लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयले सुप्रिम बचत तथा ऋण सहकारी संस्था कानुनविपरीत दर्ता गरिएको पाइएको छ।
सहकारीले झण्डै सवा एक अर्ब रूपैयाँ हिनामिना गरेको भन्दै उजुरी परेपछि दर्ता अधिकारीको कार्यालयले छानबिन थालेको थियो।
सहकारी सञ्चालकको सम्बन्धित नगरपालिका वा प्रदेशभित्रकै नागरिक, मतदाता वा बसोबास गरेको हुनुपर्ने कानुनी व्यवस्थाविपरीत सुप्रिम सहकारीका उपाध्यक्षबाहेक सबै पदाधिकारी रूपन्देहीभन्दा बाहिरका भएको प्रतिवेदन उल्लेख छ।
२०७२ साल चैत ८ गते सहकारी डिभिजन कार्यालयका तत्कालीन प्रमुख नेत्र घिमिरेले दर्ता गरी ओखलढुंगाका गितेन्द्रबाबु (जिबि) राई अध्यक्ष रहेको सञ्चालक समितिलाई सहकारी सञ्चालनको अनुमति दिएका थिए।
सहकारी दर्ता गर्दा उपाध्यक्ष ओमप्रकाश गुरूङबाहेक सचिव राजु बराल, कोषाध्यक्ष दिपेश पुन र सदस्यहरू सुरज श्रेष्ठ, देवेन्द्रबाबु राई र भुपेन्द्र राई सबै कार्यक्षेत्रभन्दा बाहिरका थिए।
जिल्ला बाहिरका व्यक्तिहरू सञ्चालक हुँदाहुँदै उनीहरूकै नाममा दर्ता गरिदिने कार्य कानुनविपरीत भएको भन्दै तत्कालीन सहकारी डिभिजन कार्यालयका तत्कालीन प्रमुख घिमिरेमाथि प्रश्न उठेको हो।
‘सहकारी ऐनले सहकारीका सञ्चालक पदाधिकारीको नागरिकता कार्यक्षेत्र भित्रको हुनुपर्ने त्यो नभए कार्यक्षेत्रमा बसोबास प्रमाणित हुने बसाइसराइ, मतदाता सूचीमा नाम समावेश हुनुपर्छ। तर सुप्रिम सहकारी दर्ता गर्दा सञ्चालक समितिका पदाधिकारीका ती दस्ताबेज देखिँदैन यो कार्य सहकारी ऐन, नियम र सहकारीको मूल्यमान्यताविपरीत देखिन्छ,’ लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयका प्रमुख यम बहादुर कुँवरले बुझाएको प्रतिवेदनमा उल्लेख छ।
२०७२ सालमा सहकारी दर्ता गर्ने भन्दै डिभिजन सहकारी कार्यालय रूपन्देही पुगेको जिबी राई र दिपेश पुनको समूह सहकारी डिभिजन प्रमुख नेत्र घिमिरेमार्फत् ओमप्रकाश गुरूङको सम्पर्कमा पुगेको थियो।
गुरूङ २०५७ सालदेखि बुटवलमा सञ्चालनमा रहेको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक थिए।
त्यतिबेला रूपन्देहीमा धेरै सहकारी संस्था दर्ता भएको भन्दै नयाँ सहकारी संस्थाको दर्ता प्रक्रिया रोकिएको थियो। उता न्यून सदस्य रहेको भन्दै मैत्रेय बचत तथा ऋण सहकारी संस्थालाई बन्द गर्न सहकारी डिभिजन कार्यालयले दबाब दिइरहेको थियो। सोही बखत जिबी राई र दिपेश पुनको समूहले सहकारी दर्ताको दबाब दिएपछि घिमिरेले राई र पुनलाई गुरूङसँग भेट गर्न पठाएका थिए।
गुरूङसँगको भेटपछि सहकारी दर्ता गर्न आएको राई र पुनको समूह मैत्रेय सहकारीमा २०७२ साल माघ २५ गते सदस्य बनेका थिए। माया गुरूङ अध्यक्ष रहेको मैत्रेय सहकारीले राई र पुनसँगै राजु बराल, सुरज श्रेष्ठ, देवेन्द्रबाबु राई र भुपेन्द्र राईलाई सहकारीको सदस्यता दिएका थिए।
माघ २५ गते सदस्य बनेका राई सहितको समूह र ओम प्रकाश गुरूङ समेतले फागुन १ गते सहकारीको विशेष साधारण सभा बोलाउन निवेदन दिएका थिए। सोही निवेदनपछि फागुन ३० गते भएको विशेष साधारण सभाबाट मैत्रेय सहकारीको नाम संशोधन गरी सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनाइएको थियो।
नाम संशोधनसँगै बुटवलमा मात्र रहेको कार्यक्षेत्रलाई रूपन्देही जिल्लाभर कायम गरिएको थियो।
२०७६ साल भदौसम्म राई आफैं अध्यक्ष रहे। राईले अध्यक्षबाट दिएको राजीनामा स्वीकृत गर्दै भदौ १४ गतेको साधारण सभाबाट गुरूङ अध्यक्ष बनेर राईलाई संरक्षक बनाइएको थियो।
गुरूङ अध्यक्ष बनेपछि २०७६ असोज १६ गते ३० जना मात्र सदस्य रहेको भैरहवाको जय अम्बे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सुप्रिमसँग एकीकरण गरिएको थियो।
रूपन्देहीमा दर्ता भएपछि नै बचतकर्ताहरूसँग दैनिक बचत उठाउन सुरू गरेको सुप्रिमले ऋण लगानी भने २०७५ सालदेखि गरेको देखिन्छ।
कुल १० हजार ३९१ जना बचतकर्ताबाट १ अर्ब ७ करोड ८२ लाख संकलन गरेको थियो। त्यसमध्ये सहकारीका संस्थापक अध्यक्ष राई संलग्न गोरखा मिडिया नेटवर्कसहित पाँच वटा कम्पनीलाई मात्र ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण दिइएको छ।