काठमाडौंको न्यूनतम तापक्रम शुक्रबारको तुलनामा बढेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको छ।
शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको थियो।
त्यसअघि बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसम, बुधबार ७.५ डिग्री सेल्सियस, सोमबार र मंगलबार ४.८ डिग्री सेल्सियस मापन भएको थियो।
शनिबार काठमाडौंको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियसबीच रहने अनुमान छ।
पश्चिमी न्यूनचापीय प्रणालीका कारण पश्चिम नेपालमा वर्षा भइरहेको छ। वर्षाका कारण पश्चिम नेपालका भूभागहरूमा पनि तापक्रम घटेको छ। हुम्लाको सिमिकोटमा शनिबार बिहान माइनस १.२ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको मौसमविद् मानन्धरले जानकारी दिइन्।
उक्त प्रणाली पश्चिमदेखि पूर्वतिर सर्ने क्रममा रहेका कारण त्यसकै प्रभावले दिउँसो काठमाडौंमा छिटपुट वर्षा हुने सम्भावना रहेको मानन्धरले जानकारी दिइन्।
‘दिउँसोपछि वर्षा हुने सम्भावना बढी छ। १०/११ बजेपछाडि वर्षाको सम्भावना बढेर जान्छ। ठूलो वर्षा होइन, छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहन्छ,’ मौसमविद् मानन्धरले भनिन्।
वर्षाका कारण अधिकतम तापक्रम भने घट्ने सम्भावना छ।
‘बादल लागेपछि न्यूनतम तापक्रम केही बढेको जस्तो हुन्छ। बादल लागेर घाम नलागेपछि दिउँसोको तापक्रम बढ्न नपाएर अधिकतम तापक्रम चाहीँ घट्ने हुन्छ,’ उनले भनिन्।
आइतबार बिहान पनि काठमाडौंमा बदलीको सम्भावना छ। भोलि दिउँसोपछि क्रमिक रूपमा सुधार हुने मौसमविद् मानन्धरले जानकारी दिइन्।