काठमाडौंको कीर्तिपुर नगरपालिका पाँगा क्षेत्रमा डेराका कोठाबाट गैरकानुनी रूपमा कल सेन्टर सञ्चालन गरी रकम असुली गर्ने एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घर भई हाल कीर्तिपुरको पाँगा बस्ने २० वर्षीय मिलन थापा छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार कोठाबाटै गैरकानुनी रूपमा कल सेन्टर सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा विशेष प्रहरी टोलीले थापालाई पक्राउ गरेको हो।
पक्राउ परेका थापाको साथबाट तीन हजार सात सय थान सिमकार्ड, विभिन्न कम्पनीका ल्यापटप २३ थान, विभिन्न व्यक्तिका नागरिकता २७ थान, मतदाता परिचयपत्र थान एक तथा राहदानी एक थान बरामद भएको छ।
घटनाबारे आवश्यक अनुसन्धान कार्य भइरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए।