पोखराबाट आइतबार दुई दर्जनभन्दा धेरै गाडी पर्यटकीय गाउँ धम्पुस उक्लिए।
ती गाडीमा विभिन्न देशका राजदूत, कूटनीतिक नियोगका प्रमुखदेखि अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख र प्रतिनिधि सवार थिए। नेपाल सरकारका अधिकारीहरू त हुने नै भए।
लावालस्कर लागेर उक्लेका गाडी धम्पुस पुगेर रोकिए।
गाडीबाट कुटनीतिज्ञहरू धमाधम ओर्लिन थाले। नेपालका सरकारी अधिकारीहरू पनि लगत्तै गाडीबाट झरे।
त्यही बेला गाउँमा पञ्चेबाजाको धुन गुञ्जयमान भयो।
नेपालका र विदेशका 'ठूला' मान्छेको स्वागतमा बाजा बजाउनेले सुरताल मिलाउन कुनै कसर बाँकी राखेनन्। माहोल बन्यो।
बाजा बजाउने समूहमा एकजना छाडेर सबै वयस्क थिए। टोलीमा एकजना मात्र महिला थिइन्। दलित समुदायका परियार थर लेख्ने व्यक्तिहरूले पाहुनाको स्वागतमा बाजा बजाउने जिम्मा पाएका रहेछन्। उनीहरू आफ्नो जिम्मेवारीमा कटिवद्ध देखिए।
त्यो समूहमा दमाहा बजाइरहेकी एक जना साधक भने नाबालिग थिइन्।
उनलाई गाउँमा गुञ्जन परियार भनेर बोलाउँछन्। उमेरले बल्ल १३ वर्ष लागेकी गुञ्जनको स्कुलको नाम भने प्रसुतिका परियार रहेछ। उनी अहिले पृथ्वीनारायण मावि, धम्पुसमा कक्षा ८ मा पढ्दैछिन्।
आइतबार सरकारी बिदा त होइन, तैपनि राजदूतको स्वागतमा स्कुल छाडेर गुञ्जन बाजा बजाउन पुगेकी रहिछन्।
यसपालि मात्र होइन, उनले अरू बेला पनि बाजा बजाउने काम आउँदा स्कुल छाड्नुपर्छ।
'पैसा आउँछ भनेर बाजा बजाउन आएकी हुँ,' उनले भनिन्, 'घरमा पैसा त चाहिन्छ नि।'
तामाको बटुका आकारको दमाहा जनावरको छालाले मोडिएको हुन्छ। छालाकै डोरीले कसिएको पनि हुन्छ। गह्रुँगो दमाहा बोक्न पनि छालाकै डोरी हालिएको छ।
यति भारी दमाहा बोकेर दमाहा बझाउनु गुञ्जनको बाध्यता हो।
गुञ्जनका घरमा आमा र दाइ छन्। दाइले भर्खर एसएलसी दिए। नतिजाको पर्खाइमा छन् उनी। दाइ अन्य प्रकृतिका ज्यालादारी काममा हिँड्ने गरे पनि बाजा बजाउन नजान्ने उनले बताइन्।
उनका अनुसार आमाको स्वास्थ्य निको छैन। आँखा कम देख्छिन्। बुबाले घर छाडेर हिँडेको दुई वर्ष बित्यो। कहाँ छन्, के गर्दैछन्, अत्तोपत्तो छैन।
खेतीपाती गरेर खान उनीहरूसँग जमिन छैन।
परिवारमा कमाउने व्यक्ति नै नभएपछि हातमुख जोर्नुपर्ने बाध्यताका सामु गुञ्जनसँग अर्को विकल्प पनि छैन। उनलाई बाजा बजाउने समूहमा उनकै हजुरबुबा पर्ने किरण परियारले सामेल गराएका हुन्।
'साह्रै नै पीडित भएर हामीले बाजा बजाउन लिएर हिँडेका हौं। बाउ हरायो। आमाले काम गर्न सक्दिनन्। जमिन पनि छैन। अनि के गरेर खाने,' किरणले भने।
यसरी बाजा बजाउँदा आउने पैसा सबैलाई बराबर बाँड्ने किरणले बताए।
'मैले जति पाउँछु, नातिनीले पनि उत्ति नै पाउँछिन्,' उनले भने, 'दिनमा कहिले १२ सय पर्छ, अलि टाढा जान पायो भने १५ सयसम्म झर्छ।'
स्कुल छाडेर बाजा बजाउन हिँड्दाको भोलिपल्ट शिक्षकलाई स्पष्टीकरण दिनुपर्ने गुञ्जन बताउँछिन्।
'सरहरूले हिजो कहाँ गयौ भनेर सोध्नुहुन्छ। बाजा बजाउन गएको भन्न भएन,' उनले भनिन्।
पृथ्वीनारायण मावि धम्पुसका प्राचार्य प्रेमराज सुवेदी पनि गुञ्जन अनुपस्थित हुँदा बाजा बजाउन गएको कुरा कहिल्यै नभनेको बताउँछन्।
'गुञ्जन धेरै अनुपस्थित भएकी त छैनन्। भएका बेला कहाँ गयौ भनेर हामीले सोध्छौं,' उनले भने, 'ममी बिरामी हुनुभयो जस्ता आकस्मिक कारण देखाउँछिन्।'
प्राचार्य सुवेदीका अनुसार स्कुलमा गुञ्जनको पढाइ राम्रो छ। स्कुलमा भइरहने विभिन्न अतिरिक्त क्रियाकलापमा उनी सक्रिय हुन्छिन्। कार्यक्रममा भाग लिन्छिन्। उनको परिवारको आर्थिक अवस्था नाजुक भएकाले पढाइमा समस्या देखिएको सुवेदीले बताए।
'हामीले स्कुलका तर्फबाट पोशाक दिन्छौं, अरू सुविधा पनि दिएका छौं,' उनले भने, 'परिवारका लागि अरू आर्थिक जोहो गर्न हामीसँग कुनै स्रोत छैन।'
गुञ्जनका दाजुले एसएलसी दिने बेला उनलाई स्कुलले साढे दुई महिना होस्टल राखेको थियो। होस्टल बस्दा डेढ महिनाको शुल्क गाउँकै अर्का स्थानीयले तिरिदिए। बाँकी एक महिनाको शुल्क विद्यालयका शिक्षकहरूबाट छुट गरेको सुवेदीले बताए।
उनका अनुसार पृथ्वीनारायण मावि धम्पुसमा ९० प्रतिशत विद्यार्थी दलित समुदायका छन्। सबैजसोको आर्थिक अवस्था कमजोर छ। गरिखाने जग्गाजमिन छैन। कसैले बुबा त कसैले आमा गुमाएका छन्। आफन्तका घरमा बसेर पढिरहेका केटाकेटीलाई स्कुलमा टिकाउन समस्या भएको सुवेदी बताउँछन्।
'अलि धनिमानी मानिसहरू बच्चा पढाउन पोखरा लैजान्छन्। कसैले विदेश पठाउँछन्। गाउँका सरकारी स्कुलमा आर्थिक अवस्था कमजोर भएका दलित बालबालिका मात्र छन्। टिकाउन हामीलाई पनि मुस्किल छ,' उनले भने।
माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ धम्पुसका वडाध्यक्ष बैकुण्ठ भण्डारीले पर्यटन बोर्डबाट बाजागाजा र महिला समूहबाट स्वागत सत्कारका कुरा आएपछि आफूले पञ्चेबाजा समूहलाई बाजा बजाउन अनुरोध गरेको बताए।
'मलाई अघिल्लो दिन बेलुका मात्र पत्र आएको थियो। मैले पञ्चेबाजा समूहलाई अनुरोध गरेको हुँ,' उनले भने, 'बाजा बजाउन गुञ्जन स्कुल छाडेर गइन् भन्ने थाहा थिएन।'
आर्थिक अवस्था कमजोर भएकै कारण स्कुल छाड्न बाध्य बालबालिकाका परिवारलाई सम्बोधन गर्न गाउँपालिकाले अहिलेसम्म कुनै कार्यक्रम गर्न सकेको छैन। संघीय सरकार र प्रदेश सरकारको त झन् गाउँमा उपस्थिति देखिँदैन।
वडाध्यक्ष भण्डारीले भने गुञ्जनको परिवारलाई सहयोग गर्न आउँदा बजेटबाट केही व्यवस्था गर्ने बताए।
'आर्थिक अवस्था साह्रै कमजोर भएकालाई हामीले सहयोग त गर्दै आएका छौं। दीर्घकालीन रूपमा के गर्न सकिन्छ, आउँदो बजेटमा पार्छु,' वडाध्यक्ष भण्डारीले भने।
गुञ्जनले आइतबार दमाहा बजाएको कार्यक्रम नेपाल सरकारको परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले संयुक्त आयोजना गरेको कार्यक्रम हो। सरकारी कार्यक्रममै एक बालिका स्कुल छाडेर बाजा बजाउनुपरेको कुरा न कूटनीतिक प्रमुखले याद गरे, न सरकारी अधिकारीले।
विभिन्न देशका नेपालस्थित कूटनीतिक प्रमुखदेखि साझेदार संस्था र अन्तर्राष्ट्रिय विकास साझेदार प्रमुखहरू सहभागी भएकै कार्यक्रममा यस्तो दृश्य देखिनु लाजमर्दो भएको अधिवक्ता कुञ्जनी परियार 'प्यासी' बताउँछिन्।
'सरकारी कार्यक्रममै दलित बालबालिकालाई सरकारले के काममा लगाउँछन् भन्ने यो एउटा दृष्टान्त हो,' उनले भनिन्, 'दलित बालबालिकाले पढ्न पाऊन् भनेर सरकारले नै चाहेको देखिएन।'
बालश्रम सम्बन्धी ऐनले १४ वर्ष मुनिकालाई श्रममा लगाउन निषेध गरेको छ। १४ वर्षभन्दा माथि १८ वर्ष सम्मलाई पनि दिनमा ६ घन्टा मात्र काममा लगाउन पाइन्छ। ६ घन्टा काम गर्दा तीन घन्टाको बीचमा आराम गर्न दिनुपर्ने कानुनी व्यवस्था रहेको अधिवक्ता कुञ्जनी परियारले बताइन्।
'राज्यले दलित बालबालिकाप्रति कुनै दायित्व लिनै चाहेन। कोही बालबालिका अभिभावकबिहिन हुँदैन। कसैका बुबाआमा छैनन् भने राज्य अभिभावक हुनुपर्छ,' उनले भनिन्, 'दलितका सवालमा राज्य अभिभावक बन्न सकेको छैन। संवेदनशील पनि छैन।'