नेपालमा जलपंक्षी (पानी चरा) हरूको महत्वपूर्ण बासस्थान मानिने कपिलवस्तुको जगदिशपुर तालमा पछिल्लो पाँच वर्षमा झण्डै ६० प्रतिशत जलपंक्षी घटेका छन्। चरा गणनामा संलग्न चराविद्हरूका अनुसार जगदिशपुर तालमा हरेक वर्ष जलपंक्षीको संख्या घटिरहेको छ।
सन् २०१८ मा यो तालमा ४३ प्रजातिका २३ हजार जलपंक्षी गणना भएका थिए। २०२४ मा आइपुग्दा जलपंक्षीको संख्या झण्डै १४ हजार घटेको छ। चराविद् तथा नेपाल पंक्षी संरक्षण संघका फिल्ड अधिकृत ईश्वरी प्रसाद चौधरी सहितको टोलीले गत माघमा जगदिशपुरसँगै रूपन्देही, कपिलवस्तु र नवलपरासीका विभिन्न तालहरूमा गणना गरेको थियो।
गणना गर्दा सबैजसो ताल तथा सिमसारहरूमा जलपंक्षीको संख्या घटिरहेको चौधरीले बताए। चौधरीले सन् २०१८ मा २३ हजार जलपंक्षी रहेको जगदिशपुर तालमा पाँच वर्षपछि गणना गर्दा ९ हजारमा झर्नु चिन्ताको विषय भएको बताए।
त्यसअघि सन् २०२० मा जगदिशपुरमा २ हजार दुई सय हाराहारी घटेर २० हजार ८ सय ७ गणना भएकोमा सन् २०२१ मा एकैपटक आठ हजार ७ सय ४४ चराहरू घटेको देखिएको थियो। सो वर्ष जम्मा १२ हजार ६३ मात्र पानी चराहरू गणना भएका थिए।
त्यसपछि पनि हरेक वर्ष तालमा चराहरू घटिरहेका छन्। चौधरीका अनुसार जगदिशपुरमा २०२२ मा ९ हजार ८ सय ३७ र २०२३ मा ९ हजार ४ सय ८७ चरा गणना भएका थिए।
चराविद् चौधरीले पहिलेजस्तो चराहरूको चोरी शिकारी घट्दै जाँदा पनि पाँच वर्षमा एउटै तालमा ६० प्रतिशत चराहरू घट्नु चिन्ताको विषय भएको बताए।
‘अहिले पहिले जस्तो चराहरूको चोरी शिकारी केही कम हुने गरेको छ, गाउँमा संरक्षणकर्मीहरू पनि थपिएकै छन् तर, चराहरूको संख्या भने घटिरहेको छ जुन ज्यादै चिन्ताको विषय हो,’ चौधरीले भने।
चौधरीले नेपाल मात्र नभएर भारतका जलाशय र सिमसारहरूमा पनि चराहरूको संख्या घटिरहेको उल्लेख गर्दै पहिले जुन देशबाट नेपाल र भारतमा चराहरू आउने गर्थे अहिले त्यही देशमा बासस्थान र पर्याप्त आहारा भेटिनु र जलवायु परिवर्तनका कारण पनि यहाँ चराहरू नआएको हुनसक्ने बताए।
पहिले हिउँदयाममा तालहरू जमेका कारण चिसो छल्न र आहाराको खोजी गर्दै ती देशहरूबाट नेपाल-भारत लगायतका ताल र सिमसारहरूमा चराहरू आउने गर्थे, जलवायु परिवर्तनका कारण ती देशका अहिले तालहरू जम्न छोडेपछि उतै बसेका पनि हुन सक्छन्।
अर्को कुरा अहिले नेपालमा पहिलेजस्तो आहारा नपाइने र आफ्नै देशहरूमा प्रशस्त पाइएको पनि हुन सक्छ, चराहरूको संख्या किन घटिरहेको छ? अन्तर्राष्ट्रिय स्तरबाटै अध्ययन गर्नुपर्ने हुन्छ,’ चौधरी भन्छन्।
चौधरीले नेपालका ताल तथा सिमसार क्षेत्रहरूलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने र मानवीय गतिविधि बढ्दै जाँदा पनि नेपालका तालतलैयामा चराहरू असुरक्षित मान्ने गरेको बताए।
नेपालका प्राकृतिक रूपमा भएका सिमसार तथा तालतलैया आसपासमा मानिसहरूको बस्ती बस्दै जाँदा अरू देशहरू नै सुरक्षित मानेर चराहरू पनि उतै गएका पनि हुनसक्ने बताउँछन्।
‘कपिलवस्तुको जगदिशपुरसँगै रूपन्देहीको गैंडहवा तालमा पनि चराहरूको लागि राम्रो बासस्थान भएको मानिन्थ्यो तर, पछिल्लो समय डुंगा सञ्चालन गर्ने र माछा पालनको लागि समेत ठेक्कामा लगाउँदा चराहरूले असुरक्षित मानिरहेका छन्,’ उनले भने।
विशेषगरी साइबेरिया, रूस, चीन, मंगोलिया, मध्य एशियाका तुर्केमिस्तिान, किर्गिस्तान लगायतका देशहरूबाट हरेक वर्ष जाडो छल्न र बच्चा कोरल्न ७ देखि १० दिनसम्म ४ देखि ५ हजार माइलको उडान भरी चराहरू यहाँ आउने गर्छन्।
जाडोका बेला सो देशहरूमा हिमपात हुने र तालहरू जमेर आहारा नपाइने भएपछि चराहरू आहाराको खोजी गर्दै यति लामो दूरीको उडानबाट नेपालका तराई क्षेत्रका सिमसार र जलाशयहरूमा आउने गर्थे।
वरिष्ठ चराविद् डा. हेमसागर बरालका अनुसार कपिलवस्तुको सदरमुकाम तौलिहवादेखि करीब ११ किलोमिटर उत्तर कपिलवस्तु नगरपालिका वडा नम्बर ९ र १० मा पर्ने यो तालमा बर्सेनि ५० हजार बढी चराचुरूङ्गीहरू आउने गर्थे। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले केही वर्ष पहिले गरेको अध्ययन अनुसार नेपालको जल क्षेत्रमा भेटिएका एक सय ६२ प्रजातिका चरामध्ये जगदिशपुरमा सिमसारमा आश्रित ६१ प्रजाति र अन्य ५७ प्रजातिका चराचुरूङ्गीहरू भेटिएका थिए।
ती चराहरूमध्ये विश्वमै दुर्लभ मानिएका ७ प्रजाति थिए। तर यसवर्ष गरिएको गणनामा सिमसारमा आश्रित ४३ प्रजातिका मात्रै चराहरू भेटिएका छन्।
‘सन् २०२३ मा त ४१ प्रजातिका मात्रै भेटिएका थिए, यस वर्ष गत वर्ष नदेखिएका कटन पिग्निगुज र व्ल्याक क्राउन दुई प्रजातिका चराहरू पनि देखिएका छन्,’ चौधरीले भने।
यो ताल मरूल, सुनजुरे, सिलसिले, कालीजुरे, मालक, सुइरोपुछ्रे, बेल्चाठुंडे, सिन्दुरे, निलटाउके, कैलो टाउके, जुलागैरी, चखेवा, पेकिङ डग, माल्टाज, फिस्टा, खट्खटे, सारस, भुँडीफोर, ध्यानी, बकुल्ला, सेतो गरूड लगायतका चराहरूको लागि राम्रो बासस्थान मानिन्छ। विश्वकै सबैभन्दा सानो मानिने हरि हाँस, सिलसिले र नागुन हाँस यहीँ बासस्थान रहेका रैथाने हाँस हुन्। ती हाँसले जगदिशपुरमै बच्चा कोरल्ने गर्छन्। धेरै प्रजाती र संख्यामा चराहरू आउने भएकोले जगदिशपुर ताल पंक्षीविद्हरूको लागि अध्ययन गर्ने थलो मानिन्छ।
पाहुना चराहरूको बारेमा जानकारी लिने, उनीहरूको जलक्रिडा र रोमाञ्चक गतिविधिको अवलोकनका लागि कात्तिकदेखि माघ फागुनसम्म आन्तरिक तथा बाह्य गरी दैनिक तीन चार सयको संख्यामा अवलोकनकर्ता पुग्ने गर्छन्।
तिनै अवलोकनकर्ताहरूलाई तालमा डुंगा सयर गराउन थालेपछि भने चराहरूको संख्या घटिरहेको छ। चराविद् बराल ताल वरिपरि मात्रै नभएर तालभित्रै मानवीय गतिविधि बढ्न थालेपछि चराहरूको संख्या घट्दै गएको बताउँछन्।
अर्का चराविद् चौधरी पनि जगदिशपुर तालको चारैतिर मानिस हिँड्ने बाटो बनाएर सवारी साधन चलाउने र तालमा डुंगा चलाउने गर्दा चराहरूको बासस्थान नाँसिदै गएको बताउँछन्।
पहिले जगदिशपुर तालमा पानी भित्रै बस्ने मात्र नभई हिलोको दलदल, छिपछिपे पानी र आइसल्याण्ड जस्ता टापुहरूमा बस्ने सबै प्रकारका चराहरू आउनेमा अहिले दलदल र छिपछिपे पानीमा बस्ने चराहरू हराउने गरेको बताए।
‘सबै चराहरू टम्म पानी भरिएको तालमा बस्न सक्दैनन्। दलदल, हिलो र छिपछिपे पानीमा बस्ने र त्यही तालभित्रै रहेका झाडी र टापुहरूमा बच्चा कोरलेर हुर्काउने चराहरू पनि छन्, त्यस्ता चराहरू डुंगा सञ्चालनको लागि तालमा टम्म पानी भरिन थालेपछि अन्यत्र गएका हुन सक्छन्,’ उनले भने।
जगदिशपुरमा मात्र नभएर अरू जलाशय र सिमसारहरूमा पहिलेजस्तै चराहरूको संख्या देख्न चाहने हो भने सिमसार र तालहरूमा भौतिक संरचना निर्माण नगरी प्राकृतिक रूपमै संरक्षण गर्नुपर्ने उनको सुझाव छ।
१ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल मानवनिर्मित सबैभन्दा ठूलो ताल हो। कपिलवस्तुका दक्षिणका साविकका १३ गाविस र एउटा नगरपालिकासँगै भारतको समेत गरी ६ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने उद्देश्यले वाणगंगा डिभिजनल सिँचाइ कार्यालयले वाणगंगा नदीबाट आएको पानीलाई लक्ष्मणघाटमा बाँध बाँधेर जगदिशपुरमा जलाशय निर्माण गरेको थियो।
४७ लाख घनमिटर पानी भण्डारण गर्न सक्ने गरी २०२८ सालमा निर्माण सुरू गरी २०३५ सालमा तालको निर्माण सम्पन्न भएपछि जलपंक्षीहरूले बासस्थान बनाउन थालेका थिए। त्यसपछि सन् २००३ मा सन् २००३ मा रामसार सूचीमा सूचीकृत भएको थियो।
२०७८ सालमा लुम्बिनी प्रदेश सरकारले पंक्षी आरक्ष (बर्ड सेन्चुरी) घोषणा गरेको यो तालको संरक्षणको जिम्मेवारी पछिल्ला पाँच छ वर्षयता कपिलवस्तु नगरपालिकाले जगदीशपुर जलाशय व्यवस्थापन बहुउद्देश्यीय सरोकार मञ्चलाई दिएको छ।
मञ्चले तालको जैविक विविधता र चराहरूको बासस्थान संरक्षण गर्नुको सट्टा हिउँद याममा तालभित्रै मोटरबोट सञ्चालन गर्न थालेपछि चराहरूको संख्या घट्न थालेको संरक्षणकर्मीहरूको आरोप छ। मञ्चले हरेक वर्ष तालको पश्चिम दक्षिण तर्फको ५ हेक्टर क्षेत्रफलमा रसी लगाएर मोटरबोट सञ्चालन गर्दै आएको छ।