गत वैशाख ११ गते जनकपुरधाम उपमहानगरपालिका–२३, बसपार्कमा एक महिला एउटा कालो ब्याग बोकेर डुल्दै थिइन्। गतिविधि शंकास्पद लागेर प्रहरीले उनलाई पछ्याएको थियो।
धनुषाको विदेह नगरपालिका–६ निवासी ती महिला थिइन् २५ वर्षीया अनुकुमारी साह। प्रहरीले बसपार्कमा उनको खानतलासी गर्यो। ब्यागमा एक हजार रुपैयाँ दरका ४९२ वटा र ५ सय रुपैयाँ दरका ५५९ वटा नोट फेला परे। हजार दरका सबै नोटमा ७ वटा नम्बर दोहोरिएका थिए। यसैगरी ५ सय दरका सबै नोटमा ६ वटा नम्बर दोहोरिएका थिए।
जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार अनुको ब्यागबाट बरामद ७ लाख ७१ हजार ५०० नेपाली रुपैयाँ सबै नक्कली थियो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमका अनुसार अनुले १ लाख रुपैयाँ सक्कली नोट दिएर तीन लाख रुपैयाँ नक्कली साटेको बताएकी छन्।
जनकपुरबाट उक्त नक्कली नोट बरामद भएको एक सातापछि पर्सामा पनि नक्कली नोट भित्रिन लागेको सूचना प्रदेश प्रहरी कार्यालय, जनकपुरले पायो।
सोही सूचनाका आधारमा गत वैशाख २० गते वीरगञ्ज महानगरपालिका–१६, चालिसफिटेस्थित सडकखण्डमा अपराह्न साढे चार बजे प्रहरीले सवारी चेकजाँच सुरू गर्यो।
त्यही क्रममा बिआर ०१ पिजी ६५७७ नम्बरको भारतीय स्कार्पियो गाडीबाट प्रदेश प्रहरी कार्यालय, जनकपुर र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त टोलीले १ हजार रुपैयाँ दरका ४५० थान र ५ सय रुपैयाँका ७२ थान गरी ४ लाख ८६ हजार नेपाली रुपैयाँ नक्कली नोट बरामद गर्यो।
सोही गाडीमा नेपाली रुपैयाँ १ हजारका २ सय वटा नोट अर्थात् २ लाख रुपैयाँ पनि फेला पार्यो।
स्कार्पियो चालक रहेका सर्लाहीको गोडौता नगरपालिका–१२, मधुवनी गाउँका ३४ वर्षीय आनन्द बर्दन सिंह र गाडीमा सवार बाराको परवानीपुर गाउँपालिका–३ का ३६ वर्षीय ओमप्रकाश साह पक्राउ परे।
पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीका अनुसार स्कार्पियो गाडी समातिएको दुई दिनअघि गत वैशाख १८ गते राति ९ बजे वीरगञ्ज महानगरपालिका–१६, रजतजयन्ती चोक क्षेत्रमा भारतको मोतीहारीका ३९ वर्षीय अमीतकुमार सिंह पक्राउ परे।
उनी २ हजार रुपैयाँ दरका २१ थान, ५ सय रुपैयाँ दरका ६४४ थान, २ सय रुपैयाँ दरका ३३ थान, सय रुपैयाँ दरका ५ थान र ५० रुपैयाँ दरका १४ थान गरी कुल ३ लाख ७५ हजार ८ सय भारतीय नोटसहित समातिएका थिए।
वैशाख १७ गते पनि प्रहरीले रजतजयन्ती चोकमै पैदल हिँडेर आउँदै एक व्यक्तिलाई पर्सा प्रहरीले रोकेर चेकजाँच प्रतिबन्धित भारतीय नोट २ लाख रुपैयाँ बरामद गरेको थियो।
ती व्यक्ति भारतको उत्तर प्रदेश, गोरखपुरका ४२ वर्षीय विनोदकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ। नेपालमा भारतीय रुपैयाँ ५ सयका र त्यसमाथिका नोट प्रचलनमा प्रतिबन्ध छ।
वैशाखमा मात्रै नेपाली नक्कली नोट र प्रतिबन्धित भारतीय नोट बरामद भएका घटना चारवटा मात्रै होइनन्।
वैशाख ५ गते पनि प्रहरीले सर्लाहीको लालबन्दीमा ५ लाख ३० हजार रुपैयाँ नेपाली नक्कली नोट फेला पारेको थियो। प्रहरीले पछ्याएको थाहा पाएपछि एक व्यक्ति झोला फालेर भागेका थिए। ती व्यक्ति पक्राउ पर्नबाट उम्किए। सर्लाहीका डिएसपी कैलाश राईका अनुसार सोही ठाउँमा प्रहरीले एक हजार दरको नोट आकारका ६ सय थान सेतो कागज पनि फेला पारेको थियो।
वैशाख ३ गते महोत्तरीको रामगोपालपुर नगरपालिका–५, रामगोपालपुर बजारमा तरकारी किन्न आएका एक ग्राहकलाई प्रहरीले पक्राउ गरेको थियो।
तरकारी व्यापारीले आफूले नक्कली नोट पाएको भनेर खबर गरेपछि व्यापारीकै सूचनाका आधारमा धनुषाको मिथिलाविहारी नगरपालिका–२, पुरन्दाहा निवासी २७ वर्षीय सन्तु मण्डल पक्राउ परेका थिए। उल्लिखित घटना वैशाखका मात्रै हुन्।
प्रहरी अधिकारीहरुका अनुसार मधेश प्रदेशमा नेपाली रुपैयाँका नक्कली नोट बरामद हुने घटना बढेको छ। आर्थिक मन्दीको समयमा नक्कली नोटका कारोबारी गिरोह सक्रिय भएको प्रहरीको निष्कर्ष छ।
मधेश प्रदेशका विभिन्न नाकाबाट दिनहुँ नेपाली रुपैयाँका नक्कली नोट भित्रिने गरेको प्रहरीको आशंका छ।
नेपाल प्रहरीका एक अनुसन्धान अधिकृत भन्छन्, ‘नक्कली नोट कारोबारको केहीमात्र सूचना आइपुग्छ। यो कारोबारमा ठूल्ठूला गिरोह सक्रिय छन्। हामीले अनुसन्धानको क्रममा एउटै गिरोहले १० करोड रुपैयाँ छापेर राखेको पाएका छौं।’
स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभाको गत निर्वाचनदेखि नक्कली नोटको कारोबार फस्टाएको ती प्रहरी अधिकृतको अनुमान छ।
उनले भने, ‘नेताहरूले चुनावमा नक्कली नोट पनि प्रयोग गरेको भन्ने कुरा आएको छ। अहिलेसम्म पक्राउ परेकाहरुले एक लाख सक्कली नोटमा तीन लाख नक्कली नोट मिसाएर चलाउने गरेको बताएका छन्।’
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार गत साउनदेखिको ९ महिना (गत चैतसम्म) मा नक्कली नोट कारोबारसम्बन्धी ३१ वटा घटना भएका छन्। तीमध्ये रौतहटमा ११ वटा, सर्लाहीमा ६ वटा, सिरहामा ४ वटा, पर्सा र महोत्तरीमा ३–३ वटा बारामा २ वटा तथा धनुषा–सप्तरीमा १–१ घटना भएका छन्। ती घटनामा ३५ जनाभन्दा बढी पक्राउ परेका छन्।
यी ९ महिनामा २६ लाख ४८ हजार ४ सय रुपैयाँ नेपाली नक्कली नोट, मेसिनहरू र नोट छाप्न प्रयोग हुने ९९ बण्डल कागज बरामद भएको प्रदेश प्रहरी कार्यालय, जनकपुरले जनाएको छ।
आर्थिक वर्ष २०७८/७९ मा प्रहरीले मधेश प्रदेशका ८ वटै जिल्लाबाट २९ लाख ३४ हजार ९२० रुपैयाँ नेपाली नक्कली नोट र ३ लाख ७८ हजार ९७० रुपैयाँ भारतीय नक्कली नोट बरामद गरेको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा ३० लाख ११ हजार ६ सय रुपैयाँ नेपाली नक्कली नोट बरामद भएको थियो। सोही आर्थिक वर्षमा प्रहरीले ९७ हजार भारतीय नक्कली नोट पनि बरामद गरेको थियो।
मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले नक्कली नोट कारोबारले देशको अर्थतन्त्र ध्वस्त पार्ने भएकाले अपराधको सूचना प्राप्त हुनासाथ प्रहरी कारबाहीमा उत्रिने गरेको बताए।
उनका अनुसार नक्कली नोट कारोबारमा पक्राउ परेका अधिकांश व्यक्ति आपराधिक पृष्ठभूमिका छन्। गिरोहका व्यक्तिहरूले गरिब व्यक्तिलाई झुक्याएर नक्कली नोट कारोबारमा प्रयोग गर्ने गरेका छन्।
‘भारतबाट पैसा ओसार्नेहरू प्रायः गरिब व्यक्ति हुन्छन्। ज्यालाको लोभमा अरू सामानमा मिसाएर वा पोको पारेर गिरोहले बोकाउने गरेको देखिएको छ,’ प्रवक्ता श्रेष्ठ भन्छन्, ‘नोट छाप्ने र नेपाल पठाउनेहरू पेसेवर अपराधी हुन्।’
उनका अनुसार भारतमा नोटबन्दी हुनुअघि भारतीय नक्कली नोट छाप्नेहरू अहिले नेपाली नक्कली नोट छाप्न थालेका छन्। यस्ता कारोबारीलाई भारतबाट पक्राउ गर्न समस्या हुने गरेको छ।