गत फागुन तेस्रो साता अनामिका (परिवर्तित नाम) सदाको विवाह टुंगो लागेको थियो।
धनुषाको लक्ष्मीनिया गाउँपालिकाकी जीवनको बिहे धनुषाधाम नगरपालिका, तेजनगरका महेश सदासँग हुने पक्का भयो।
उनका आमाबुवा खुब खुसी भए। उनीहरू बिहेका सामान किन्ने तयारी गर्दै थिए। आफन्तलाई निम्तो पठाउने तयारी पनि सुरू भएको थियो।
मधेसी समुदायको परम्पराअनुसार बेहुलीका बाबु र आफन्तहरू छेका अर्थात फलदानका लागि फलफूल, मिठाइ, लत्ताकपडा इत्यादि सामान लिएर बेहुलाको घर पुगे।
छेका भनेको बिहेको अन्तिम टुंगो लगाउने विधि हो। छेकामा बेहुली पक्षले बेहुलालाई विधिपूर्वक फलफूल, लत्ताकपडा र सुन समेत दिने चलन छ।
छेका सुरू हुनुअघि बेहुलाका परिवारजनले दाइजोको कुरा निकाले। बेहुलीका बुवा शत्रुधनले साइकल, फर्निचर, भाँडावर्तन, लत्ताकपडा लगायतका केही सामान दिने बताए।
बेहुलाका परिवारजनको चित्त बुझेन। उनीहरूले शत्रुधनले दिन्छु भनेका सामानमा मोटरसाइकल, एक तोला सुन र ३६ तोला चाँदी थप्नु पर्ने माग गरे।
जीवनका बुवाले त्यति धेरै दाइजो दिन नसक्ने बताए। छलफल भयो। उनले मोटरसाइकल दिन्छौँ तर सुनचाँदी दिन सक्दैनौँ भने। कुरा मिलेन। बेहुला पक्षकाले बिहे नगर्ने निर्णय सुनाए। फलदान भएन। अर्थात बिहे हुने भएन।
महेशले १२ कक्षा पास गरेको र उनका बुवा विदेशमा पैसा कमाउने रोजगारी रहेकाले मागेजति दाइजो दिनुपर्ने अडान राखेको जीवनकी आमाले बताइन्।
अन्ततः आमाबुवा बिहे रद्द गरेको निर्णय सुनाएर घर फर्के।
‘दुबैतर्फबाट मन परेपछि केटापक्षकै जोडबलले हतारमा बिहेको तयारीमा लागेका थियौँ। देखादेख हुँदा दाइजोको कुरा चलेको थिएन। आफूले सक्नेजति सामान दिने मन बनाएका थियौँ,’ जीवनकी आमाले भनिन्, ‘गाउँमा छोरीको बिहे गर्न सकेनन् भन्लान् भनेर छाक कटाएर भए पनि मोटरसाइकल दिने भन्यौँ। सुनचाँँदी पनि मागेपछि दिन नसक्ने भयौँ।’
दाइजोका कारणले छोरीको बिहे रद्द भए पनि उनीहरू धेरै बोल्न सकेका छैनन्। आफ्नो सामाजिक बेइज्जती होला र छोरीको बिहे नहोला भन्ने उनीहरूलाई पीर छ।
जीवनकी आमाले केहीसमय अघि सेतोपाटीसँग भनिन्, ‘हाम्रो इज्जतसँग खेलवाड होला र अप्ठ्यारो पर्ला भनेर चुपचाप बसेका छौं। तर कहिलेसम्म चुप बस्ने हो र?’
उनका अनुसार फलदानका लागि किनमेलमा पचास हजार रुपैयाँ खर्च भएको थियो।
जीवनका आमाबुवाले मजदुरी गरेर अलिअलि गर्दै छोरीको बिहेका केही रुपैयाँ जम्मा गरेका थिए।
सम्पत्तिका नाममा लालपुर्जा नभएको जग्गा छ। त्यही जग्गामा टाटी र माटोले बनेको दुई कोठे घर छ। टाटी थोत्रो भएको छ। भ्वाङ टाल्न बोरा र पुराना कपडा टाँगेका छन्। त्यही घरमा ८ जनाको गुजारा चलाएका छन्। परिवारमा आमाबाबु र ६ जना छोरी छन्।
‘सबै छोरी जवान भइसके। सुत्ने कोठामै बाख्रा पनि बाँध्छौँ। मजदुरी गर्छौं। छोरीहरू पढ्न जान्छन्,’ आमा भन्छिन्, ‘धेरै दाइजो दिन सक्दैनौँ। एउटीको बिहे गर्न गाह्रो परेको छ, ६ वटीको कसरी गर्ने होला, मलाई त निद्रा पनि आउँदैन।’
जीवनकी छिमेकीको परिवारमा पनि बिहे रद्द भयो।
छिमेकीको बिहे गत वैशाख ३ गते हुने तय भएको थियो। क्षीरेश्वरनाथ नगरपालिका, मुसहरि टोलका एक युवकसँग तय भएको बिहे अन्तिम समयमा दाइजोकै कारण रद्द भयो।
केटाले दाइजोमा मोटरसाइकल दिनै पर्छ भनेपछि बिहे हुन सकेन।
‘बिहेको निम्तो गरिसकेका थियौँ। केटा पक्षले केटी काली छ, मोटरसाइकल दिने हो भने मात्रै बिहे गर्छु भन्न थाले। हामी दिन सक्दैनथ्यौँ,’ केटीकी भाउजूले भनिन्, ‘बिहे तोड्नुहुन्न भनेर हामीले २० हजार रुपैयाँ, साइकल र पलङ दिन्छौँ भन्यौँ, तर उनीहरूले मानेनन्।’
धनुषाको एक मुसहर बस्तीकासहदेवकी छोरीको पनि गत फागुनमा भारत मधुवनीका केटासँग बिहेको टुंगो लागेको थियो। अन्तिम समयमा केटाले मोटरसाइकल मागेपछि बिहे रद्द भयो।
त्यही बस्तीका अर्का बासिन्दा मिथिलेश २०७८ साल फागुनमा छोरीको बिहेमा दाइजो दिँदाको ऋणमा डुबेका छन्।
उनकी छोरीको बिहे भारतीय युवकसँग भयो। बिहेमा जम्मा १३ लाख रुपैयाँ खर्च भयो। मोटरसाइकल, पलङ, फर्निचर, सुनचाँदी र कपडासमेत गरी दाइजोमा मात्रै ६ लाख रुपैयाँ लाग्यो। कुल खर्चको आधाभन्दा बढी रकम चर्को व्याजमा ऋण लिएका छन्।
‘त्यति धेरै खर्च गर्ने हैसियत थिएन। छोरीको बिहे नगरी हुँदैन। साहुमहाजनसँग ऋण लिएँ,’ मिथिलेशले भने, ‘अरूका छोरीको बिहे रद्द भएको देखेर दाइजो दिनैपर्ने बाध्यता भयो।’
जानकारहरूका अनुसार एक दशक अघिसम्म मुसहर समुदायमा दाइजो लिनेदिने चलन थिएन। अन्य समुदायबाट मुसहरमा पनि दाइजो प्रथाले प्रवेश पायो।
आफ्नो समुदायको उत्थानका लागि सक्रिय पच्चु माझीका अनुसार मुसहरहरूले अरू समुदायबाट दाइजो लेनदेन गर्न सिकेका हुन्। उनले करिब २५ वर्षअघिसम्म त मुसहर समुदायमा केटापक्षले केटीपक्षलाई बिहे खर्च दिने चलन थियो।
उनले भने, ‘मेरी दिदीको बिहेमा भिनाजुले बिहे खर्च दिनुभएको थियो। अहिले अवस्था ठ्याक्कै उल्टो भएको छ। पढालेखा र पैसा भएकै मान्छेले दाइजो लिने गरेका छन्। गरिबहरूले पनि सिके।’
भन्छन्, ‘तेल हाल्न नसक्नेले पनि मोटरसाइकल दाइजो माग्छन्। मोटरसाइकल नदिने भए तिम्री छोरी बिहे गर्दिनँ भन्छन्।’
छोरीको विहेमा दाइजो दिनुपर्ने चलनले गरिब परिवारमा ठूलो तनाव सिर्जना हुने गरेको छ। यस्तो चलन हटाउन आफू एक्लैले नसक्ने भएकाले सरकार र नेताहरूको हस्तक्षेप जरूरी हुने यहाँका महिलाहरूले ठान्न थालेका छन्। स्थानीय र माथिल्लोस्तरका नेताहरूको प्रयास आफ्ना यस्ता समस्या समाधानतिर नहुनेमा भने उनीहरूले दुख व्यक्त गर्छन्।
जीवनकी आमालाई पनि त्यस्तै लाग्ने रहेछ। केहीदिन अघि सेतोपाटीसँग भनिन् - यो दाइजो माग्ने प्रथा त हटाइदिनु पर्यो। हाम्रा नेताहरूले चाहने हो भने हटाउन सक्थे। हामीलाई एक्लै त दाइजोको चलन हटाउन गाह्रो छ। तर सरकार र नेता हाम्रा समस्याको केही मतलब गर्दैनन्।
नेताहरूले कसरी दाइजोको चलन हटाउन सक्छन् भन्ने कुरा उनलाई ठ्याक्कै थाहा छैन। तर उनलाई उनीहरूले चाहे हटाउन सक्छन् भन्ने लाग्दो रहेछ।
उनकी छिमेबीले पनि यस्तो समस्या त नेताहरूले समाधान गर्नुपर्ने मत राखिन्।
'तपाईंहरूले नेतालाई भनेर दाइजो माग्ने कुरा हटाउन भनिदिनुस् न है,' उनले भनिन्, 'उनीहरूले कारबाही गर्न थाल्ने हो भने मान्छेले केटीको परिवारसँग दाइजो माग्न छोड्छन् होला।'
दाइजो प्रथा नियन्त्रणका लागि समुदायका अगुवाहरूले भूमिका निर्वाह गर्नुपर्ने पच्चुको सुझाव छ।
भन्छन्, ‘जातीय अगुवाले जनचेतना फैलाउने काम गर्नुपर्छ। कानून कार्यान्वयनको पाटो पनि बलियो हुनुपर्छ।’
दाइजोका कारणले विकराल रूप लिँदै गएको भए पनि समुदायका अगुवा र जनप्रतिनिधिहरूले बेवास्ता गरेको स्थानीयवासीहरूको गुनासो छ। उनीहरू गुनासो सुनाउन पनि डराउँछन्।
दाइजोमा निकै ठूलो रकम खर्च हुने गरेको छ। पैसा नहुनेहरू महँगो व्याजमा स्थानीय महाजनबाट ऋण लिन्छन्।
स्थानीवासी सुनिता सदाले भनिन्, ‘पोहोर साल छोरीको बिहेमा दाइजो दिन साढे सात लाख रुपैयाँ खर्च भयो। सयकडा तीन रुपैयाँ (३६ प्रतिशत) मा ऋण लियौँ। हाम्रो समस्यामा नेताहरूलाई मतलब नै छैन।’