उमेरले ५२ वर्ष पुग्नै लागे नरेन्द्रराज राना। उनलाई प्रायः फुर्सद हुँदैन। बिहानदेखि बेलुकासम्म कार्यालयमा व्यस्त हुन्छन्। त्यसपछि बाँकी समय घरको काममा सक्दो सघाउँछन्।
उमेर जति ढल्किँदै छ, उति फूर्तिला र जोसिला देखिन्छन्। नरेन्द्र अपांगता भएका व्यक्ति हुन्।
उनलाई ओहोरदोहोर गर्न परिवारको अलावा ह्विलचेयरको सहारा चाहिन्छ। उनी आफ्नो सहारा ह्विलचेयरमै बसेर आफूजस्तै अपांगता भएकाहरूको ह्विलचेयर मर्मतको काम गर्छन्।
सुर्खेतको वीरेन्द्रनगरमा रहेको आइएनएफ परियोजनाको सहायक सामग्री (ह्विलचेयर) मर्मत केन्द्रमा उनको जागिर छ। नरेन्द्रले त्यहाँ जागिर गर्न थालेको १३ वर्ष भयो। आफूजस्तै समस्या भएका व्यक्तिहरूका लागि काम गर्न पाउँदा उनी खुसी महसुस गर्छन्।
'हामी जस्ता समस्या भएकाहरूलाई ह्विलचेयर महत्वपूर्ण सहारा हो। सहजै नपाइने हाम्रोजस्तो ठाउँमा बिग्रियो भने बनाउने ठाउँ पनि भेटिँदैन,' उनी भन्छन्, 'यस्तो अवस्थामा मैले यो काम गर्न पाउँदा खुसी छु।'
मर्मतसँगै उनी वितरण गर्नुअघि ल्याइएका ह्विलचेयरको पार्टपुर्जाहरू 'एसेम्बल' (जोडजाड) गर्छन्। अपांगता भएकाहरूका लागि चाहिने केही सहायक सामग्री उनी आफैं पनि बनाउँछन्।
नरेन्द्र परामर्शदाता पनि हुन्। अपांगता भएकाहरूलाई उपचार गर्ने ठाउँमा कार्यालयले परामर्श दिन पठाउँछ। उनी त्यस्ता व्यक्तिलाई आफ्नै उदाहरणसहित परामर्श दिन्छन्।
'परामर्शपछि उहाँहरूले तपाईंजस्तै केही गर्ने जाँगर पलायो भन्नुहुन्छ। त्यो कुराले मलाई अझ खुसी बनाउँछ,' उनले भने।
नरेन्द्र आफ्नै जीवन कम संघर्षपूर्ण छैन। उनले आत्मनिर्भर हुने बाटो पहिल्याउन केही पेसा पनि रोजे। युवा अवस्थामै भएको एउटा घटनाले उनको जीवन असहज बनाइदियो। कति समय उनी अरूकै सहारामा बिताए, निकै कष्ट भोगे।
सुर्खेतको चिंगाड गाउँपालिकाका नरेन्द्रलाई २४ वर्षको हुँदा चोट लागेको थियो। २०५२ सालमा गाउँमा सिँचाइ कुलो बनिरहेको थियो। स्थानीयबाटै निर्माण गर्नुपर्ने कुलोको कामअन्तर्गत एक दिन उनीहरूले श्रमदान गर्नुपर्ने भयो।
त्यो दिन नरेन्द्रको पालो थियो। कार्यस्थलमा आगो बालेर तताइएको ढुंगा पड्कियो। टुक्रा उछिट्टिएर उनको कम्मरमा लाग्यो।
'मैले तीन दिन काम गरिसकेको थिएँ। त्यो अन्तिम दिन थियो। कुलो बनाउने ठाउँमा समस्या बनेको ढुंगो फोड्न प्वाल पारेर आगो बालेर तताइएको थियो,' उनले भने, 'म नजिकै थिएँ। ढुंगा एक्कासि पड्कियो र एउटा टुक्रा आएर मेरो कम्मरमा लाग्यो।'
त्यो बेलाको चोटले उनी ओछ्यानबाट उठ्न नसक्ने अवस्था भयो। परिवारले उनलाई उपचारका लागि खाटमा बोकेर जिल्ला अस्पताल पुर्यायो। त्यहाँ उपचार नहुने भएपछि नेपालगञ्जको साविक अञ्चल अस्पताल लगियो। त्यहाँ पनि नभएपछि भारत, लखनऊको भुलभुलैया मेडिकल कलेज पुर्याइयो।
'लखनऊमा पनि चित्तबुझ्दो उपचार भएन। व्यवहार पनि नराम्रो महसुस भएकाले आफैं डिस्चार्ज मागेर घर फर्कियौं,' उनले भने।
चोटले थला परेको ६ महिना भएको थियो। तीन वर्षीया छोरी थिइन्। ती छोरी नरेन्द्रकै जिम्मामा छाडेर श्रीमतीले अर्को बिहे गरिन्।
'एकातिर ज्यानको अवस्था, अर्कातिर श्रीमतीले छोडेको पीडा। अनि आमा खोजिरहने छोरी देख्दा सुरूका दिनमा मानसिक रूपमै विक्षिप्त भएँ,' उनले भने।
घटना भएदेखि सुरूका तीन वर्षसम्म उनी अर्काको सहारामै बसे। यो अवधिमा अरू विभिन्न ठाउँमा गएर उपचार गराए। तर बस्न सक्नेसम्म पनि भएनन्।
उनका बुबा शिक्षक थिए। बुबाले हौसला दिन्थे। उपचारका लागि खर्च पनि जसोतसो जुटाउँथे। उपचारका क्रममा त्यति बेलै १९ लाख रूपैयाँ जति खर्च भएको नरेन्द्रले बताए।
तीन वर्षपछि गाउँकै एक जना आयुर्वेदिक औषधि दिने मान्छेसँग उनको सम्पर्क भयो। नरेन्द्रलाई उनले दिएको औषधिले ओछ्यानबाट उठेर बस्नेसम्म बनायो।
'१४ दिनसम्म बिहान–बेलुका खाने औषधि दिनुभयो। त्यो औषधि नियमित खाएपछि म बस्न सक्ने अवस्थामा पुगेँ,' उनले भने।
त्यसपछि उनलाई चोट लागेकै ठाउँमा फेरि संक्रमण हुन थाल्यो। कम्मरमुनि घाउहरू बनेर बल्झिन थाले। २०५६ सालमा आइएनएफ संस्थाले उनको गाउँमा घुम्ती स्वास्थ्य शिविर चलाएको थियो। त्यहाँ नरेन्द्रको समस्याको उपचार हुँदैन थियो। तैपनि उनी जोडबलले शिविर भएको ठाउँसम्म पुगे।
त्यहाँ पुगेर एक जना डाक्टरलाई आफ्नो समस्या सुनाए। ती डाक्टरले नरेन्द्रलाई पोखराको हरियो खर्क अस्पताल लिएर गए। त्यो अस्पतालमा उनले उपचार मात्र पाएनन्, आशाको किरण पनि देखे।
उनले त्यहाँ पुगेर बल्ल अपांगता भएको व्यक्ति म मात्र होइन रहेछु भन्ने महसुस गरे।
'पोखराको त्यो अस्पताल जानुअघिसम्म म सधैं निराश हुन्थेँ। यस्तो समस्या भएको मान्छे म मात्र छु भन्ने लाग्थ्यो। कहिलेकाहीँ त धेरै निरास सोच आउँथ्यो,' उनी भन्छन्, 'त्यहाँ गएपछि मजस्ता सयौं मान्छे देखेँ। कतिपय त ओछ्यानबाट माथि उठ्न नसक्ने पनि थिए। त्यसपछि मलाई आफू ह्विलचेयरमा भए पनि ओहोरदोहोर गर्न सक्ने त छु भन्ने लाग्न थाल्यो।'
त्यसपछि उनलाई जीवनमा आशा लागेको र केही न केही काम गरेर पालिन सक्छु भन्ने आत्मबल आएको उनी बताउँछन्।
हरियो खर्क अस्पतालमा नरेन्द्रको १८ पटक शल्यक्रिया भयो।
उनका अनुसार गाउँमा उपचार गर्दा स्वास्थ्यकर्मीले लगाएको सुईको टुप्पो भाँचिएर शरीरभित्रै छुटेको थियो। त्यो सुईको भाग जोर्नीमा पसेकाले १७ पटक शल्यक्रिया गर्दा पनि निक्लिएन। १८ औं पटकमा बल्ल निस्कियो। अनि त संक्रमण भएर उनलाई सताएको घाउ १४ दिनमै निको भयो।
पोखरामै हुँदा उनलाई एक जना डाक्टरले विदेशमै लगेर उपचार गरिदिन्छु पनि भनेका थिए। नरेन्द्र मानेनन्।
'विदेशमा उपचार गरेपछि म उभिएर हिँडडुल गर्न सक्ने हुन्छु भने मात्र जान्छु भनेँ। उहाँले त्यसको ग्यारेन्टी गर्न सक्नुभएन,' नरेन्द्र भन्छन्, 'त्यसो भए म जान्नँ, ह्विलचेयरमै बसेर गर्न सकिने केही काम गर्छु भनेर यतै बसेँ।'
पोखरामा अपांगता भएका मानिसले सिपमूलक काम गरिरहेको देखेपछि उनलाई पनि तालिम लिने सोच आयो। तालिमको व्यवस्था गरिदिन अस्पतालमै भएका दाताहरूलाई आग्रह गरे। त्यसपछि सुर्खेतमा त्यति बेला चलिरहेको घडी–रेडियो मर्मत तालिम लिने अवसर पाए।
तालिम सकेर गाउँमै फर्किए र २०५९ सालमा आफैं घडी–रेडियो मर्मत तथा बिक्री पसल सुरू गरे। तर त्यति बेला माओवादी सशस्त्र द्वन्द्व चलिरहेकाले गाउँमा बस्न सहज महसुस गरेनन्।
'बुबालाई सुर्खेतमा बस्ने व्यवस्था मिलाइदिनुस्, त्यतै बसेर केही गर्छु भनेँ। बुबाले व्यवस्थापन गरिदिनुभयो र म सुर्खेत आएर बस्न थालेँ,' उनले भने।
आत्मनिर्भर हुने प्रयासमा उनले सांगीतिक बाटो पनि रोजे। केही महिना गरेको घडी–रेडियो पसल छोडेर सुर्खेत झरेका उनी संगीत सिक्न थाले। २०५९ सालको अन्तिममा काठमाडौं गएर एउटा गीत रेकर्ड गरे।
'गीत बजारमा आयो। त्यसबाट मैले १० हजार रूपैयाँ मात्र पाएँ, बाँकी रोयल्टी पाइएन,' नरेन्द्रले भने, 'पछि आफ्नो क्यासेट आफैं बेचेर केही लगानी उठाएँ। त्यो क्षेत्रमा मैले आफूलाई खासै सक्षम ठानिनँ र छाडेँ।'
त्यसपछि उनी ह्विलचेयरमै बसेर आफूले सक्ने अरू काम गर्दै गए। २०६५ सालमा उनलाई फेरि कम्मरमा समस्या देखियो। त्यति बेला उनी सुर्खेतमा रहेको आइएनएफको अस्पतालमा भर्ना भए। यहाँबाट उनलाई फेरि पोखराको त्यही हरियो खर्क अस्पतालमा पठाइयो।
उपचारका लागि दोस्रोपटक पोखरा जाँदा उनले अर्को उपलब्धि हात पारे। त्यहाँ उनको भेट बेलायतका एक ह्विलचेयर मेकानिकल इञ्जिनियरसँग भयो।
'उहाँले तिमी ह्विलचेयर बनाउन सक्छौ भनेर सोध्नुभयो। मैले रूचि देखाएपछि पोखरामै तीनमहिने तालिम पाएँ,' नरेन्द्रले भने।
ह्विलचेयर मर्मत र बनाउने तालिम लिएर सुर्खेत फर्किएको केही महिनापछि आइएनएफमा 'ह्विलचेयर एसेम्बलर' को पदमा जागिर खुलेको थियो। आइएनएफ युएसएआइडीअन्तर्गतको एउटा परियोजना हो।
नरेन्द्रले आवेदन दिए। ३५ जनाको दरखास्त परेको थियो। प्रतिस्पर्धामा उनी छनोट भए।
छानिएको केही समयपछि उनलाई परियोजनाले नै थप तालिमका लागि भारतको बैंगलोर पठायो। त्यहाँ उनी पूर्ण रूपमा ह्विलचेयर मर्मतको काम गर्न सक्ने भएर फर्किए।
'त्यसपछि विभिन्न परियोजना थपिँदै गए। मेरो रोजगारी पनि टिकिरहेको छ,' उनी भन्छन्, 'अहिले ह्विलचेयर मर्मत गर्छु। एसेम्बल गरेर आफूजस्तै अपांगता भएकाहरूलाई वितरण गर्छु। काउन्सिलर (परामर्शदाता) को रूपमा पनि साथीहरूसँग हुन्छु।'
उनी चारपांग्रे स्कुटर चलाउँछन्। सहज सडक भएका वीरेन्द्रनगर बाहिरका ठाउँमा पनि पुगेर ह्विलचेयर मर्मत गर्छन्। त्यस्तो ठाउँमा जाँदा उनी सहजताका हिसाबले अपांगता भएकाहरूकै घरमा बस्छन्।
जीवनमा पाएका चोट र संघर्ष पन्छाउँदै अघि बढेका नरेन्द्रलाई सबभन्दा खुसी भे परामर्श दिन जाँदा सुनेका कुराले दिन्छ।
'मेरो कथा सुनेर अपांगता भएका साथीहरू खुसी हुनुहुन्छ। आफूलाई बाँच्ने प्रेरणा मिलेको छ भन्नुहुन्छ। उहाँहरूको त्यस्तो कुरा सुन्दा म एकदमै खुसी हुन्छु,' उनले भने, 'आफूले जति पीडा भोगे पनि आफूजस्तै अरूलाई सही मार्गमा हिँडाउन पाएको छु जस्तो महसुस हुन्छ।'
अपांगता भएकाहरूलाई निराश हुन नदिने, घर–समाजबाट हौसला दिने र भेदभाव नगर्ने वातावरण भयो भने उनीहरू आत्मनिर्भर हुने नरेन्द्र बताउँछन्।
'आफूसँगै आफ्नो परिवारका लागि पनि कमाइ गर्न सक्छन्,' उनले भने।
नरेन्द्रले जागिरबाट निस्किएपछि अपांगता भएकाहरूका लागि चाहिने सहायक सामग्री मर्मत केन्द्र आफैं खोल्ने सोच बनाएका छन्।