भक्तपुरमा बुवाले चक्कु प्रहार गर्दा घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा अछामको कमलनगर नगरपालिका-हात्तीबाच घर भई भक्तपुर नगरपालिका-२ सहिद स्मृति खेल मैदान नजिकै बस्ने ३१ वर्षीय नरेन्द्रबहादुर शाही छन्।
उनका बुवा ६३ वर्षीय दिपबहादुर शाहीले गएराति सवा १० बजे घरायसी विवादपछि तरकारी काट्ने चक्कु प्रहार गरेका थिए।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार बुवाले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका नरेन्द्रलाई उपचारका लागि भक्तपुर अस्पताल पुर्याइएको थियो।
उपचारकै क्रममा गएराति करिब पौने ११ बजे उनको मृत्यु भएको हो। घटनापछि नरेन्द्रका बुवा दिपबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शव पोस्टमर्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट भक्तपुर लगिएको र घटनाको अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले जानकारी दिए।