हिजोआज शेरा दरबार चर्चामा छ।
सञ्चारमाध्यमहरूमा पनि यसबारे खबर आइरहेका छन्। शेरा दरबार नुवाकोटमा छ। दरबारको जग्गा हडप्न खोजेको विषय चर्चामा आएको हो।
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ (साविक भैरवी गाविस ७) मा रहेको शेरा दरबार पृथ्वीनारायण शाहको पालामा बनेको हो।
यहाँ दरबार र जग्गा गरी कुल १८४ रोपनी चार आना क्षेत्रफलको जग्गा छ। दरबारको जग्गा कुनै एक कम्पनीका नाममा नियन्त्रणमा रहेको विषय बाहिर आएको हो।
आइतबार गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी प्रमुख आइजिपी बसन्तबहादुर कुँवरसँग यसबारे कुराकानी पनि गरेका छन्। गृहमन्त्री लेखकले आइजिपी कुँवर र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सँग यसबारे ब्रिफिङ लिएका हुन्।
ब्रिफिङसँगै मन्त्रीले शेरा दरबारबारे छिटो अनुसन्धान गर्न निर्देशन दिएको मन्त्रीको सचिवालयले जनाएको छ।
‘यस विषयमा सिआइबीले छानबिन गरिरहेकै छ। त्यसमा तदारूकताका साथ अनुसन्धान गर्न, राम्ररी छानबिन गरी दोषीलाई कारबाही गर्न भनेर गृहमन्त्रीज्यूले निर्देशन दिनुभएको छ,’ सचिवालय स्रोतले भन्यो।
शेरा दरबारको जग्गा हडपिएको भन्दै गत भदौमै सिआइबीमा उजुरी परेको थियो। त्यसयता छानबिनको प्रक्रियामा रहेको दरबारको जग्गा फिर्ताका लागि सिआइबीले भूमि व्यवस्थापन तथा अभिलेख विभागमा पत्राचार गरेको छ।
यसमा कुनै कर्मचारीको संलग्नताबारे अनुसन्धान गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाललाई पत्राचार गरेको छ।
सिआइबी प्रवक्तासमेत रहेका एसपी होबिन्द्र बोगटीले मालपोत ऐन २०३४ र भूउपभोग ऐन २०७३ अनुसार अनुसन्धान र कारबाही गर्नुपर्ने भनएकाले पत्राचार गरिएको बताए।
अख्तियारमा भने मालपोतका तत्कालीन कुनै कर्मचारीसँगको मिलेमतो भए/नभएकोबारे छानबिन गर्न पत्राचार गरेको हो।
यसबाहेक सिआइबीले छुट्टै ठगी वा किर्ते भएको हुन सक्ने कसुरमा पनि अनुसन्धान गरिरहेको छ।
‘हामीले ठगी जालसाझी भएको रहेछ भने कारबाही प्रक्रिया अगाडि बढाउने हो। हामीले यसमा थप हेर्ने काम गरिरहेकै छौं,’ एसपी बोगटीले भने, ‘मालपोतले नै कारबाही गर्न सक्ने भएकाले उता पत्राचार गरेका हौं। कर्मचारीको के-कस्तो संलग्नता हो भन्नेबारे अख्तियारले हेर्ने भएकाले हामीले उतै पत्राचार गर्यौं।’
यो जग्गा सुरूमा हेलेन शाह र जयन्ती शाहको नाममा गएको देखिन्छ।
१८४ रोपनी जग्गा भएको ठाउँमा पछि हेलेन शाह र जयन्ती शाहको नाममा सारेको थियो।
२०३६ सालमा हदबन्दी लागु भएपछि हेलेनले १२ रोपनी र जयन्तीले ९ रोपनीमात्रै आफ्नो नाममा राख्न पाए। बाँकी रहेको १६४ रोपनी जग्गा भने कृषि प्रयोजनका लागि भनेर राखिएको थियो।
नापी कार्यालय नुवाकोटमा पनि जग्गा कृषी प्रयोजनका लागि भनेर गौरीशंकर फार्मिङ कम्पनी खडा गरिएको थियो। त्यही नामलाई २०४४ सालमा काटेर अन्नपूर्ण फार्मिङ बनाइएको सिआइबी स्रोतले जनाएको छ।
नुवाकोटका विकेश श्रेष्ठ पछि यस जग्गामा जोडिएको प्रहरीको भनाइ छ। २०६६ सालमा यस कम्पनीका ६ जना सेयरधनी थिए। २०७२ सालमा तीन जनाले छाडे। सेयर विकेश श्रेष्ठ, अजय सूर्यवंशी र ध्रुवलाल श्रेष्ठको नाममा सारिएको थियो।
त्यसैगरी २०८० सालसम्म आउँदा विकेश श्रेष्ठ, उनका छोरा मनोबल र ध्रुवलाल यस कम्पनीका शेयरधनी बने। अहिले भने बाबु छोराको नाममा मात्रै रहेको देखिएको छ।
कम्पनीले चलाइरहेको जग्गामा प्लटिङसमेत गरेर बिक्री समेत गर्न खोजेको प्रहरीले जनाएको छ। तर जग्गा बिक्री भने भइनसकेको सिआइबीले जनाएको छ।
कृषि प्रयोजनका लागि भनेर लिइएको जग्गामा अन्य प्रयोजनको काम गर्न खोजिएको भन्दै सिआइबीले कारबाहीका लागि पत्राचारसमेत गरेको हो।