अमेरिकाले इरानको फर्दो न्युक्लियर परियोजनामा ३० हजार पाउन्ड भार भएका ६ वटा बम खसालेको छ।
फर्दो ठूलो पहाडको २६२ देखि २९५ फिट तल रहेको आणविक भट्टी हो। यही भट्टी ध्वस्त बनाउन अमेरिकाले जिबियू ५७-बंकरभेदी बम खसालेको न्युयोर्क टाइम्सले जनाएको छ। यो बम बोकेको बि२-बमवर्षक विमान ३७ घन्टासम्म लगातार उडेर फर्दो पुगेको थियो।
यो बम खसालेपछि फर्दो काम नलाग्नेगरी ध्वस्त भएको हुन सक्ने आकलन गरिएको टाइम्सले जनाएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पनि आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै फर्दो परियोजना ध्वस्त भएको संकेत गरेका छन्। तर यसबारे यकिन तथ्य आउन बाँकी छ।
त्यस्तै, अमेरिकाले अर्को दुई न्युक्लियर परियोजना नतान्ज र इस्फहानमा सबमरिन (पनडुब्बी) बाट ३० वटा टमाहक क्रुज मिसाइलले आक्रमण गरेको छ।
टमाहक जमिनमा आक्रमण गर्ने शक्तिशाली अमेरिकी मिसाइल हुन्। यी मिसाइल समुद्रमा रहेका जहाज वा पानीमुनि रहने सबमरिनबाट पनि प्रहार गर्न सकिन्छ। १५०० किलोमिटर टाढासम्म प्रहार गर्न सकिने यी मिसाइल जमिनभन्दा केही माथि मात्र उड्ने हुनाले शत्रुपक्षको रडारले देख्न सक्दैन।
सुरुमा १९८० तिर अमेरिकाले विकास गरेका टमाहक मिसाइल पछिल्ला वर्षहरूमा थप आधुनिक र सशक्त बनाउँदै लगेको छ।
इसराइलले पछिल्ला दुई हप्तादेखि इरानमा जारी राखेको आक्रमणले उसको न्युक्लियर परियोजनामा खासै ठूलो क्षति पुर्याउन नसकेको आकलनपछि अमेरिकाले आफै आक्रमण गरेको हुनसक्ने टाइम्सले जनाएको छ।
इसराइलको आक्रमणले इरानको न्युक्लियर बम बनाउने क्षमतालाई जम्मा ९ महिना जति पछाडि धकेलेको अमेरिकी आकलन भएको पनि टाइम्सले जनाएको छ। राष्ट्रपति ट्रम्पले इरानलाई कुनै पनि हालतमा न्युक्लियर बम बनाउन नदिने बताउँदै आएका थिए।
इरानले फर्दो परियोजना पहाडमुनि भूमिगत रूपमा सञ्चालन गरेकोले त्यहाँ आक्रमण गर्न कठिन छ। इजरायलसँग फर्दोमा आक्रमण गर्ने बम पनि छैन। ती बम बोकेर उड्ने भीमकाय सैनिक जहाज पनि छैनन्। अमेरिकाले आफूसँग भएको आधुनिक र भीमकाय बि-२ बम्बर जहाज प्रयोग गरेर फर्दोमा ती बम खसालेको हो।
अमेरिकाको जिबियू–५७ बंकरभेदी बम के हो? कसरी गर्छ यसले काम?
आफूले नगरेको कामको पनि जस लिने बानी भएका ट्रम्पले यो बम आफ्नो पालामा बनाएको दाबी गरेका छन्। तर 'फाइनान्सियल टाइम्स' का अनुसार बम ट्रम्पको पालामा बनाइएको होइन।
सन् २००३ मा इराकमाथि आक्रमण गर्दा त्यति बेला अमेरिकासँग रहेको सबभन्दा शक्तिशाली बमले पनि इराकका केही बंकर भत्काउन सकेको थिएन। तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुसले अझ शक्तिशाली बम बनाउन आदेश दिएका थिए। त्यही आदेशपछि अमेरिकाले यो बम बनाएको हो।
सन् २००७ मा पहिलोपटक परीक्षण गरिएको यो बम सुरूमा २० वटा बनाइएको थियो। त्यसपछि केही सुधार गरिएको भए पनि अहिलेसम्म युद्धमा प्रयोग भएको छैन।
बमको वजन ३० हजार पाउन्ड (करिब १३.६ टन) छ। तर करिब ८० प्रतिशत वजन धातुको खोलले ओगट्छ। भित्र रहेको विस्फोटक पदार्थको वजन २० प्रतिशत मात्र छ। विशेष खालको अत्यन्तै बलियो स्टिलको खोल भएको यो बम धेरै माथिबाट खसालिन्छ। बमको वजन र उचाइका कारण उत्पन्न हुने शक्तिले अत्यन्तै बलियो र बाक्लो कंक्रिटको बंकर पनि छेड्न सक्छ भनेर बेलायती पत्रिका 'द इकोनोमिस्ट' ले लेखेको छ।
बममा जडित प्रविधिका कारण बाक्लो कंक्रिट छेडेर खाली ठाउँमा पुगेपछि विस्फोट हुन्छ। यसले धेरै गहिरा बंकर पनि ध्वस्त पार्छ। कंक्रिटको छतमुनि धेरै तलाको संरचना बनाइएको छ भने तीमध्ये कुन तलामा पुगेपछि बम विस्फोट हुने भनेर निर्धारण गर्न मिल्छ।
भूमिगत सैन्य बंकर बनाउन प्रयोग हुने सामान्य खालको कंक्रिट करिब ६० मिटर (करिब २०० फिट) बाक्लो भए पनि यो बमले छेड्न सक्ने मानिन्छ। तर इरानले पछिल्ला केही वर्षमा अझ बलियो कंक्रिट बनाउने प्रविधि विकास गरेको मानिँदै आएको छ। फर्दोको बंकर पनि त्यही बलियो कंक्रिटले बनेको हो भने यो बमले ६० मिटरसम्म छेड्न सक्दैन। अमेरिका आफैले पनि धेरै बलियो कंक्रिट बनाएको छ।
फर्दोको बंकर कुन गुणस्तरको कंक्रिटले बनेको हो भन्ने यकिन नभएकाले पनि यो बमले कति छेड्छ भन्ने टुंगो नभएको हो।
उदाहरणका लागि — सैन्य बंकर बनाउन प्रयोग हुने सामान्य खालको कंक्रिटले हरेक वर्गइन्चमा करिब पाँच हजार पाउन्डको शक्ति धान्छ भनिन्छ। दस हजार पाउन्डको शक्ति धान्ने कंक्रिट भने यो बमले करिब आठ मिटर मात्र छेड्न सक्ने मानिन्छ।
यो बमले फर्दोको बंकर कति मिटरसम्म छेड्छ भन्ने अमेरिकी सैन्य अधिकारीहरूलाई नै थाहा छैन। त्यही भएर उनीहरूले ट्रम्पलाई ठोकुवा गरेर फर्दोको बंकर ध्वस्त पार्न सकिन्छ भन्न सकेका छैनन्।
फेरि यो बम जिपिएस प्रविधिमा आधारित छ। यो प्रविधिलाई निस्क्रिय पनि पार्न सकिन्छ। अहिले इरानी आकाशमा इसराइलको पूर्ण नियन्त्रण छ।
अमेरिकाले बम खसालेको इरानका तीन परमाणु परियोजनाबारे थाहा भएका कुरा
नतान्ज
नतान्जन इरानको राजधानी तेहरानबाट करिब २५० किलोमिटर दक्षिणमा अवस्थित छ। ९ दिनको अवधीमा नतान्जमा इसराइलले पनि पटकपटक हमला गरेको छ।
नतान्ज इरानको सबैभन्दा ठूलो युरेनियम संबर्द्धन सुविधा मानिन्छ। विश्लेषकहरूका अनुसार, यहाँ युरेनियमलाई परमाणु इन्धनमा रूपान्तरण गर्ने प्रविधिको विकास र सेन्ट्रीफ्यूजहरूको निर्माण हुन्छ।
नतान्जमा ६ वटा जमिनमाथिका भवन र ३ वटा भूमिगत संरचना रहेको भनेर अमेरिकी मिडिया सिएनएनले लेखेको छ। न्युक्लियर थ्रेट इनिसियटिभ (एनटिआइ)ले नतान्जमा दुई भूमिगत संरचनाले ५०,००० सेन्ट्रीफ्यूज राख्न सक्ने संरचना रहेको भनेको छ।
अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आइएइए)का अनुसार नतान्जको पाइलट फ्युल इनरिचमेन्ट प्लान्टमा ६०% शुद्धतासम्म युरेनियम संवर्धन भइरहेको थियो। हतियार-ग्रेड युरेनियम ९०% शुद्धताको हुन्छ।
फर्दो
फर्दो पहाडमुनी रहेको आणविक परियोजना हो। यो इरानी सहर कोमनजिकै छ। यो भट्टीको प्रकृतिबारे धेरै कुराहरू अझै अज्ञात रहेको सिएनएनले लेखेको छ।
यो पहाडको २६२ देखि २९५ फिट तल रहेको भनिएको छ। यो भट्टी ध्वस्त बनाउने बम अमेरिकासँग मात्रै रहेको मानिन्छ। फर्दोमा पनि ६० प्रतिशत शुद्धताको युरेनियम उत्पादन हुन्छ भनेर सिएनएनले लेखेको छ। यो सुविधामा २ हजार ७०० सेन्ट्रीफ्यूज छन्।
इस्फहान
इस्फहानको आणविक भट्टी मध्य इरानमा अवस्थित छ। यो इरानको सबैभन्दा ठूलो परमाणु अनुसन्धान परियोजना हो। यसलाई परमाणु हतियारको केन्द्र मानिन्छ। यो १९८४ मा चीनको सहयोगमा स्थापना भएको थियो। यहाँ तीन हजारभन्दा बढी परमाणु वैज्ञानिक कार्यरत छन्।
इस्फहानमा तीन साना चिनियाँ अनुसन्धान रियाक्टर, एक कन्भर्सन सुविधा, इन्धन उत्पादन प्लान्ट, जिरकोनियम क्ल्याडिङ प्लान्ट, र अन्य सुविधा तथा प्रयोगशालाहरू रहेको सिएनएनले जनाएको छ।