पूर्वीरूकुमको पुथा उत्तरगंगा गाउँपालिका–११ सेराकी कुमारी बुढामगर भेडाको बथानसँगै हुर्किइन्।
मगर समुदायको बाहुल्य रहेको सेराका बासिन्दाको पुर्ख्याैली पेशा नै भेडा पाल्ने र त्यसैको ऊन (रौं)बाट राडी–पाखी बुनेर बिक्री गर्ने थियो।
जान्ने भएदेखि कुमारीले पनि भेडाको ऊनबाट धागो बाट्न र राडीपाखी बुन्ने गर्थिन्। सात आठ वर्षदेखि नै कुमारीलाई बुवाआमाले ऊनबाट धागो बाट्न र राडी पाखी बुन्न लगाउँथे।
भेडाको शरीरबाट निकालिएको ऊन सफा गर्ने, सुकाउने, साँचामा राखेर मसिनो बनाएको ऊनबाट धागो बाट्ने र राडी पाखी बुन्ने। यी सबै सीप उनले बुवा–आमाबाटै सिकिन्।
वर्षभरि घरमा बसेर बुनेका राडीपाखी बिक्री गर्न कुमारीका बुवा गाउँका अरू पुरूषहरूसँग हिउँदयाममा तराई झर्थे। घरका पुरूषहरू राडीपाखी बिक्री गर्न तराई झरेका बेला महिलाहरू भने घरधन्दा सँगै राडीपाखी बुन्ने गर्थे।
सानो उमेरदेखि बुवाआमाले सिकाएको पुर्ख्यौली पेशाको सीपलाई कुमारीले अहिले भने परिवार पाल्ने उद्यम बनाएकी छन्। अहिले उनी वर्षभरि घरमै बसेर बुनेका राडी–पाखी बिक्रीका लागि विभिन्न मेला महोत्सव पुग्ने गर्छिन्।
पछिल्लो ६ दिनदेखि कुमारी राडी पाखी बोकेर बुटवल आएकी छन्। बुटवल मण्डपमा जारी लुम्बिनी एक्स्पोमा राखिएको कृषि पेभेलियनमा कुमारीले राडी–पाखी बिक्रीको लागि स्टल लिएकी छन्। कुमारीले २१ वटा राडी लिएर आएकी थिइन्। एक्स्पो अवलोकनको लागि आउनेहरूले राडी–पाखीबारे चासो दिएर सोध्ने गरे पनि अहिलेसम्म ३/४ वटा मात्रै बिक्री भएको उनले बताइन्।
‘बिक्री त धेरै भएको छैन, स्टल अवलोकनको लागि आउनेहरूलाई राडीपाखीबारे जानकारी दिन पाएकी छु,’ ऊनबाट धागो बाट्दै गरेकी कुमारीले भनिन्।
दिनभरि खाली बस्नुभन्दा उनले स्टलमै धागो बाट्ने र राडी बुन्ने पनि गर्छिन्।
‘यही मेलामा बसेर एउटा राडी बुन्छु भन्ने सोचेकी छु,’ उनले भनिन्।
पुर्ख्याैली पेशालाई उद्यम बनाएर हिँडे पनि मेहनतअनुसारको आम्दानी लिन भने नसकिएको उनको अनुभव छ। कुमारी आफूले घरमा भेडा पालेकी छैनन्। गाउँका किसानसँग प्रतिकिलो २ सय रुपैयाँमा ऊन किन्छिन्। भेडाको शरीरबाट निकालेको ऊनलाई घरमा ल्याएर साबुनपानीले राम्रोसँग धुनुपर्छ। राम्रोसँग धोइएन भने ऊनमा भेडाको गन्ध रहन्छ। राम्रोसँग धोएको ऊनलाई सुकाएपछि साँचोमा राखेर मसिनो बनाएर बल्ल धागो बाट्नको लागि तयार हुन्छ।
ऊनबाट चर्खामा धागो बाट्न समय लाग्छ। एककिलो ऊनको धागो बाट्न दुई दिन लाग्छ। दुई पाटाको एउटा राडी बनाउन एक धार्नी (साढे दुई किलो) काँचो ऊन चाहिन्छ भने ऊन सफा गर्नेदेखि राडी बनाउन एकहप्ता समय लाग्छ। मिहिनेतको तुलनामा अत्यन्त न्यून आम्दानी हुने कुमारीले गुनासो गरिन्।
‘एउटा राडीको लागि पाँच/छ सयको ऊन नै लाग्छ, एक हप्ताको मेहनत जोड्ने हो भने ६÷७ हजारमा बिक्री गर्नुपर्ने हो तर, दुई पाटाको राडीलाई १५ सय तिर्न पनि उपभोक्ताहरूले गाह्रो मान्नुहुन्छ,’ कुमारी गुनासो गर्छिन्।
सबै काम हातैले गर्नुपर्ने भएकोले धेरै मेहनत गरे पनि त्यसअनुसारको प्रतिफल नहुने गरेको उनले सुनाइन्।
‘मेहनत नै धेरै गर्नुपर्छ, सबै हिसाब गर्दा एकदिनको ४८ रुपैयाँमात्रै कमाइ हुने रहेछ,’ उनले भनिन्।
राडीलाई पाटा अनुसार मूल्य पर्छ। एउटा पाटामा एक फिट चौडाइ हुन्छ। जति ठूलो चौडाइको राडी बनाउने हो पाटा जोड्दै बनाउनुपर्छ। बिक्री गर्दा पनि जोडेका पाटाको संख्याको आधारमा मूल्य लिने गरेको उनले बताइन्।
एक पाटाको राडीलाई एक हजारमा बिक्री गर्ने उनले दुईदेखि चारवटा पाटासम्म १५ सयदेखि ३ हजार रुपैयाँ सम्ममा बिक्री हुने बताइन्।
आफ्नै देशमा पाइने कच्चा पदार्थबाट उत्पादन हुने हुँदा राडीपाखी किन्न उनी अनुरोध गर्छिन्। यसले स्वदेशी उत्पादन प्रवर्द्धन हुने मात्र होइन, विदेश पैसा जान रोकिने उनको बुझाइ छ। स्टल हेर्न आउनेहरूलाई उनी यही अनुरोध गर्छिन्।
कुमारी राडी बिक्री गर्न बुटवलसँगै, कपिलवस्तु, दाङ, गुल्मीको रिडी, नेपालगञ्ज र काठमाडौंसम्म पुग्ने गर्छिन्। वर्षमा ४०, ५० वटा सम्म राडी बेच्ने कुमारीले सबैभन्दा धेरै गुल्मीको रिडीमा लाग्ने एकादशी र माघे संक्रान्ति मेलामा बिक्री हुने बताइन्।
‘रिडीमा एकैजनाले २०/२५ वटा सम्म लैजान्छन्, त्यो बेला राम्रै आम्दानी हुन्छ, जाडोको लागि प्रयोग गरिने भएकोले गर्मी मौसम र तराईका जिल्लामा त्यति धेरै बिक्री हुँदैन,’ उनी भन्छिन्।
बुटवलको लुम्बिनी एक्स्पोमा धेरै बिक्री नभए पनि प्रचार होस् भनेर आएको उनले बताइन्।
भेडाको ऊनबाट बनाइएको राडीपाखी विभिन्न जातजातिका धार्मिक कार्यहरूमा पवित्र मानिन्छ। पहिले घरमा आउने पाहुनाहरूलाई परालको गुन्द्रीमाथी राडीपाखी ओछ्याएर स्वागत गर्ने चलनचल्ती थियो।
कुनै पनि रसायन प्रयोग नगरिएकोले यसलाई स्वास्थ्यको हिसाबले पनि लाभदायक मानिन्छ। न्यानो हुने भएकोले जाडो याममा गलैँचा तथा चकटीको रूपमा पनि यसको प्रयोग गर्न थालेको उनले बताइन्।
हातैले बुनिने हुँदा बजारमा पाइने गलैँचा र चकटीको तुलनामा बलियो र टिकाउ हुने दाबी गरिन्। कतिपय समुदायमा मृत्यु संस्कारमा राडीपाखी अनिवार्य मानिन्छ। विभिन्न पूजाआजा, पुराण जस्ता धार्मिक कार्यहरूमा पुराेहितहरूलाई चोखो राडी ओछ्याएर राख्ने प्रचलन रहेको उनले बताइन्।
तर पछिल्लो समय सस्तो र हेर्दा नै चिटिक्क देखिने विदेशबाट आयातित गलैंचा र चकटीको प्रयोगले गाउँघरमा यसरी बुनिने राडी पाखीहरूको प्रयोग हराउँदै जान थालेको चिन्ता उनलाई छ।
‘गाउँघरमा जति धेरै बिक्री हुन्छ बजारमा त्यति हुँदैन, बजारमा बलियो र स्थानीय सामग्री भन्दा पनि हेर्दा राम्रो देखिने सामानहरू नै प्रयोग गर्नुहुन्छ,’ कुमारी भन्छिन्।
बजारीया सामानको प्रयोगले मौलिक तथा अर्गानिक वस्तुहरूको विशेषता र महत्त्व हराउँदै गएको उनले बताइन्।
कुमारी सेरामा रहेको एकता कृषक समूहकी सदस्यसमेत हुन्। समूहमा कुमारीजस्तै गाउँका धेरै महिला र पुरूषहरू पनि सदस्य बनेका छन्। समूहमा रहेका सदस्यहरूलाई युनाइटेड मिसन टु नेपाल, पुथा उत्तरगंगा गाउँपालिका, मिक नेपाल र एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयले सीपमूलक तथा क्षमता विकासका तालिमहरूमा सघाउँदै आएको छ।
कुमारीलाई राडी पाखी बुन्न र बिक्री गर्न श्रीमान ओमबहादुरले सघाउने गर्छन्। अहिले भने ओमबहादुरलाई घरधन्दा र छोराछोरीहरुको हेरचाहको लागि घरमै छोडेर उनि भाइ यमबहादुर बुढामगरको साथमा बुटवल आएकी हुन्।
‘घरमा साना छोराछोरी छन् । ठूलो छोरा अपाङ्गता छ । उसलाई खुवाउने र दिसापिसाब पनि गराइदिनुपर्छ, एक जनाले घर छोड्नै मिल्दैन,’ कुमारीले भनिन्।