मन्दिरमा जम्मा हुने भेटीले समाजिक काम भएको धेरै उदाहरण हाम्रो समाजमा कमै सुनिन्छ। त्यस्तो भेटी बरू धार्मिक कार्यमै खर्च हुन्छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा रहेको प्रसिद्ध सुपादेउराली मन्दिरले भने सामाजिक क्षेत्रमा राम्रो काम गरेको भनेर प्रशंसा पाउने गरेको छ। त्यतिमात्र होइन यहाँको भेटीको आर्थिक विवरण पनि पारदर्शी हुने गरेको छ।
नरपानी र फलामे नामका दुई अग्ला डाँडा बीचको खोंचमा रहेको सुपादेउराली मन्दिर अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नम्बर २ र सन्धिखर्क नगरपालिका वडा नम्बर ७ को सीमानामा छ।
मन्दिर संरक्षण समितिका अध्यक्ष फर्सबहादुर केसीका अनुसार दर्शनार्थीहरूले चढाएको भेटीबापत वार्षिक साढे एक करोड रुपैयाँसम्म संकलन हुने गरेको छ।
मन्दिरमा असारदेखि भदौसम्म र पुसमा दर्शनार्थीको संख्या केही कम हुन्छ। अन्य आठ महिना दैनिकजसो भिड हुन्छ।
नयाँ वर्षको पहिलो दिन र सार्वजनिक बिदामा १० हजारसम्म दर्शनार्थी आउँछन्। विशेष चाडपर्वमा अझै बढी हुन्छन्। अन्य दिनमा दैनिक ५ हजार जनासम्म हुन्छन्।
मन्दिरमा दैनिक चार जना व्यवस्थापकले काम गर्छन्। पुजारी २१ जना छन्। दैनिक पूजापाठमा चार जना हुन्छन्। मन्दिरमा भक्तजनहरूले बली पनि चढाउने गरेका छन्।
अध्यक्ष केसीका अनुसार मन्दिरमा संकलित भेटीको रकमबारे जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीलाई जानकारी गराउने र बैंकमा जम्मा गर्ने गरिएको छ।
‘अहिले मन्दिर निकै व्यवस्थित भएको छ। भेटीको रकम प्रहरीको उपस्थितिमा गन्ती भई दैनिक जिल्ला प्रशासन कार्यालयमा रिपोर्टिङ गरेर बैंकमा जम्मा हुन्छ,’ उनले भने।
उनकाअनुसार यही भेटीको रकमबाट मन्दिरको आम्दानीबाट शीतगंगा र सन्धिखर्कका चार वटा विद्यालयका ८ जना शिक्षकले तलब पाउने गरेका छन्। मन्दिर संरक्षण समितिका अनुसार शिक्षकको तलबमा यसरी सहयोग गरेको ३० वर्ष भयो।
‘सुपादेउराली मन्दिर सन्धिखर्क र शीतगंगा नगरपालिकाको सीमानामा पर्ने भएकोले आम्दानी दुबै नगरपालिकाको विकासमा लगाउने गरिएको छ,’ अध्यक्ष केसी भन्छन्, ‘विद्यालयका शिक्षक र कर्मचारीको तलब भत्ताको रकम नियमित रूपमा पठाउने गरेका छौं।’
सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचीकोटको आदर्श माध्यमिक विद्यालय, शीतगंगा नगरपालिका वडा नम्बर २ सीतापुरको शान्ति आधारभूत विद्यालय, सीता आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालयले सहयोग पाएका छन्।
मन्दिर संरक्षण समितिका कोषाध्यक्ष चेतलाल पुरीका अनुसार आदर्श माध्यमिक विद्यालयलाई मासिक ५८ हजार रुपैयाँ दिने गरिएको छ। जसबाट तीन जना शिक्षकले तलब पाउँछन्।
शान्ति आधारभूत, सीता आधारभूत र देउराली आधारभूत गरी तीन वटा विद्यालयले मासिक ८० हजार रुपैयाँ पाउँछन्। यी तीन विद्यालयका पाँच जना शिक्षकले तलब पाउँछन्।
मन्दिरको आम्दानीबाट तलब सहयोग पाउने विद्यालयलाई आन्तरिक रूपमा शिक्षक नियुक्त गर्छन्। मन्दिरले भेटीको रकमबाट उक्त दुई वडामा सडक, खानेपानी, बिजुली, सामुदायिक भवन निर्माण लगायतका काममा आर्थिक सहयोग गर्ने गरेको छ।
मन्दिरको प्रचारप्रसार भएपछि केही वर्षयता सुपादेउरालीमा दर्शनार्थीको संख्या बढ्दै गएको छ। दर्शनार्थी बढेपछि भेटी पनि बढ्ने नै भयो। सोहीअनुसार मन्दिरले गर्ने आर्थिक सहयोग पनि बढ्दै गएको कोषाध्यक्ष पुरीको भनाइ छ।
शीतगंगा नगरपालिकाका उपप्रमुख गीता भाटका अनुसार केही वर्षयता सुपादेउराली मन्दिर व्यवस्थित बन्दै गएको छ। विकास निर्माणमा नगरपालिकासँग सहकार्य हुने गरेको छ।
‘शिक्षकको तलबमा सहयोग गरेको धेरै वर्ष भयो तर अरू क्षेत्रमा खासै सहकार्य थिएन। केही वर्षयता आम्दानी बढ्दै गएर होला, सानातिना कामहरूमा सहकार्य भइरहेको छ,’ उनले भनिन्।
सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का अध्यक्ष चुराबहादुर केसीका अनुसार मन्दिर क्षेत्रको पर्यटकीय प्रवर्द्धनका लागि कार्यालय र नगरपालिकामार्फत् गुरुयोजना बनाएर काम अघि बढेको छ।
‘मन्दिर क्षेत्रमा निर्माण भएका भवनहरूको स्वरूप एकैखालको कायम गर्ने, पार्क र धर्मशाला निर्माण गर्ने योजना छन्,’ उनी भन्छन्, ‘सवारीसाधनको पार्किङ, खाँचीकोट र मसिना लेकमा पूर्वाधार विकासको काम पनि मन्दिरको गुरुयोजनामा राखिएको छ।’
अध्यक्ष केसीले सुपादेउराली मन्दिरका सम्बन्धमा एउटा किंवदन्ती सुनाए–
वि. सं. १६१९ मा बाइसेचौबिसे राज्यअन्तर्गत खाँचीकोटकी राजकुमारीको बिहे भारतको बलरामपुरका राजकुमारसँग भएको थियो। बिहेबाट राजकुमारी खुसी थिइनन्। इच्छा विपरीत गरिदिएको उनको गुनासो थियो।
डोलीमा राखेर बलरामपुर लैजाने क्रममा सुपा खोलामा पुग्दा राजकुमारीको मृत्यु भयो। खाँचीकोट राज्यभरि ठूलो खलल भयो। हैंजा र रोगव्याधीले धेरैको मृत्यु भयो।
उक्त घटनापछि खनाल थरका एक ज्योतिषीले इच्छाविपरित बिहे गरिदिएका कारण राजकुमारीले देहत्याग गरेको र उनको आत्मा वायुका रूपमा डुलिरहेकाले राज्यमा अनिष्ट भएको भन्ने निष्कर्ष सुनाए।
राजकुमारीको आत्मशान्तिको लागि उनले आत्मदाह गरेको सुपाखोलामा पूजा गरेर कालो पाठी बलि दिइयो।बलि दिएपछि हैंजा र रोगव्याधी सकियो। पूजा गरेको ठाउँमा शिलाका रूपमा देवी प्रकट भइन्।
यसरी १६१९ मै पाठापाठी बलिसहित सुपाखोलामा देवीको नियमित पूजाआजा सुरु भयो। केसीले यसै किम्बदन्ती अनुसार सुपादेउराली मन्दिरमा वायुका रूपमा सुपादेउराली देवीको पूजा हुने गरेको बताए।
संस्कृतिविद् राजेन्द्र आचार्यका अनुसार सुपादेउराली मन्दिरबारे ऐतिहासिक प्रमाण छ। खाँचीका राजा ध्वजन शाहकी छोरी लीलावतीको बिहे गोरखाका राजा राम शाहसँग भयो। इच्छा विपरीत बिहे गरिदिएको भन्ने उनको गुनासो थियो, बेखुसी थिइन्।
राजकाजमा भन्दा देवीदेवताको पूजाप्रार्थनामा समय बिताउने ती राजकुमारी देहावसानपछि मनकामना देवीका रूपमा प्रकट भइन्। उनी गृहराज्य गोरखामा मनकामना देवीका रूपमा र माइतीराज्य खाँचीमा सुपादेउराली देवीका रूपमा प्रकट भएको विश्वास गरिन्छ।
ऐतिहासिक प्रमाण र किंवदन्ती दुबै विचार गर्दा सुपादेउराली मन्दिर सत्रौं शताब्दीमा स्थापित भई पूजाआजा हुन थालेको मानिन्छ।
देवीका रूपमा मानिएको शिला सुपा खोलाको खोंचमा थियो। अर्घाखाँची, गुल्मी र प्युठानका केही गाउँका ढाक्रेहरू सुपा देउरालीमै बास बस्थे। खोंचमा रहेको शिलाको पूजा गर्थे।
पछि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट कपिलवस्तुको गोरुसिंगे जोड्ने कच्ची सडक बनाउने क्रममा खोंचमा रहेको शिला खाँचीकोट र नरपानीका बासिन्दाले बाटाको छेउमा सारे। डुंगामाटाको मन्दिर बनाएर शिला राखे।
२०४० सालमा अर्घाखाँचीको बल्कोट निवासी बाबुराम रायमाझीले राम्रो मन्दिर बनाइदिएपछि नियमित पूजाआजा सुरु भयो।
हाल मन्दिरको भव्य संरचना रहेको छ। हालको संरचना २०६३ सालमा करिब तीन करोड रुपैयाँको लागतमा बनेको हो। अर्घाखाँचीकै 'श्रीनरनारायण बाबा'को अगुवाइमा एक करोड रुपैयाँको लागतमा प्यागोडा शैलीको कलात्मक मन्दिर निर्माण भएको अध्यक्ष केसीले बताए।
मन्दिरमा सुपादेउराली देवीको मूर्तिसँगै गणेश, नवदुर्गा, महाकाली, महालक्ष्मी, शिव लगायत विभिन्न देवीदेवताका मूर्ति रहेका छन्।
२०७५ सालमा सरकारले चयन गरेका एक सय उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको सूचीमा सुपादेउराली पनि समावेश थियो। मन्दिरमा पूजाआजा र दर्शनका लागि भारतीय भक्तजनहरू पनि आउने गरेका छन्।