धनगढीमा दुइटा मोटरसाइल आपसमा ठोक्किँदा एक जना यात्रुको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाजुराको बढीमालिका नगरपालिका-७ बस्ने ३० वर्षीय धर्मराज खत्री हुन्। उनी त्यही वडाको चुथीस्थित स्वास्थ्य चौकीमा जनस्वास्थ्य निरीक्षक थिए।
धनगढीमा आयोजना भएको तालिममा सहभागी हुन आउँदै गर्दा उनी दुर्घटनामा परेका हुन्।
बिहीबार साँझ साढे ६ बजे धनगढी उपमहानगरपालिका-३ को लक्ष्मी नर्सरीनजिकै अतरियाबाट धनगढी आउँदै गरेका दुईवटा मोटरसाइल आपसमा ठोक्किएका थिए।
धनगढी-५ का २५ वर्षीय पुरन शाहले चलाएको सुपप्र ०१२प९४१६ नम्बरको मोटरसाइलमा खत्री पछाडि सवार थिए। यो मोटरसाइकललाई डोटीको शिखर नगरपालिका-११ बस्ने २५ वर्षीया शर्मिला थापाले चलाएको सुप्रप ०१००७११प नम्बरको मोटरसाइलले पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक पुरनको पेट र मुखमा चोट लागेको छ। खत्री भने टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए। उनको सेती प्रादेशिक अस्पतालमा उपचार क्रममा साँझ ६ बजेर ५५ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए।
घटनापछि मोटरसाइकल चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।