काठमाडौंको कीर्तिपुर नगरपालिकाको रिक्त प्रमुख पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।
२०७९ वैशाखमा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भएका राजकुमार नकर्मीको निधन भएसँगै रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो।
यो पनि:
कीर्तिपुरमा १५ शय्याको अस्पताल बनाउँछु: कृष्णमान डंगोल (भिडिओ)
१५ करोडमै कीर्तिपुरलाई सांस्कृतिक सहर बनाउँछु: राजमान महर्जन (भिडिओ)
कीर्तिपुरमा सित्तैमा फोहोर उठाउनेदेखि खानेपानी र विद्युत निःशुल्क गर्छु: शिवशरण महर्जन (भिडिओ)
कीर्तिपुरलाई लाख मान्छे बस्नयोग्य सहर बनाउँछु: सुरेन्द्र मानन्धर (भिडिओ)
साथै वडा नम्बर १ का अध्यक्ष हिरालाल महर्जन र वडा नम्बर ४ का अध्यक्ष श्यामकुमार अधिकारीको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुँदैछ।
उपनिर्वाचन हुन लागेको एक मात्र नगरपालिका, त्यो पनि काठमाडौं उपत्यकाभित्रकै भएर कीर्तिपुरको चुनाव चर्चामा छ।
यहाँ प्रमुख पदका लागि २० जना र वडा नम्बर १ मा ९ र ४ मा १३ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
कीर्तिपुर नगरपालिकामा ३१ हजार १ सय १२ जना मतदाता छन् भने १० वडामा कूल २० मतदान स्थल र ३८ मतदान केन्द्र छ।
यहाँ नेपाली कांग्रेस र नेकपा (एमाले) एक्लाएक्लै प्रतिस्पर्धामा छन् भने नेकपा (माओवादी केन्द्र) ले नेकपा (एकीकृत समाजवादी) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग गठबन्धन गरेको छ।
विभिन्न दल र स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन्।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले भने यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट कीर्तिपुरको मेयर र वडाध्यक्षको उम्मेदवारको रूपमा अघि सारेको छ।
मेयर पदमा दीपक महर्जन (हनी) र वडा नम्बर ४ को अध्यक्षमा राजीव महर्जन (मौनी) ले उम्मेदवारी दिएका छन्।
नगरपालिकाका प्रमुख पदका उम्मेदवार दीपक महर्जन (हनी) सँग सेतोपाटीले उपनिर्वाचनका विषयमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंशः
कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनुभएको छ, तपाईंको उम्मेदवारी किन?
हामीले कीर्तिपुरमा समर्पण सभ्य नेपाल स्थापना गरेका छौं। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अभिभावकहरूले मिलेर खोलेको साझा संस्था हो।
यो संस्थाले आफूजस्तै व्यक्ति र उनीहरूका छोराछोरीहरूलाई स्कुलमा दुर्व्यवहार सहनु नपरोस् भनेर सचेतना र अभिमुखीकरणको काम गरिरहेको छ।
यो समुदायका बालबालिकाहरूले स्कुलमा दिनहुँ दुर्व्यवहार सहुनुपर्छ, बुलिङ हुन्छ। उनीहरूले अपमानित महसुस गर्नुपर्छ।
साथै उनीहरूले यौन दुर्व्यवहारको सामानसमेत गर्नुपर्छ। यसबाट उनीहरूको अध्ययनमा मात्र होइन जीवनमै असर पुर्याइराखेको छ। उनीहरूले मानवोचित व्यवहार नपाउँदा समाजबाट किनाराकृत हुँदै गइरहेका छन्।
कतिपय बाध्यतावश यौन व्यवसायमा आबद्ध हुनुपरिराखेको छ। उमेर नपुगी यस्तो कार्यमा संलग्न हुँदा अनेक खालका शारीरिक समस्या व्यहोर्न परिराखेको छ।
शिक्षा नै चेतना निर्माणको आधार हो। तर यो समुदायका बालबालिको उपयुक्त ढंगले शिक्षादीक्षा पाउन सकेका छैनन्।
त्यसकारण उनीहरूको सामाजिकीकरणमा टेवा पुर्याउने, बाध्यतावश यौन व्यवसायमा जानुनपरोस् भनेर हामीले यो संस्था खोलेका हौं।
संस्थाबाट त विभिन्न काम गरिरहनुभएको होला। त्यसको लाभ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले पनि पाएको होला। तर मेयरको उम्मेदवारको रूपमा प्रस्तुत भइरहँदा एजेन्डाहरू के–के छन्?
शिक्षाका अतिरिक्त, स्वास्थ्य र रोजगारीका क्षेत्रमा काम गर्ने नै हाम्रो पहिलो प्रतिबद्धता हो। कीर्तिपुरलाई धार्मिक, पर्यटकीय तथा सांस्कृतिक सहरमा रूपान्तरण गर्ने हाम्रो प्रमुख एजेन्डा छ।
यहाँ रहनुभएको वृद्धवृद्धाहरूलाई घर–दैलोमै स्वास्थ्योपचारको प्रबन्ध मिलाउँछौं। नगरपालिकालाई भ्रष्टाचारमुक्त गर्दै सेवा–प्रवाहलाई व्यवस्थित गर्ने, सुशासनको प्रत्याभूति दिलाउने आदि काम गर्नेछौं।
नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतबाट मैदानमा धेरै उम्मेदवार छन्। उनीहरूको आधारभूत तहसम्म संगठन, सदस्यता छ। जनता समाजवादी पार्टीले त्यो तहसम्म संगठन विस्तार गर्न सकेको छैन, यस्तो अवस्थामा यहाँको जितको आधार के हो?
हामी सिमान्तकृत समुदायबाट पहिलो पटक यो नगरमा उम्मेदवारी दिएका छौं।
अल्पसंख्यक समुदाय, सबैभन्दा पछाडि पारिएको समुदायको बृहत्तर हितका लागि जसपाले उम्मेदवार बनाएको छ। त्यसैमा हामीले जितको अनुभूति गरिसकेका छौं।
उम्मेदवारी नै पहिलो जित हो भन्न खोज्नुभएको हो?
हो, यो समुदायले आफ्ना आवाज बुलन्द पार्दै उम्मेदवारी दिनु नै जित हो।
स्थानीय सरकार घर आँगनको सरकार हो। नागरिकका दैनन्दिनका काम यो सरकारको कर्तव्यसँग जोडिएको हुन्छ, त्यसलाई कसरी व्यवस्थित गर्नुहुन्छ?
मैले अघि नै भनेँ, हामी शिक्षा सुधारमै जोड दिन्छौं। कीर्तिपुर नगरभित्र अध्यापन गराउने शिक्षकहरूलाई तालिमको व्यवस्था गर्छौं। शिक्षण सिकाइ क्रियाकलापमा सुधार ल्याउँछौं।
गुणस्तरीय सिकाइका अतिरिक्त भौतिक अवस्था पनि सुधार गर्छौं। सबै कक्षा कोठामा सिसिटिभी क्यामेरा जडान गर्ने हाम्रो योजना छ। अहिले प्लस टु पढेपछि पढाइ छाड्ने दर तीव्र छ। उनीहरूलाई स्नातक बढ्न अभिप्रेरित गर्नेछौं।
त्यसका लागि बजेटको आवश्यक पर्छ। यसबारे पनि हामीले सोचेका छौं। प्लस टु पास भएपछि लोन दिने चलनको थालनी गर्छौं। नेपालमा यो अभ्यास सुरू भएको छैन। विदेशमा चलनचल्तीमा छ।
हामी मेयर निर्वाचित भएको खण्डमा हामी प्लस टु उत्तीर्ण विद्यार्थीहरूलाई चार वर्षे निर्ब्याजी ऋण प्रवाह गर्छौं। त्यसबाट अध्ययनका अतिरिक्त व्यावसायिक विकास पनि गर्न सक्नुहुनेछ।
यसो गर्दा उहाँहरूमा नेपाली नागरिक हुँ भन्ने खालको महसुस गर्नुहुनेछ।
शिक्षा महँगो हुँदै गएको छ। अध्ययनकै लागि घरबारी बेच्नुपर्ने अवस्था छ। स्वदेशमा गुणस्तरीय शिक्षा पाउन नसकेकाले बाहिर गएर अध्ययन गर्नुपर्ने अवस्था पनि छ।
बाहिर जाँदा पनि सुख पाएको अवस्था छैन। पढ्नका लागि लिएको ऋण तिर्न नसकेर जीवन नै त्याग्नुपर्ने अवस्था पनि देखिएको छ।
स्नातक पढ्न चार वर्षका लागि ऋण दिन सक्यौं भने उहाँहरूले अर्को पाँचौं वर्षदेखि काम गर्न थाल्नुहुनेछ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिस समाजमा अझै खुले हास्ने, समुदायका अरू नागरिक सरह बाँच्ने परिस्थिति छैन। उनीहरूको उत्थान, विकास गर्न, उनीहरूलाई आत्मनिर्भर बनाउने विषय पनि होलान् नि?
हरेक नगरपालिका, गाउँपालिकाले महिला, पुरूषहरूको क्षमता विकासका लागि लगानी गर्छ।
उनीहरूलाई मात्रै सीपमूलक, व्यावसायिक तालिमहरू दिन्छ। हामीजस्तो पछाडि पारिएको, तेस्रो लिंगी भन्ने बित्तिकै एक कोस टाढाबाट नराम्रो दृष्टि राख्छन्। बजेटै दिँदैनन्।
सबै यौन व्यवसायी हो भन्ने धारणा राख्छन्। यौन व्यवसायमा आबद्ध नहुँदा, विभिन्न काम गरेर स्वाधीन, आत्मनिर्भर बन्दा पनि सम्मानपूर्ण व्यवहार पाएका छैनौं।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका नागरिकहरू त्यत्तिकै यौन व्यवसायमा लागेका छैनन्; घर परिवारले हेर्दैनन्। समाजले स्वीकार्दैनन्। खान–लगाउन, कोठा बहाल तिर्न बाध्यतावश यौन व्यवसायमा लागेका छन्।
समाजको पनि केही दायित्व हुन्छ। तर समाजले उनीहरूलाई कहिल्यै एक बचन सोध्दैन, किन तिमीहरू यो क्षेत्रमा गएका छौ भनेर! समाजले मात्र होइन नेपाल सरकारले पनि सोधीखोजी गरेका छैन।
यसलाई न्यूनीकरण गर्नका लागि रोजगारीको सिर्जना, सीप तथा क्षमता विकासबारे किन नसोचेको?
यौनिक तथा लैंगिक अल्पसंख्यक, विशेष गरेर हामी तेस्रो लिंगीहरू पढे–लेखेको हुँदाहुँदै पनि सडकमै आउनुपरेको छ। यौन व्यवसायमा संलग्न भइराख्नुपरेको छ।
यो समाज, नेपाल सरकार र प्रबुद्ध व्यक्तिहरूलाई प्रश्न गर्न चाहन्छु, किन यस्तो भइरहेको छ?
घर–परिवारबाट उपेक्षामा परेपछि, समाजमा बाँच्न नसक्ने भएपछि राज्यले हेर्नुपर्ने हो। किन त्यस्तो हुन सकेन?
हामी हाम्रो समुदायको सचेतनाका लागि अभिमुखीकरण गर्न नगरपालिकाको ढोका नढक्ढक्याएका होइनौं। दस लाख माग्यो। एक लाख दिन्छन्। सरकार र राज्यका निकायले समान व्यवहार नगर्दा हाम्रो आत्मा रोएको छ। यही विभेदविरूद्ध र सम्मानजनक व्यवहारका लागि पनि हामीले उम्मेदवारी दिएका हौं।
अन्तिममा जितप्रति कत्तिको आशावादी हुनुहुन्छ?
मैदानमा गएपछि हारजित भइहाल्छ। मैदानमा कुदेपछि जित्नैपर्छ। त्यही आश राखेर उम्मेदवारी दिएका छौं। जसपाले पहिलो पटक मेयर र वडाध्यक्षमा हाम्रो समुदायलाई अघि सारेको छ। यसप्रति यहाँका नागरिकहरूको सकारात्मक धारणा छ। अब उहाँहरूले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई अघि बढाउनुपर्छ। उहाँहरूले समुदायको हितका लागि काम गर्नुहुन्छ। उहाँहरूलाई नै मत दिनुपर्छ भनेर सोचिदिनुपर्छ।
भिडिओः