नेपालस्थित अमेरिकी दूतावासले लुम्बिनी संग्रहालय संरक्षणका लागि आर्थिक सहयोग गरेको छ।
अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइकल हार्करले आज आयोजित एक समारोहका बीच लुम्बिनी विकास कोष र पुरातत्त्व विभागका प्रतिनिधिहरूका साथमा लुम्बिनी संग्रहालय संरक्षण परियोजनाको उद्घाटन गरे।
संग्रहालयमा रहेका प्राचीन कलाकृतिको अमूल्य संग्रहको सुरक्षण, अभिलेखन र संरक्षण गर्न नेपालस्थित अमेरिकी दूतावासले राजदूत सांस्कृतिक संरक्षण कोष (एएफसीपी) मार्फत् करिब सवा तीन करोड रुपैयाँको अनुदान बुद्ध फाउन्डेसनलाई प्रदान गरेको छ।
उक्त अनुदानले एउटा अत्याधुनिक संरक्षण प्रयोगशालाको स्थापना पनि गर्नेछ ।
‘यस संरक्षण प्रयोगशालाको स्थापना लुम्बिनीका लागि एउटा ऐतिहासिक अग्रगामी कदम हो जसले लुम्बिनीलाई पुरातात्त्विक अनुसन्धान तथा संरक्षणको क्षेत्रीय केन्द्रमा रूपान्तरण गर्दछ,’ सार्वजनिक मामिला प्रमुख हार्करले भने,‘यस परियोजनाले प्रतिस्थापन गर्नै नसकिने कलाकृतिको सुरक्षा गर्ने मात्र नभई नवप्रवर्तन र सहकार्यका अवसरहरूको सृजना पनि गरी नेपाललाई सांस्कृतिक सम्पदा संरक्षणको क्षेत्रमा एक अगुवाका रूपमा स्थापित गर्नेछ।’
इसापूर्वको छैटौं शताब्दीदेखि इस्वी संवत्को तेस्रो शताब्दीसम्मका ३०० भन्दा बढी कलाकृतिहरू रहेको लुम्बिनी संग्रहालयमा लुम्बिनीको पवित्र स्थलमा उत्खनन गरिएका पक्की माटोका प्रतिमा, ढुङ्गाका मूर्ति, सिक्का र अन्य अवशेषहरू संग्रहित छन्।