कञ्चनपुरको भीमदत्त नगरपालिका- १४ वनकट्टीकी ३२ वर्षीया गीता कुँवर बुटवलको चौराह अस्पतालमा घाइते छोरा कुरेर बसिरहेकी थिइन्।
अस्पतालको आकस्मिक कक्षको ३ नं. बेडमा १२ वर्षीय नितिन सुतिरहेका थिए। गीता र नितिन १० जनाको ज्यान जाने गरी बुधबार राति कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै भएको कहालीलाग्दो बस दुर्घटनाका भुक्तभोगी हुन्।
मध्यराति साढे १२ बजेतिर भएको उक्त बस दुर्घटनामा परी १० जनाको मृत्यु भइसकेको छ भने गीता र नितिनसहित ३० जना घाइते छन्।
नितिनको निधारमा चोट लागेको छ। निधारमा चोट लागेको र बारम्बार बान्ता भइरहेकाले कपिलवस्तुको सञ्जीवनी अस्पतालले उनलाई थप उपचारको बुटवल रिफर गरेको हो।
बिहीबार बिहानैदेखि उनको चौराह अस्पतालमा उपचार भइरहेको छ। गीता भने सकुशल छन्।
यति ठूलो दुर्घटनामा परेर पनि शरीरमा बाहिर देखिने गरी उनलाई कुनै चोट लागेको छैन। ३२ वर्षीया गीता काठमाडौं जान भन्दै बुधबार दिउँसो महेन्द्रनगरबाट गाडी चढेकी थिइन्।
उनका श्रीमान नरेश कुँवर धनगढीमा सशस्त्र प्रहरीमा जागिरे छन्। लामो समयदेखि ढाड दुख्ने समस्याबाट पीडित गीता सशस्त्र प्रहरी अस्पताल नि:शुल्क उपचार हुने भएपछि काठमाडौं हिँडेकी थिइन्।
वनकट्टीमा कक्षा ६ मा पढ्दै गरेका छोरा नितिनलाई अब भने काठमाडौंमै पढाउने उनको चाहना छ। आफ्नो उपचार पनि गर्ने र छोरालाई पढाउने स्कुल पनि हेर्ने भन्दै नितिन पनि आमा गीतासँगै काठमाडौं जान हिँडेका थिए।
सुनौलो महाकाली यातायातको सु-प-प्र-०२-००१ ख ००९८ नम्बरको बस गीता र नितिनसहित २७ जना यात्रु र ३ जना बसका कर्मचारी बोकेर बुधबार दिउँसो ३ बजेतिर महेन्द्रनगरबाट छुटेको थियो।
साँझ साढे आठ बजेतिर कोहलपुरमा आएर बसका कर्मचारी र यात्रुहरू होटलमा खाना खाए। एक महिना अघि मात्रै ससुरा रणबहादुर कुँवरको मृत्यु भएकोले गीताले होटलको खाना नखाने भन्दै घरबाटै रोटी बनाएर ल्याएकी थिइन्। छोरासहित बसमै बसेर उनले रोटी खाइन्।
सबै यात्रुले खाना खाएपछि नौ बजेतिर बस कोहलपुरबाट पुनः गन्तव्यका लागि हिँडेको थियो। गीत बजाउँदै ठाउँठाउँमा चेकजाँच गराउँदै बस अघि बढिरहेको थियो।
रातिको सवा १२ भइसकेको थियो। निदाइरहेको छोरा नितिनलाई काखमा सुताएर गीता भने जागै थिइन्। गाडीभित्र धेरैजसो यात्रुहरू निदाएका थिए। ननिदाएकाहरू मोबाइलमा गीत सुन्दै बसेका थिए।
आफ्नै रफ्तारमा गुडिरहेको बस एक्कासि सडकको दायाँबायाँ गर्न लाग्यो। चार पाँच पटक दायाँबायाँ गर्दै भित्तातर्फ ठोक्किएला जस्तै भयो। गीताले सुतिरहेको छोरालाई उठाएर हातले दह्रो गरी च्याप्प समातिन्।
दायाँ-बायाँ ढल्मलिएको बस भित्तातर्फ नठोक्किई सिधै बाटोबाट तल पल्टिएर खोल्सामा बजारियो।
‘केहीबेर दायाँ-बायाँ ढल्मलिएको गाडी एक्कासि उडेजस्तै गरेर तल झर्यो, चार पाँचपटक ढकढक गर्दै सिधै खोल्सामा बजारियो,’ गीताले भनिन्।
काखमा च्यापेर राखेका नितिन खोल्सामा बस बजारिँदासम्म गीताको काखबाट फुत्किइसकेका थिए।
सडकबाट गाडी झरेको थाहा पाएपछि बीचमा एकपटक बेहोसजस्तै बनेकी गीताको पनि बस बजारिएपछि होस खुलेको थियो। होस खुलेपछि उनले छोरालाई बोलाउँदै चिच्चाइन्। नितिन नितिन्.... चार पाँच पटक चिच्याएपछि नितिनले पनि क्याबिनतिरबाट ममी म यहाँ छु भन्दै जवाफ फर्काए।
‘गाडीले बल्ड्याङ मारेपछि छोरा मेरो काखबाट फुत्किएर क्याबिनभित्र उछिट्टिएको रहेछ, चिच्याएर खोज्दै जाँदा चालकको सिटमाथि बसेको भेट्टाएँ,’ उनले भनिन्।
गीताले टेलिभिजनहरूमा चलचित्र हेर्दा दुर्घटनामा परेका सवारी साधनमा आगलागी भएका दृश्य देखेकी थिइन्। दुर्घटनामा परेको बस वरिपरि बसे आगलागी हुन सक्ने भन्दै घाइते छोरा बोकेर खोल्सैखोल्सा केही पर गएर बसिन्।
खुट्टामा लगाएका चप्पल छुटिसकेका थिए, मध्यरातमा खाली खुट्टा खोल्सैखोल्सा छोरालाई बोकेर भागिरहेकी गीताले लेदरको सानो कालो ब्याग घाँटीमै भिरिरहेकी थिइन्। ब्यागभित्रै मोबाइल थियो।
दुर्घटनाग्रस्त बसदेखि केही पर पुगेपछि मोबाइलबाट श्रीमानलाई फोन गरिन्। पटकपटक फोन गरिरहे पनि ड्युटीमा रहेका श्रीमानले फोन उठाएनन्। श्रीमानको फोन नउठेपछि घरमा रहेका जेठाजूलाई फोन गरेर आफूहरू दुर्घटनामा परेको जानकारी दिइन्।
आफैं दुर्घटनामा परेकी गीताले एक जना घाइते पुरूषलाई तानेर बसबाट बाहिर निकालेकी थिइन्। घाइतेहरू छटपटिँदै गुहार मागिरहेका थिए। रगताम्मे भएका यात्रुहरू चिच्याइरहेका थिए। चार जनाको शव बाहिर उछिट्टिएको थियो। बस बजारिएसँगै प्राणपखेरु उडिसकेकोले होला उनीहरूमा कुनै चलमल थिएन।
‘एक जना बहिनी त आमालाई उपचार गराउन भन्दै हिँड्नुभएको थियो, बिचरा आफ्नै मृत्यु भयो,’ घटनास्थलको अवस्थाबारे बताउँदै गीताले भनिन्।
औषधि खाएर ढाडको दुखाइ कम गरिहेको र आफैं दुर्घटनामा परेकोले अरू यात्रुहरूलाई बाहिर निकाल्न सक्ने हिम्मत उनीसँग थिएन। सँगै घाइते छोरा थिए। सामान्य अवस्थाका अरू घाइते बाटोमा निस्किन थालेपछि घाइते छोरालाई लिएर माथि उक्लिएकी थिइन्।
‘अप्ठ्यारो भिरमा घाँसको गाँज समाउँदै बाटोसम्म आइपुगिम्। माथि उक्लिँदै गर्दा अरू बसका यात्रुहरू उद्धारका लागि झर्दै थिए, प्रहरी भने हामी बाटोमा पुगिसकेपछि बल्ल आएका हुन्,’ उनले भनिन्।
माथि निस्किँदै गर्दा छोरा आत्तिइरहेका थिए। ममी म बाँचेँ, ममी म बाँचेँ भनिरहेका थिए। उनको छोरालाई बोक्न अरू कसैले मानेनन्। ढाडको समस्याले उनी आफैंले बोक्न सक्दिनथिन्।
‘मेरो बाबु तेक्वान्दो खेलाडी हो, आफैं हिँडेर माथि पुग्छ केही भएको छैन भन्दै छोराको मनोबल बढाइरहें, टाउकोबाट रगत बगिरहेको थियो उद्धारमा जुटिरहेका अरू गाडीका यात्रुसँग रूमाल मागेर रगत बगिरहेको टाउकोमा बाँधिदिएँ,’ गाडी पल्टिँदै गर्दा अब मरिने भयो भन्दै भगवान र मृत्यु भएका ससुरा रणबहादुरलाई पुकारिरहेकी गीता उनीहरूको आशीर्वाद र कृपाले यति ठूलो दुर्घटनाबाट आमा छोरा दुबै जना बाँच्न सफल भएको बताउँछिन्।
‘हामी आमा छोरा त सँगै सिद्धिने भयौं घरमा रहेकी ५ वर्षकी छोरी, सासू र श्रीमानलाई सम्झिएँ, मृत्यु भएका ससुरा बुवाको अनुहार आँखा वरिपरि नाचिरह्यो, ससुरा र भगवानलाई पुकारें उहाँहरूकै कृपाले आज हामी जीवित रह्यौं भन्ने लागेको छ,’ गीताले भनिन्।
गुल्मीको मालिका गाउँपालिका वडा नं. ७ घमिरका अर्जुन भनिने मोतीबहादुर कार्की गाडी लाइनमा लागेको १२ वर्ष पुग्यो। यसअघि विभिन्न सवारी साधनमा सहचालक बनेका अर्जुन उक्त बसमा सहचालक बनेको २ महिनामात्रै पुगेको थियो।
दुर्घटनामा परी घाइते भएका अर्जुनको पनि चौराह अस्पतालमै उपचार भइरहेको छ। कोहलपुरमा खाना खाएर बुधबार राति ९ बजेतिर गन्तव्यका लागि छुटेको उक्त बस ब्रेक फेल भएका कारण दुर्घटनामा परेको अर्जुनले बताए।
राति सबै यात्रुहरू आफ्ना सिटमा आरामले बसिसकेपछि आफू क्याबिनमा बसेको र त्यही बेला एक्कासि ब्रेक फेल भएपछि गाडी दुर्घटनामा परेको उनले बताए।
‘मध्यरात भइसकेको थियो, धेरै यात्रुहरू निदाइसकेका थिए, कतिपय मोबाइलमा गीत सुन्दै बसेका थिए। ओरालो सडकमा एक्कासि बसको ब्रेक फेल भयो। गुरूजीले ब्रेक लगाउने धेरै प्रयास गर्नुभयो गाडी कहिले सडकको दायाँ त कहिले बायाँ हुँदै एक्कासि सडकबाट तल उछिट्टियो,’ अर्जुनले भने।