राजमार्गका मेडियन र किनार कब्जा गरेर विज्ञापन सामग्री राख्दै आएको एपेक्स नेपाल प्रालिले आकाशे पुल कब्जा गरेर आफ्नो प्रचार सामग्री राखेको छ।
बुटवलको सबभन्दा बढी व्यस्त आकाशे पुलको रूपमा रहेको कालिकानगरस्थित कालिका मानव ज्ञान विद्यालय अगाडि रहेको आकाशे पुलमा सन्देशमूलक चिन्ह हटाएर उक्त कम्पनीले आफ्नो प्रचार सामग्री राखेको हो।
सिद्धार्थ राजमार्ग अन्तर्गतको बेलहिया बुटवल सडक खण्डको उक्त आकाशे पुलसहित बुटवलका अन्य आकाशे पुलहरूमा समेत बिनास्वीकृत यसअघि पनि एपेक्सले सन्देशमूलक सामग्री छोपेर विज्ञापन गरेपछि डिभिजन सडक कार्यालयले हटाइदिएको थियो।
डिभिजन सडक कार्यालयले गत जेठमा स्वीकृतिबिना विज्ञापन सामग्री राखेको भन्दै हटाइदिएपछि एपेक्सले १७ लाख हाराहारी क्षति भएको भन्दै गएको असार २५ गते सडक विभागमा निवेदन दिएको थियो।
एपेक्सले बुटवल उपमहानगरपालिकासँग सडकमा विज्ञापन सामग्री राख्नेगरी अनुमति लिएको दाबी गर्दै आएको छ।
एपेक्सले लेखेको पत्रमा वर्षको १७ लाख ३७ हजार रुपैयाँ कर बुझाउने गरी राजमार्गका पोल, प्रतीक्षालय आकाशे पुल, सार्वजनिक शौचालयमा विज्ञापन राख्ने गरी अनुमति पाएको दाबी गरेको छ।
नगरपालिकाका एक अधिकृतका अनुसार एपेक्सले २०७४ असोज १ गते बुटवल उपमहानगरसँग सडकमा विज्ञापन राख्नेगरी सम्झौता गरेको छ।
सुरूमा सौर्य ऊर्जा (सोलार) बाट सडक बत्ती बाल्ने सहमति गरेको थियो। तर अहिले सम्झौता परिमार्जन गरेर विद्युत लाइनबाट बालिएका छन्। अहिले विद्युत प्राधिकरणसँग एपेक्स नेपालले आफैं विद्युत लाइनको मिटर जडान गरेर महसुल बुझाएको छ।
‘अब उपमहानगरपालिका मातहत मिटर ल्याएर महसुल भने एपेक्सले नै बुझाउने निर्णय भएको छ, बुटवल उपमहानगरपालिकाका राजस्व महाशाखाका वरिष्ठ अधिकृत डोलराज पौडेलले भने।
पौडेलका अनुसार एपेक्ससँगको सम्झौतामा राजमार्ग चौराहदेखि लक्ष्मीनगरसम्मको सडकको मेडियन र आकाशे पुल समेतमा सम्झौता भएको छ भने योगिकुटीदेखि उत्तरतर्फका प्रतिक्षालयहरूमा समेत विज्ञापन गर्ने सम्झौता छ।
सम्झौतामा आकाशे पुलमुनि स्मार्ट शौचालय बनाउने र त्यसको व्यवस्थापन गर्ने उल्लेख भए पनि आकाशे पुलमा विज्ञापन राख्न नपाएको भन्दै शौचालय बनाउन एपेक्सले आनाकानी गरिरहेको छ।
यस क्षेत्रमा सबभन्दा व्यस्त मानिने उक्त सडकखण्डमा सडक प्रयोगकर्ताहरूका लागि आवश्यक सन्देशमूलक सामग्री राख्नुपर्नेमा राखिएका सामग्री समेत हटाएर कुनै अमुक कम्पनीको प्रचार सामग्री राखिनु गलत भएको स्थानीयको भनाइ छ।
‘यो आकाशे पुलमा अन्य पुलमा जस्तै पुलको उचाइ, सडक लेनको प्रयोगबारे प्रयोगकर्ताहरूका लागि जान्नै पर्ने सन्देश र विद्यार्थीहरूलाई आकाशे पुलको प्रयोग गर्न बानी बसाल्न आग्रह गरिएका सामग्री राख्नु पथ्र्यो तर एपेक्सले जबरजस्ती गरिरहेको छ,’ स्थानीयले भने।
सडक विभागका प्रवक्ता इन्जिनियर रामहरि पोखरेलले सडक विभागले कसैलाई पनि विज्ञापन सामग्री राख्न अनुमति नदिएको बताए।
‘हामीले कसैलाई यस्ता विज्ञापन सामग्री राख्न दिँदैनौं, साना साना गार्डेनहरू बनाउन, सौन्दर्यकरणका लागि दिन्छौं सडक नै कुरूप बनाउने गरी दिँदैनौं,’ उनले भने।