काठमाडौँ, १३ पुसः सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको ७१ वर्षको उमेरमा निधन भएको छ।
पूर्वन्यायाधीश वस्तीका साइलो भाई अधिवक्ता गजेन्द्र वस्तीकाअनुसार उनको हृदयघातका कारण शुक्रबार बेलुका ६ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
प्रकाश वस्तीका छोरा डा. प्रणव वस्ती अमेरिकामा रहेको र भोलि बिहानसम्म आइसकेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने परिवारको तयारी छ। वस्तीको शव अस्पतालमै राखिएको छ। उनका श्रीमती, एक छोरा र तीन छोरी छन्।
पूर्वन्यायाधीश वस्तीले करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीशका रुपमा काम गरेका थिए। उनी २०६५ साल भदौ २२ गते नियुक्त भएर पदावधि नथपिएपछि २०७० चैत २९ मा अवकाश भएका थिए।
सर्वोच्च अदालतबाट अवकाश भएपछि उनी ६ वर्ष मानवअधिकार आयोगको सदस्य भएर काम गरे। अवकाश जीवन बिताइरहेका वस्ती न्याय र कानूनको क्षेत्रमा अध्ययन, अनुसन्धान एवं पुस्तक लेखनमा संलग्न थिए।
गोरखा खोपलाङमा विसं २०१० असार ८ गते जन्मिएका वस्ती २०३३ सालदेखि कानून व्यवसायमा प्रवेश गरेका थिए। उनले लेखेका धेरै पुस्तक बजारमा छन् ।