बाँके प्रहरीले नेपालगञ्जबाट एक जना लागुऔषधका कारोबारीलाई ठूलो परिमाणमा ब्राउन सुगर, नगद र गरगहनासहित पक्राउ गरेको छ।
नेपालगञ्ज उपमहानगरपालिका– १४ अधौपुरवामा लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा पुगेको प्रहरीले स्थानीय २८ वर्षीय रमेश लोनियालाई मंगलबार बेलुकी ८ बजेतिर पक्राउ गरेको थियो।
घर नजिकै सडकमा हिँडिरहेका लोनियाको शरीर खानतलासी गर्दा ब्राउन सुगर बरामद भइसकेपछि प्रहरीले उनको घरमा खान तलासी गर्दा कोठाबाट ठूलो मात्रामा नगद रकम र सुन तथा चाँदीका गरगहना बरामद भएको प्रहरीले जनाएको छ।
बाँकेका प्रहरी प्रमुख एसपी रामबहादुर घर्ती मगरका अनुसार पक्राउ परेका लोनिया लागुऔषध कारोबारीका एक जना प्रमुख डिलर मानिन्छन्। जसलाई प्रहरीले विगतदेखि नै पछ्याइरहेको थियो।
एसपी घर्तीले पक्राउ परेका लोनियाको साथबाट साढे १५ ग्राम ब्राउन सुगर, २० लाख बढी नेपाली रुपैयाँ र भारतीय रुपैयाँसमेत गरी कुल २२ लाख तीन हजार नौ सय १५ रुपैयाँ बरामद भएको छ।
पक्राउ परेका लोनियाको साथबाट प्रतिबन्धित भारतीय पाँच सय दरका दुई सय ६५ थान नोटहरू अर्थात् नेपाली रुपैयाँ दुई लाख १२ हजार पनि बरामद भएको बताए।
लोनियाको साथबाट सुन र चाँदीका जस्ता देखिने गरगहना पनि बरामद भएको एसपी घर्तीले बताए।
पहेँलो धातुबाट निर्मित सुन जस्तो देखिने गहनाहरूमध्ये कडा ६ थान, हार २ थान, सिक्री ३ थान, कानबाली १ थान, झुम्का ३ जोडी, औंठी ४ थान, टप १ जोडी, सिक्रीको लकेट २ थान, फूली १ थान, सानो रिङ ६ थान, शिरबन्दी २ थान, तिलहरी २ थान, मंगल सूत्र ५ थान र जन्जिर २ थान बरामद भएको छ।
त्यस्तै, चाँदीको जस्तो देखिने खुट्टामा लगाउने कडा २ थान, बाला २ थान, औंठी ३३ थान, सिक्का २१ थन, कानमा लगाउने रिङ ३ थान, झुम्का ४ थान, ब्रासलेट ५ थान, जन्तर १ थान, पायल १४ थान, माला ५ थान, ठूलो माला ३ थान, नाकमा लगाउने नथी १ थान, महिलाले हातमा लगाउने ब्रासलेट २ थान, ठूलो पायल २ थान, सानो ठूला टुक्राहरु ११ थान बरामद भएको छ।
लोनियाबाट बरामद भएको धातुको परीक्षण हुन भने बाँकी रहेको एसपी घर्तीले बताए।