सुर्खेत-जुम्ला जोड्ने कर्णाली राजमार्ग अवरुद्ध भएको छ। गएराति भएको बर्षाले पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दैलेख र कालीकोटको सिमानामा पर्ने दहीखोला र कालेखोला बीचको सडक अवरुद्ध भएको हो।
दैलेख-कालीकोट खण्ड अवरुद्ध हुँदा यो मार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि ठप्प छन्।
राजमार्ग अवरुद्ध भएकोबारे बिहान सवा ६ बजे प्रहरीलाई खबर भएको दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल दाहालले जानकारी दिए।
दहीखोला र कालेखोलाको बीचमा बाहेक दैलेख खण्डकै पादुका र साँगेतडाको बीचमा पाँच ठाउँमा सडक अवरुद्ध भएको डिएसपी दाहालले जानकारी दिए।
दैलेख खण्डमा जनपद र सशस्त्र प्रहरी बाटो खुलाउन खटिएको छ।
दैलेखका राकम बजारबाट जेसिबी लिएर सडक खुलाउने काम भइरहेको उनले बताए। सडक कतिबेला खुल्ने भन्ने निश्चित भने छैन।