आफू तन्नेरी हुँदै उनले होटल व्यवसाय गर्ने सपना साँचेका थिए।
मनभरि यस्तो सपना पालेका बंगाली मल्लिक आफ्नै आँगनमा बाँसको चोया काढ्दै गरेका भेटिए।
चोयाबाट घरासयी प्रयोगका विभिन्न सामान बनाउनु र त्यसैबाट आर्जन गर्नु डोम समुदायको पुर्ख्यौली पेसा हो। उनी पनि बाँसको ढाकी, नाङ्लो, चंगेरा आदि बुनेर बेच्छन्।
बंगालीलाई भने यो पुस्तैनी काममा रूची थिएन।
रूची नभए पनि महोत्तरीको एकडारा गाउँपालिका-२ स्थित आफ्नो गाउँमा उनले चोयासँगै ५० वसन्त पूरा गरे।
चोया काढ्दै उनले मसँग उहिले साँचेको सपनाको कुरा गरे।
‘मलाई त होटल गर्ने रहर थियो। होटल गर्न पाएको भए दुई-चार पैसा कमाइ हुन्थ्यो, छोराछोरीलाई राम्रो स्कुलमा हाल्न पाइन्थ्यो। उनीहरूले पनि आफैं केही गर्ने सपना देख्ने होलान्,’ उनले भने।
उनीजस्तै उनका भाइ कपडा व्यापार गर्न चाहन्थे। दुबै दाजुभाइको सपना अधुरै रह्यो।
उनीहरूले यति सामान्य सपना पूरा गर्न गाह्रो हुनुको कारण हो दलितमाथि हुने छुवाछुत। गाउँमा कथित उच्च जातका मानिसहरूले उनीहरूमाथि छुवाछुत गर्छन्।
सानैदेखि छुवाछुत सहँदै आएका बंगालीलाई यस्तो कुप्रथाकै कारण सपना पूरा गर्न नपाएकोमा धेरै नरमाइलो लागेको छ। उनी एक्लै गाउँको यस्तो कुरीति फेर्न सक्ने कुरा थिएन। छोइछिटो गर्नेहरू खान आउँदैनन् भन्ने लागेपछि उनले होटल खोल्ने आँट गरेनन्।
‘मैले होटल खोलें भने छुवाछुत मान्ने मान्छेहरू खान आउँदैनन्। कपडा किन्न पनि आउँदैनन्। पान पसल खोलें भने पनि कोही आउँदैन,’ उनले भने, ‘यो समाजले हामीलाई पुर्ख्यौली पेसाबाट बाहिर जान बञ्चित गरिदिएको छ।’
उनले लेखपढ पनि गरेनन्। उनको समुदायका धेरैले लेखपढ गरेका छैनन्। पढाइ नगर्नुको कारण पनि छुवाछुतसँगै गाँसिएको छ।
‘पढे लेखेपछि सपना देखिन्छ तर हामी यही समाजमा बसेर त ती पुरा गर्न सक्दैनौं,’ उनी भन्छन्, ‘यही कारणले हाम्रो समुदायका कोही पनि पढ्न मन गर्दैनन्।’
कुरा हुँदै गर्दा आइपुगे बंगालीकै टोलका दुखरण मल्लिक। उनको पनि गुनासो उस्तै छ।
‘यहाँ छुवाछुत धेरै छ। गाउँका होटलभित्र दलित समुदायलाई प्रवेश निषेध छ,’ उनले भने।
छुवाछुत गर्न पाइँदैन भन्ने पनि थाहा छ। होटल त सार्वजनिक ठाउँ हो तैपनि उनीहरू भित्र पस्न आँट गर्दैनन्। हामी होटलमा पस्न र खान पाउनुपर्छ भनेर आवाज उठाउन पनि सक्दैनन्।
यसो हुनुको पनि खास कारण छ।
दुखरणले नै कारण खुलाए, ‘गाउँका होटलमा हामीलाई पस्न दिँदैनन्। हामी थोरै छौँ। जोडबल गर्यौं भने मारपिट गर्लान् भन्ने डर हुन्छ।’
उनका अनुसार केही वर्षअघिसम्म उनीहरूले होटलमा खानेकुरा किन्दा घरबाटै भाँडो लैजानु पथ्र्यो। अहिले कागजमा वा डिस्पोजेबल (एक पटकमात्र प्रयोग हुने) प्लेटमा पाउँछन्। चिया पनि यस्तै गिलासमा पाउँछन्।
अन्यका लागि स्टिलको प्लेट र स्टिलकै वा सिसाको गिलास हुन्छ।
यस्तो विभेदविरूद्ध अछुत भनिएका समुदायका व्यक्तिहरूले कहिल्यै आवाज नउठाएका पनि होइनन् तर सुनुवाइ कहिल्यै भएन।
२०७४ सालमा स्थानीय तहको निर्वाचन भएपछि डोम समुदायका व्यक्तिहरूले जनप्रनिधिहरूसँग आफ्नो गुनासोहरू राखे। गाउँमा छुवाछुत अन्त्यका लागि आग्रह गरे तर आवश्वासनबाहेक केही पनि पाएनन्।
दुखरणका अनुसार छुवाछुतको कुरामा पनि भोटको कुरा आउँछ।
भन्छन्, ‘हामीसँग थोरै भोट छ। जनप्रतिनिधिहरू पनि अहिले पर्खंदै गर भन्छन्। उनीहरू धेरै भोट हुने समुदायसँग दुश्मनी मोल्न चाहँदैनन्।’
आफ्नो समुदायको आर्थिक अवस्था कमजोर हुनु पनि छुवाछुत अन्त्य हुन नसक्नुको कारण मान्छन् बंगाली। प्रहरी थानामा जानु पर्यो भने, मुद्दा लड्नु पर्यो भने पैसा हुँदैन।
उनी भन्छन्, ‘आर्थिक रूपमा मजबुत छैनौं। पहुँच पनि छैन। प्रहरीमा जानुपर्यो भने सहयोग गर्ने कोही हुँदैन। हामी सधैँ सहेरै बस्छौं।’
बंगालीको छिमेकी घरमा घरमूली महिला बसिरहेकी थिइन्। उनले आफ्नो नाम भन्न अप्ठेरो मानिन्।
उनीसँग पनि छुवाछुतका नमिठा भोगाइहरू छन्। कुटानी–पिसानी मिलमा बन्देज भोग्नु परेको छ। उनका लागि यो निकै दुःखको कुरा हो।
उनी भन्छिन्, ‘मिलवालाले मिल छोइन्छ भनेर हाम्रो च्युरा कुटिदिँदैन। गहुँ, पिसिदिँदैन। धान पनि पिस्दैन। जति महँगो भए पनि हामी प्याकेटकै किनेर खान्छौं।’
मिलमै जाने हो भने निकै टाढाकोमा जानु पर्छ। छुवाछुत नमानिने जातको कसैलाई बिन्ती गरेर मिलमा पठाउनु पर्छ।
उनी प्रश्न गर्छिन्, ‘सधैँ कतिलाई हात जोडिराख्नु? कसलाई भन्नु?’
समाज सधैँ उही ठाउँमा छ। छुवाछुत सहने बानी परिसकेको छ तर सम्झी ल्याउँदा उनीहरूका मनमा अनेक प्रश्न उठ्छन्।
‘हामीले बुनेको चंगेरा, नांलो र ढाकी पूजापाठ, बिहे, मरणहरण सबैमा चल्ने,’ एकडारा गाउँकै धियानी मल्लिकको प्रश्न छ, ‘हाम्रो पानी कि नचल्ने? हाम्रो केही पनि सामान छुन नहुने किन?’
दसैँको दुर्गा पूजामा पनि यहाँका डोम समुदायसँग चर्को विभेद हुन्छ। डोम समुदयका महिलाहरू कलश भर्न र जल यात्रामा सहभागी हुन पाउँदैनन्। डोम समुदायका व्यक्ति पूजा व्यवस्थापन समितिमा सदस्य बन्न पनि पाउँदैनन्।
टोलका अर्का बासिन्दा पप्पु मल्लिकले सात वर्षअघिको एउटा घटना सुनाए।
उनले डोम समुदायका व्यक्तिलाई पनि दसैँको पूजा व्यवस्थापन समितिमा राख्नु पर्यो भनेर कुरा उठाए। गाउँका अगुवा हौँ भन्नेहरूले नराख्ने भने।
‘डोमलाई सदस्य बन्न दिदिने भनेपछि म कड्किएँ। किन बन्न मिल्दैन भनेर आवाज उठाएँ,’ घटना स्मरण गर्दै उनले भने, ‘केही युवाहरू धेरै बोलिस् भने कुटाइ खान्छस् भनेर अघि सरे। त्यसपछि हाम्रो समुदयाबाट कसैले पनि पूजा समितिमा जाने प्रयास गरेनन्।’
नवरात्रमा डोम समुदायका महिलाहरू पनि उपवास बस्छन् तर सामूहिक पूजामा सहभागी हुन पाउँदैनन्।
डोम समुदायमाथि एकडारामा मात्र नभई सबै ठाउँमा यस्तै विभेद हुने गरेको धनुषाको मिथिला नगरपालिका, ढल्केवरका बासिन्दा राज मल्लिकको भनाइ छ।
उनले आफूसँग भएका धेरै घटनामध्ये एउटा सुनाए।
उनी एकपटक सिरहाको लहान नजिक एक गाउँमा आफन्त भेट्न गएका थिए। आफन्तसँगै एउटा सानो होटलमा गए तर चिया खान पाएनन्।
‘राजमार्ग छेउका बस्तीमा चेतना बढ्दै गए पनि भित्री गाउँमा छुवाछुत र विभेद जरा गाडेर बसेको छ,’ उनी भन्छन्, ‘पचास वर्षअघि र अहिलेको अवस्थामा खासै परिवर्तन भएको देखिँदैन।’
मिथिला नगरपालिका–५ को राजमार्ग छेउकै बस्ती श्रीपुरमा छठ घाटमा आफ्नो समुदायले अन्य समुदायसँग एकै ठाउँमा पूजा गर्न नपाएको उनको भनाइ छ।
‘हामीबाट पनि उत्तिकै पैसा लिन्छन् तर एउटा कुनामा छुट्टै घाट बनाएर हामीलाई पूजा गर्न भन्छन्,’ राज भन्छन्, ‘यसो गरेको देख्दा मन खिन्न हुन्छ तर हामी अल्पसंख्यक छौँ। हाम्रो कुरा कसैले सुन्दैन। हामी केही पनि गर्न सक्दैनौँ।’
तराईका दलितहरूमा आफूहरूमाथि छुवाछुत हुनु गलत हो भन्ने चेतना छ। छुवाछुत गर्नुलाई संविधान र कानुनले दण्डनीय अपराध मानेको छ भन्ने पनि थाहा छ।
छुवाछुतको विभेद गर्नु अपराध हो, कानुनले छुवाछुत गर्ने गराउनेलाई दण्ड हुने व्यवस्था गरेको छ। संविधानले विभेद गर्न नपाइने भनेको छ।तर समाज परिवर्तन गर्ने, देशको संविधान र कानून पालना गर्ने र गराउने शपथ लिएका कतिपय जनप्रतिनिधि नै दलितमाथि हुने छुवाछुतलाई उचित ठहर्याउन उद्यत देखिन्छन्।
एकडारा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष सखिचन्द्र यादव छुवाछुतको कारण दलितहरू सरसफाइ भएको बताए।
‘दलित समुदाय शिक्षित नभएर पनि विभेद हुन्छ। दलितको स्वभाव बदलियो भने उनीहरूसँग विभेद हुन्न। उनीहरूको सरसफाइ हुन्न। त्यही भएर विभेद हुन्छ,’ उनले भने।
डोम समुदायका व्यक्तिहरू भने यस्तो सोचलाई नै विभेदको मुख्य कारण देख्छन्।
यादवले आफू वडाध्यक्ष पदमा चुनिनुअघि एक गैरसरकारी संस्थामा काम गर्दा जातीय छुवाछुत र भेदभावविरुद्ध दुई वर्षमा एकडारा गाउँपालिकामा मात्र ७४ लाख रुपैयाँ खर्च गरेर तालिम गराएको बताए।
‘छुवाछुत हटाउन मैले धेरै काम गरेको छु तर व्यावहारिकरूपमा परम्परा कायमै छ। सबै वर्गलाई तालिम दियौँ,’ उनले भने, ‘पचास प्रतिशत सुधार भएको छ। डोम समुदायलाई बाटोघाटोमा हिँड्नै मुस्किल हुन्थ्यो। अहिले त्यस्तो छैन।’
करिब तीन वर्ष पहिले मिलमा कुटानपिसान गर्न नदिँदा आफूले नै विवाद मिलाएको उनको दावी छ।
डोम समुदायले अहिले पनि मिलमा कुटानपिसान गर्न पाएका छैनन् भन्ने कुरा आफूलाई थाहा नभएको उनको भनाइ छ।
उनले भने, ‘तीन वर्ष पहिले च्युरा मिलमा मिल मालिकलाई छुवाछुत गर्दा मुद्दा चल्छ, दुई वर्ष जेल र जरिवाना जरिवाना हुन्छ भनेर भनेर कुरा मिलाएको थिएँ।’
वडाध्यक्ष यादवले आफ्नो वडामा विभेद र छुवाछुत आधा घटेको दाबी गरे पनि दलित समुदायका व्यक्तिहरू भने उनको दाबी मान्न तयार छैनन्।
पप्पुका अनुसार डोम समुदायले पानी नै खान नपाउने अवस्था थियो। अहिले छुट्टै कल बनेको छ। अलग्गै कल बन्नु विभेद अन्त्य हुनु होइन।
उनी भन्छन्, ‘आधा होइन, चार आना जति सुधार भएको जस्तो लाग्छ।’
सुस्तरी हुँदै गएको ससानो सुधारले पनि कुनै एक समय आफूमाथिको भेदभाव र छुवाछुत अन्त्य हुनेमा आशावादी छन्।