडान हुन सक्यो,’ बस्नेतले भने, ‘मौसम पूर्वानुमान महाशाखाले ९ गते पानी गर्छ भनेको छ। त्यसपछि नियमित उडान होला कि भन्ने आशा छ।’
किन नियन्त्रण हुन सकेको छैन डढेलो?
विश्वभरको आगलागीको रेकर्ड राख्ने अमेरिकी अन्तरिक्ष संस्था नासाको (एफआइआरएमएस फायर म्याप) ले नेपालको तराई तथा पहाडका विभिन्न क्षेत्रमा आगो लागिरहेको उल्लेख गरेको छ।
नासाका भू–उपग्रहले ताप र धुवाँका आधारमा डढेलो लगोको स्थान पत्ता लगाएर रातो चिन्ह लगाउँछन्।
चितवन राष्ट्रिय निकुञ्जको कोर र मध्यवर्ती क्षेत्रमा पनि आगो दन्किरहेको त्यसमा देख्न सकिन्छ। तर कति क्षेत्रमा आगो लागिरहेको छ भन्ने यकिन विवरण निकुञ्ज, वन कार्यालयहरूसँग छैन।
चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले वन क्षेत्रमा यो समयमा हरेक वर्ष आगलागी हुने गरेको बताए।
चितवन निकुञ्जको कोर र मध्यवर्ती क्षेत्रका केही स्थानमा अहिले आगो लागिरहेको उनले जानकारी दिए।
‘केही दिनअघि हामीले घाँसे मैदानको व्यवस्थापनका लागि भनेर कन्ट्रोल बर्निङ गरेका थियौं। अहिले त्यो रोकिएको छ। केही क्षेत्रमा अनियन्त्रित आगो लागिरहेको छ। हामीले क्षमताले भ्याएसम्म त नियन्त्रण गर्ने गरेका छौं। तर सबै ठाउँको आगो निभाउन सक्ने स्रोत साधन हामीसँग छैन,’ पन्तले भने, ‘आगोले वनस्पती र वन्यजन्तुमा, उडेको धुवाँले मानव स्वास्थ्यमा असर गरिरहेको छ। अहिले वायु प्रदूषण फैलाउने विभिन्न कारणमध्ये एक डढेलोको धुवाँ पनि बनेको छ। तर हामीसँग यसलाई पूर्णरुपमा नियन्त्रण लिनसक्ने आधुनिक प्रविधि छैन। पर्याप्त दक्ष जनशक्ति र दमकल पनि छैनन्। दमकल भए पनि सबै ठाउँमा जान सक्दैन।’
पूर्व-पश्चिम राजमार्गको वरण्डाभार वन क्षेत्रको आगो।सालको वनमा यो सिजनमा पुरानो पात झर्ने भएकाले आगो लाग्ने सम्भावना बढी हुने पन्त बताउँछन्।
पर्यटकीय गतिविधिमा सहभागी हुन धेरै मान्छेहरू निकुञ्जभित्र प्रवेश गर्ने भएकाले कसले आगो लगाएको हो भन्ने पत्ता लगाउन पनि गाह्रो हुने उनी बताउँछन्।
‘हामो कार्यालयको पछाडि नै आगो लागेछ। निकुञ्ज कार्यालय र सेनाको व्यारेक नै जोखिममा हुने भएपछि हामीले आगो लागेको ठाउँ र कार्यालयको बीचमा फायर लाइन (आगो अर्को भागमा फैलन नसक्ने लाइन) बनायौं। कम्तीमा एउटा क्षेत्रमा सीमित बन्यो,’ प्रमुख संरक्षण अधिकृत पन्तले भने, ‘सुक्खा मौसममा यो चुनौतीको विषय हो। आगो आज नलागे भोलि लाग्ने सम्भावना भइराख्छ। कसरी व्यवस्थापन गर्ने भनेर दीर्घकालीन योजना बनाउनुपर्छ।’
तर निकुञ्जमा डढेलो नियन्त्रणका लागि असाध्यै कम बजेट रहेको उनले बताए। निकुञ्जले वर्षमा करिब ३ लाख रुपैयाँमा डढेलो नियन्त्रणको काम गर्नु परेको उनी बताउँछन्। फायर लाइन बनाउन पनि अपुग बजेट रहेको उनले बताए।
‘विश्वव्यापी रूपमा जलवायु परिवर्तन भइरहेको अवस्थामा आगलागी जस्ता कुरा अझै बढेर जानसक्छ भन्ने अहिलेको ट्रेण्डले देखाउँछ। विकसित देशमै पनि ठूलो आगलागी भएको। अमेरिका, अस्ट्रेलियामा ठूला आगलागी भएर नियन्त्रणमा लिन गाह्रो भएको देखियो। हाम्रो पनि त्यो अवस्था आउन सक्छ। वनको आगोले वन क्षेत्रमा मात्रै क्षति भइरहेको छ अहिलेसम्म, बस्तीमा पस्यो भने अझ ठूलो क्षति हुन्छ,’ पन्त भन्छन्, ‘क्षति कम गर्न बेलैमा तयारी गर्नुपर्छ। तर हाम्रो तयारी कम छ।’
उनले निकुञ्जले घाँस काटेर, कन्ट्रोल बर्निङ गरेर धेरै घाँ सेमैदानको व्यवस्थापन गरिसकेको हुनाले सालको जंगलमा आगलागी हुँदा वन्यजन्तुलाई बस्ने सुरक्षित ठाउँ भएको बताए।
यो समयमा देशका धेरै ठाउँका वनमा आगलागी हुने गरेपनि नियन्त्रणका लागि खासै प्रयास भएको देखिँदैन।
मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिअन्तर्गतको चोरी सिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष वसन्त राना सरकारसँग अगलागी भएको अवस्थामा नियन्त्रण गर्ने संयन्त्र नै नरहेको बताउँछन्।
वनसँग सम्बन्धित निकाय तथा संस्थाहरूले विभिन्न कामका लागि बजेट विनियोजन गर्दा आगलागी नियन्त्रणमा बेवास्ता गर्ने गरेको उनले बताए।
‘आगलागी हुँदा नियन्त्रणमा ल्याउने विषयमा पर्याप्त तालिम नै हुन सकेको छैन। आगो लागेको थाहा पाउनेबित्तिकै तुरून्तै जनशक्ति परिचालन भयो भने निभाउन सहज हुन्छ। त्यसका लागि तालिम चाहिन्छ,’ आगलागी नियन्त्रणका लागि तालिम सञ्चालन गर्दै आएका राना भन्छन्, ‘तालिमप्राप्त स्वयंसेवक तयार पारेर तयारी अवस्थामा राख्ने हो भने आवश्यक पर्दा परिचालन गर्न सकिन्छ। यसो गर्दा वायु प्रदूषण पनि नियन्त्रण हुन्छ।’
रानाले केही हप्ता अघि रत्ननगर नगरपालिकाका प्रहरी, नगर प्रहरी, विभिन्न समूहहरूलाई आगो नियन्त्रणसम्बन्धी तालिम दिएका थिए।
चार दिनअघि रत्ननगरसँग जोडिएको वरण्डाभार वन क्षेत्रमा आगो लाग्दा उनीहरू आगो निभाउन खटेका थिए।
‘बेलैमा स्वयंसेवक तयार पारियो भने त काम लाग्दो रहेछ नि,’ राना भन्छन्, ‘हामीले नसक्ने होइन। प्राथमिकतामा नराखेर समस्या बढिरहेको हो।’
चितवनका केही सामुदायिक वनहरूले सुकेका पातलाई उडाउने ‘फायर कन्ट्रोलर मेसिन’ मार्फत् आगो नियन्त्रणको काम गर्न थालेका छन्।
भरतपुरस्थित जलदेवी र सतनचुली सामुदायिक वनले आफ्नो र वरण्डाभार राष्ट्रिय वन क्षेत्रमा आगो लाग्दा मेसिन प्रयोग गरेर निभाउने गरेका छन्।
जलदेवी सामुदायिक वनका उपाध्यक्ष ऋषिकेश अर्यालले वन क्षेत्रमा आगलागी भएको थाहा पाउनेबित्तिकै सामुदायिक वन समितिसँग रहेका तीन वटा मेसिनको प्रयोग गरेर निभाउने गरिएको बताए।
‘हामीसँग भरतपुर महानगरपालिकाले दिएको दुई वटा र वन कार्यालयले दिएको एउटा मेसिन छ। त्यसको प्रयोग गरेर चैत १ गतेदेखि जिरो फरेष्ट फायर अभियान चलाइरहेका छौं। कार्यसमिति, उपभोक्ता र कर्मचारी सबै मिलेर काम गरिरहेका छौं,’ अर्यालले भने, ‘यो मेसिन एउटैले तीस जना मान्छेले गरेजति काम गर्ने रहेछ। वरण्डाभार क्षेत्रका सबै सामुदायिक वनसँग अहिले एक–एक वटा मेसिन छन्।’
नासा म्याप।