गत मंसिर १२ गते गुल्मीको सत्यवती गाउँपालिका वडा नं. २ ठूलो लुम्पेककी ३२ वर्षीया भवानी राजकोटीको मृत्यु भयो।
अस्पतालका अनुसार मंसिर ११ गते बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा शल्यक्रियामार्फत ५ किलोको बच्चा जन्माएकी राजकोटीको १२ गते बिहान उठाउने क्रममा अचानक चक्कर लागि ढलेपछि मृत्यु भएको थियो।
गत असोज ८ गते रूपन्देहीको सियारी गाउँपालिका वडा नं. ५ बैदौलीकी ३३ वर्षीया सावित्रा खरेलले अपरेसनमार्फत् बच्चा जन्माइन्। भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा अपरेसन गरी बच्चा जन्माएकी सावित्राको कात्तिक २ गते मृत्यु भयो।
नवलपरासीकी पत्रकार सीता शर्माले गत कात्तिक ८ गते छोरीलाई जन्म दिइन्। सुत्केरी भएपछि न्यून रक्तचापसँगै अक्सिजनको मात्रा कम देखियो। केही दिन अस्पतालमै राखेर उपचार गरी निको भएपछि उनलाई घर लगिएको थियो। दशौं दिनमा फेरि अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उनको मृत्यु भयो।
गत साउन २० गते पूर्वी रूकुमको सिस्ने गाउँपालिका वडा नं. १ भट्टेचौरकी २५ वर्षीया सपना बुढाको मृत्यु भयो। अघिल्लो दिन साउन १९ गते सुत्केरी व्यथाले च्यापेपछि स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी गराउन सम्भव नभएपछि उनलाई २० गते हेलिकप्टरमार्फत् सुर्खेत लगिएको थियो। अस्पतालमा प्रसूतिकै क्रममा सपनासँगै नवजात शिशुको पनि मृत्यु भयो।
माथि उल्लेख गरिएका घटनाहरू केही प्रतिनिधि घटना मात्र हुन्।
दुई/दुई वटा प्रादेशिक, ३ वटा संघीय, १३ वटा जिल्लास्तरका र १९ वटा साधारण अस्पताल रहेको लुम्बिनी प्रदेशमा स्वास्थ्य चौकीहरूको संख्या नै १ हजार ९ सय ४० वटा छन्।
प्रदेशमा २८ वटा आधारभूत स्वास्थ्य उपचार केन्द्र, ५ सय ६३ वटा हेल्थ पोष्ट, ४ सय ४९ वटा बर्थिङ सेन्टर र ३ सय ४ वटा आधारभूत स्वास्थ्य केन्द्र गरी सरकारी स्वास्थ्य संस्था मात्रै ४ हजार ४१ वटा छन्। तर मातृशिशु मृत्युका हिसाबले भने लुम्बिनी प्रदेश सबभन्दा कमजोर देखिएको छ।
२०७८ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय तथ्यांक कार्यालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य विकास साझेदारहरूको संयुक्त प्रयासमा मातृ मृत्युको तथ्यगत अध्ययन गरिएको थियो। उक्त अध्ययन अनुसार लुम्बिनी प्रदेशमा मातृ मृत्युदर देशकै उच्च रहेको पाइएको छ।
प्रदेशमा १ लाख जीवित जन्ममा २ सय ७ जना आमाले ज्यान गुमाउने गरेका छन्। जुन देशका सातवटै प्रदेशमध्ये सबैभन्दा धेरै हो।
देशभरको तथ्यांक हेर्दा प्रति १ लाख जीवित जन्ममा १५१ जना आमाले ज्यान गुमाउने गरेका छन्। लुम्बिनी प्रदेशमा भने ७६ हजार २४३ जीवित जन्ममा १ सय ५८ जना आमाको मृत्यु भएको छ। प्रदेशमा सबभन्दा बढी मातृ मृत्यु हुने जिल्ला बाँके र त्यसपछि रुपन्देही रहेको छ।
१५८ जना मातृ मृत्यु हुँदा बाँकेमा ३६ र रुपन्देहीमा ३० जनाको मृत्यु भएको छ। त्यस्तै कपिलवस्तु २८, दाङमा १५, बर्दिया १४, पश्चिम नवलपरासी र गुल्मीमा ७/७ जना, प्यूठान र रोल्पामा ६/६ जनाको मृत्यु भएको छ। त्यस्तै, अर्घाखाँची र मा ४/४ जना र सबैभन्दा कम रूकुम पूर्वमा एक जना आमाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।
उक्त अध्ययन अनुसार उपयुक्त स्वास्थ्य सेवा लिन निणर्य गर्नमा ढिलाइ, स्वास्थ्य संस्था पुग्नमा ढिलाइ र स्वास्थ्य संस्थामा पुगेपछि पनि सेवा प्राप्तिमा ढिलाइ हुँदा मातृ मृत्यु हुने गरेको पाइएको छ।
त्यस्तै, गैर प्रसूतिजन्य जटिलता, प्रसूतिको बेलामा हुने उच्च रक्तश्राव, उच्च रक्तचाप, गर्भावस्थासँग सम्बन्धित संक्रमण, गर्भपतन र आत्महत्या समेत मातृ मृत्युका प्रमुख कारण हुने गरेका छन्।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद कुमार गिरी प्रदेशमा मातृ मृत्यु बढी भएका स्थानीय तहहरूमा विशेष आमा सुरक्षा कार्यक्रम, स्वास्थ्य क्लिनिक सञ्चालन, आपतकालीन अवस्थाका गर्भवती महिलाहरूको लागि नि:शुल्क एम्बुलेन्स सेवा जस्ता कार्यक्रम संचालन गरिए पनि घरमै सुत्केरी हुँदा मातृ मृत्युदर उच्च हुने गरेको बताउँछन्।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत डोर बहादुर बस्नेतका अनुसार प्रदेशमा आर्थिक वर्ष ०७९/०८० मा २ हजार ३ सय ४० जना महिला घरमै सुत्केरी भएका थिए।
तथ्यांक अनुसार सबभन्दा बढी कपिलवस्तुमा ५ सय ४५ जना महिला घरमै सुत्केरी भएका थिए। कपिलवस्तु पछि प्यूठानमा २ सय ३५, अर्घाखाँचीमा १ सय ५४, बाँकेमा १ सय ३२, दाङ्गमा १ सय ९ र रुपन्देहीमा १ सय २ जना महिला घरमै सुत्केरी भएका थिए। त्यस्तै रोल्पामा ९५, रुकुम पूर्व र पश्चिम नवलपरासीमा ६६/६६, गुल्मीमा ३३, पाल्पामा २५ र सबैभन्दा कम बर्दियामा आठ जना महिला घरमै सुत्केरी भएका थिए।
मृत्यु हुने संख्यामा पनि ५४ प्रतिशत मातृ मृत्यु स्वास्थ्य संस्थामा हुने गरे पनि ४६ प्रतिशतको मृत्यु भने स्वास्थ्य संस्थाभन्दा बाहिर हुने गरेको पाइएको छ। जसमा २९ प्रतिशतको घरमा, १२ प्रतिशतको एउटा स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा जाँदै गर्दा र ५ प्रतिशतको स्वास्थ्य संस्थामा जाँदै गर्दा हुने गरेको छ।
पन्ध्रौ योजना एवं दिगो विकास लक्ष्य अनुसार नेपालले सन् २०३० सम्ममा मातृ मृत्यु अनुपात प्रति एक लाख जीवित जन्ममा ७० पुर्याउने लक्ष्य लिएको छ। तर नजिकै स्वास्थ्य संस्था रहे पनि घरमै सुत्केरी हुने, ढिलो गरी स्वास्थ्य संस्था पुग्ने र स्वास्थ्य संस्थामा पुगे पनि ढिलो गरी सेवा प्राप्त हुँदा सरकारलाई उक्त लक्ष्य पूरा गर्न चुनौती देखिएको छ।
मातृ मृत्यु दर सबभन्दा उच्च रहेको लुम्बिनी प्रदेशमा नवजात शिशु मृत्यु दर पनि उच्च रहेको छ। जन्मपश्चात पहिलो २८ दिनभित्र हुने मृत्युलाई नवजात शिशु मृत्यु भनिन्छ । यो अवधिको मृत्यु पनि लुम्बिनी प्रदेशमा उच्च रहेको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७९/०८० मा प्रदेशमा ५ सय ८० जना नवजात शिशुहरूको मृत्यु भएको छ। पन्ध्रौ योजना एवं दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा प्रति हजार जीवित जन्ममा १२ मा झार्ने सरकारको लक्ष्य छ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका मातृ तथा नवजात शिशु फोकल पर्सन कौशल भण्डारीका अनुसार लुम्बिनी प्रदेशमा मातृमृत्यु दरलाई कम गर्न विभिन्न प्रयासहरू भइरहेका छन्। पूर्ण संस्थागत प्रसूतियुक्त स्थानीय तह/जिल्ला घोषणा तथा प्रसूतिको अवस्थामा रगत चाहिने आमाहरूको लागि नि:शुल्क रगत ट्रान्सफ्युजन सेवा उपलब्ध छ।