नारायणघाट–मुग्लिन सडकको चौधकिलो भन्ने ठाउँमा तेल बोक्ने ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ।
अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार साँझ पौने ५ बजेतिर नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदश २–०३–००१ ख १३६६ नम्बरको तेल ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ३८२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा घाइते भएका भरतपुर–११ का ३३ वर्षीय सागर कुमालको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।
भरतपुर–१४ घर भई हाल भरतपुर–२ क्षेत्रपुर बस्ने ४७ वर्षका कविराज विश्वकर्माको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। चितवन मेडिकल कलेजमा उनको उपचार भइरहेको छ।
ठक्कर दिने ट्यांकरका चालक तनहुँको बन्दिपुर–१ का ३५ वर्षीय प्रेमबहादुर थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।