काठमाडौंमा एक जना महिलाको शव बोकेर सडकमा फालेको एक जना पुरूष पक्राउ परेका छन्।
गत शुक्रबार बिहान एक जना महिलाको शव काठमाडौंको कालिमाटीस्थित सडकमा शव फेला परेको थियो।
प्रहरी वृत्त कालिमाटी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएर अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानको क्रममा एक जना पुरूषले शव बोकेर ल्याएको देखिएको थियो।
प्रहरीले त्यसपछि बझाङ घर भएका कविन्द्र मल्ललाई पक्राउ गरेको छ। उनी लागुऔषध सेवनकर्ता हुन्।
उनले कालिमाटीको फुटपाथबाट ती महिलालई बोकेर शुक्रबार राति करिब ३ बजेतिर सडकमा पुर्याएको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए।
‘उनले ६०-७० मिटर जति बोकेर लगेको देखिन्छ। सिसिटिभी फुटेजमा देखिएको मान्छे म नै हुँ भनेका छन्। तर आफूले के गरेको के घटना भएको हो भन्ने थाहा छैन भनेका छन्,’ ती प्रहरीले भने।
मृतक महिलाको पनि सनाखत भएको छ। मृतक महिला उदयपुरकी जानुका सुवेदी छन्। महिला पनि फुटपाथमै बस्ने गरेको प्रहरीले जनाएको छ।
उनको शरीरमा कुनै चोट भने देखिएको छैन।
उनको हत्या भएको हो वा आफै मृत्यु भएपछि बोकेर त्यहाँ पुर्याएको हो भन्ने अनुसन्धानकै विषय भएको ती प्रहरीले बताए।
‘पोष्टमर्टमबाट यस घटनाको थप अनुसन्धान अघि बढ्नेछ,’ उनले भने।