हिमाल र हिमाली क्षेत्रको संरक्षणमा तत्काल ठोस कदम नचाले पानीको स्रोतमा गम्भीर असर पर्ने भन्दै शतर्क हुन सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
पृथ्वीको तापक्रम बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर पर्वतीय क्षेत्रमा परेकाले ती क्षेत्रमा जलवायु अनुकूलनका कार्यलाई तीव्रता दिनुपर्ने आवाज विश्वभर नै उठ्दै आएको छ।
जलवायु परिवर्तन र वैश्विक तापक्रमको वृद्धिले (ग्लोवल वार्मिङ) सबैभन्दा धेरै असर हिमाली क्षेत्रमा बस्ने बासिन्दाहरूलाई परिरहेको छ।
बेमौसमी हिमपातका कारण पनि हिमाली क्षेत्रको जनजीवन प्रभावित बन्दै आएको छ।
हिमाली क्षेत्रमा अन्य क्षेत्रको तुलनामा तापक्रम वृद्धि दर बढी भएको तथ्यांक सार्वजनिक हुँदै आएको छ।
तापक्रम वृद्धिले हिउँ पग्लने क्रम पनि तीव्र गतिमा बढाउने भएकाले अन्ततः पानीको स्रोतमा नै बढी असर देखिएको छ।
विज्ञहरूले जलवायु परिवर्तनको असरका कारण हिउँ पग्लने क्रम बढ्नु, हिमपातको क्रम घट्नु र पानी पर्न थाल्नुले हिमाली क्षेत्रको जोखिम बढाएको बताउँछन्।
जलवायुविज्ञ डाक्टर धर्मराज उप्रेती हिमालमा हिउँ पर्न छोडेर पानी पर्ने क्रम बढ्दै जाँदा त्यसले हिमालको इकोसिस्टममा गम्भीर असर पर्ने बताउँछन्।
उनले पछिल्लो समय हिमाली क्षेत्रमा हिउँ नभएर पानी पर्न थालेपछि हिउँ बिस्तारै चुहिएर जमिनभित्र छिरेर पानीको मुहानसम्म आउनुपर्ने हिमाली चक्रिय प्रणालीमा समस्या देखिएको बताए।
पानीले हिउँ पगाल्ने र सतहमा बग्दै गर्दा ढुंगा माटोसहित बग्ने भएकाले त्यसले बाढीको जोखिम बढाउनुको साथै हिउँ पग्लिएर जमिनको सतहबाटै तल गएपछि पानीको मुहान बग्ने प्रक्रियामा नै असर पुगेको उनको तर्क छ।
उनले हिमाली क्षेत्रमा तत्काल जलवायु अनुकूलनका कार्य नगर्ने हो भने पानीको स्रोतमा गम्भीर असर पुग्ने बताए।
उनले भने, ‘हिमाली क्षेत्र र उच्च हिमाली क्षेत्रमा हिउँ पथ्र्यो पहिला। हिमालमा हिउँ पर्न छोडेर पानी पर्न थालेपछि यसको प्रत्यक्ष असर पानीको स्रोतमा पर्छ। हिमाल भनेको पानीको स्रोत हो। हिमालको स्थानमा पानी पर्न थालेपछि भएको हिउँ पनि पग्लने र माटोसँगै तल झर्ने क्रम सुरू हुँदा नदीमा मिसिएर बाढीको रूप लिनसक्ने सम्भावना हुन्छ। हिमालको तल्लो तटीय क्षेत्रमा पनि हिउँ देखिन्थ्यो। तर अहिले त्यस क्षेत्रमा हिउँ नदेखिँदा हिमालको इकोसिस्टममा पनि असर गरेको देखिन्छ।
जलाधार, ऊर्जा र खानेपानीको स्रोत पनि सुक्न थालेको अवस्था छ। समग्र कृषि, वनस्पति प्रणाली लगायत जीविकोपार्जनको इकोसिस्टममा प्रभाव पारेको देखिन्छ। हिम पहिरो वा हिम तालहरू फुट्दा आउने बालुवा गिटी सहितको लेदोले खेतीयोग्य जमिन पुर्ने भएकाले यसले समग्र कृषि प्रणालीमा पनि असर गर्ने देखिन्छ।
हिउँ बिस्तारै सिपेच भएर जमिनभित्र छिरेर पानीको मुहानसम्म आउँथ्यो। अहिले ओभरफ्लो भयो। पानीले हिउँ पनि पगाल्यो अनि आफू पनि ढुंगा माटोसहित लिएर बग्यो। जमिन भित्र जानुपर्ने कुरा जमिनको सतहबाटै तल गएपछि पानीको मुहान बग्ने प्रक्रियामा नै यसले असर गर्यो।’
स्थानीयवासीहरू पनि अस्वाभाविक हिउँ पग्लिने क्रम रोक्न नसके हिमाली र पहाडी क्षेत्रमा पानीको स्रोतमा गम्भीर असर देखिने गुनासो गर्छन्।
पर्वतारोहण सञ्चालक समेत रहेका सोलुखुम्बुका स्थानीय आङछिरिङ शेर्पाले तीव्र औद्योगिक विकासमा अघि बढेका दुई छिमेकी मुलुकबाट निस्कने औद्योगिक धुँवाका कारण पनि हाम्रा हिमाल जोखिममा परेको तर्क गरे।
उनले धुवाँ उत्सर्जन कम गराउनेतर्फ नेपालले दुवै मुलुकसँग कूटनीतिक पहल गर्न आवश्यक रहेको बताए।
उनले भने, ‘हिमाली क्षेत्रको तापक्रम ग्लोवल अनुपात भन्दा बढिरहेको छ। त्यसको अलवा छिमेकी देशहरूको औद्योगिक धुवाँको मुस्लोमाथि हावामा उड्दै गएर हिमालमा ठक्कर खान आइरहेको अवस्था छ। अहिले हिमालमा तातो बादलहरू देख्न सकिन्छ। त्यसमा कार्बनडाइअक्साइडका पार्टीकलहरू मिसिरहेको हुन्छ। त्यसले सेतो हिउँ पग्लिनको लागि ठुलो असर गरिरहेको छ। हामीले धेरै अगाडिदेखि औद्योगिक क्षेत्रको धुवाँको मुस्लोलाई न्यूनीकरण गर्नका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएका छौं। छिमेकी मुलुकको औद्योगिक धुवाँ कम गराउन राष्ट्रले नै कूटनीतिक वार्ता गर्नुपर्ने हुन्छ। त्यता नेपाल सरकारको ध्यान जान सकेको छैन।’
शेर्पाले जनजीवन कष्टकर हुँदै गर्दा अवसरको खोजीमा युवाहरू आन्तरिक र बाह्य बसाईंसराई गर्ने क्रम बढेकाले हिमाली क्षेत्र रित्तिँदै गएको बताए। मान्छे भेटिने बस्तीमा वृद्धवृद्धा मात्रै भेटिने गरेको बताए।