प्रहरीले काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम अपचलनको अनुसन्धान सक्ने तयारी गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले यसको अनुसन्धान सकेर केही दिनमै सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको हो।
अनुसन्धानका लागि प्रहरीले अहिलेसम्म दुई जनालाई पक्राउ गरेको छ। कात्तिक २० गते प्रहरीले सुनिता नेवालाई पक्राउ गरेको थियो। त्यस्तै कात्तिक २६ गते कमल लामालाई पक्राउ गरेको थियो।
परिसरले स्वर्णलक्ष्मीमा सहकारी बचत रकम अपचलनसँगै संगठित अपराध कसुरमा पनि अनुसन्धान गर्दै आएको छ। पुस २० गतेसम्ममा यसको मुद्दा जिल्ला अदालतमा पेस गरिसक्नुपर्नेछ।
परिसरले म्यादभित्रै अनुसन्धान सक्ने गरी काम गरिरहेको एक अनुसन्धान अधिकारीले बताए।
उनकाअनुसार यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, जिबी राईसहित ४४ जनाभन्दा बढीलाई प्रतिवादी बनाउन लागेको छ।
सहकारीको एक अर्ब १८ करोडभन्दा बढी रकम अपचलन भएको भन्दै बिगो पनि सोहीअनुसार मागदाबी गर्ने तयारी प्रहरीको छ।
सरकारी वकिल कार्यालय काठमाडौंले यस सहकारी ठगीमा रवि लामिछाने, पूर्वडिआइजी जोशी लगायतको बयान लिइसकेको छ।