पर्साको वीरगञ्ज महानगरपालिका-१७ स्थित अलौंमा आयोजित शतचण्डी महायज्ञअन्तर्गत वेदी पूजा गर्न दलित समुदायलाई रोक लगाइएको छ।
२२ वर्षपछि बुधबारदेखि सुरू भएको महायज्ञमा कथित उच्च जातका मानिसहरूले छोइने भन्दै सामाजिक निर्णय गरेर दलितलाई वेदी पूजा गर्न रोक लगाएका हुन्।
पूजामा सहभागी हुन दिनुपर्ने माग राखेर दलित समुदायका अगुवाले झन्डै एक महिना आवाज उठाएका थिए। आफ्ना कुराको सुनुवाइ नभएपछि जातीय विभेद गरेको भन्दै उनीहरूले संघर्ष समिति गठन गरेर वीरगन्जस्थित घण्टाघरमा प्रदर्शन पनि गरे। कथित उच्च जातका मानिसको अडान र दबाबका सामू उनीहरू अहिले पछि हटेका छन्। आगामी दिनमा आयोजना हुने महायज्ञमा वेदी पूजामा प्रवेश गर्न दिनेगरी कागजी सहमति भएको छ।
विवादले उग्र रूप लिएर सद्भाव भड्किने र कानुनी रूपमा अघि बढ्दा महायज्ञ नै रोकिने परिस्थिति सिर्जना भएपछि आफूहरू निर्णय मान्न बाध्य भएको संघर्ष समितिका संयोजक उमेश रामले सेतोपाटीलाई बताए।
‘हामीले आफ्नो अडान राखेर कानुनी प्रक्रियामा अघि बढ्दा महायज्ञै रोकिन्थ्यो। अन्तिम अवस्था आएर महायज्ञ रोकिए जे पनि हुनसक्ने सम्भावना थियो। हामीले महायज्ञ रोकेर अपजस लिन चाहेनौं। सहमति गरेर पछि हट्यौं। फेरि पनि यही समाजमा बस्नुछ। हामी सय जना मात्र छौं। उनीहरू २ हजार बढी छन्। त्यसैले विद्रोह गर्न पनि उचित ठानेनौं,’ उनले भने।
उनका अनुसार गाउँमा छलफल गरेर गैरदलितहरूले दलितलाई वेदी पूजामा बस्न नदिने निर्णय गरेका थिए। समितिका सदस्य उमेश रामले दलित भएकै कारण पूजापाठबाट वञ्चित हुनुपर्दा मनमा चोट पुगेको बताए।
‘हामी पनि हिन्दु हौं। पूजापाठमा अरू जतिकै अधिकार छ भन्दा ठूला जातवालाहरूले स्वीकार गर्न मानेनन्। वेदी पूजा गर्न दिन सुरूमा हातखुट्टा जोड्यौं। नमानेपछि आन्दोलन गर्यौं। संघर्षमा उत्रिएपछि झगडा अझै उग्र रूप लिने, काटमारै हुने माहोल बन्यो। हामीले एसपी र सिडिओलाई निवेदन दियौं। मेयर, सांसद सबैलाइ भन्यौं। उनीहरू सबैले मिलाएर जाऊ मात्र भनिराखे,’ कृष्णले भने, ‘गाउँमा विभेद गर्ने २/४ जना मात्र भएको भए मुद्दा पनि दिन्थ्यौं तर सयौं जनाले पूजा गर्न नदिने अडान राखे। कति जनाविरूद्ध लड्ने हामी? कतिलाई मुद्दा दिने? सांसद, मेयर, प्रहरी, प्रशासनमा पनि अपर कास्टकै मान्छे छन्। हाम्रो कुरा कसैले सुनिदिएन। बाध्य भएर हाम्रा अगुवाले सहमति गर्नुपर्यो।’
संविधानमा छुवाछुत गर्न नपाइने लेखिए पनि कार्यान्वयन नहुँदा आफूहरू अन्यायमा परेको उनले सुनाए। दलित समुदायले यति संघर्ष गरेपछि कलश यात्रामा सहभागी हुन दिएको कृष्णले बताए।
उनका अनुसार आन्दोलन गरेर प्रहरी, प्रशासन धाएपछि दलितलाई चित्त बुझाउन महायज्ञ व्यवस्थापन समितिमा दलित समुदायलाई पनि समेटियो। पूजा गर्न नदिँदा दलित समुदाय निराश भएको अलौंमै बस्दै आएका हरेदेव राम चमारले गुनासो गरे।
‘एक महिना आन्दोलन गर्यौं तर केही भएन। ५/७ जना अगुवाले सहमति गरेछन्। ठूला जातिहरूले जे चाहेका थिए, त्यही गरेर छोडे। दलितहरूको संख्या कम छ। हामी डराएरै बस्नुपर्छ,’ उनले भने।
२२ वर्षअघि भएको महायज्ञमा समेत दलितहरूलाई वेदी पूजा गर्न नदिँदा यस्तै विवाद चर्केको उनले सम्झिए। त्यतिबेला बाहिर यसरी बोल्ने आँट कसैले गरेका थिएनन्। कलश यात्रामा पनि त्यतिबेला दलित समुदायका कसैलाई सहभागी हुन नदिइएको उनले बताए।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ का अध्यक्ष सन्जुबहादुर छत्कुलीले दलित र गैरदलित दुबै पक्षबीच सहमति गराएर महायज्ञ भव्य रूपमा चलिरहेको बताए। उनले दलितसँग विभेद भएको कुरा अस्वीकार गरे।
‘ठाउँ अभावका कारण दलितलाई वेदी पूजामा सहभागी नगराइएको हो। दुबै पक्षलाई लगेर जिल्ला प्रशासन कार्यालयमा वार्ता गराइदिएको छु,’ उनले भने, ‘वेदी पूजा गर्न नदिने कुरा उठेको थियो। परम्परादेखि आएको कुरालाई समाजले छिटो स्वीकार गर्दैन। तैपनि दुबै पक्षलाई ३/४ पटक बसाएर वार्ता गराएका हौं।’
सबै पक्ष अहिले महायज्ञमा सहभागी भएको उनले बताए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक गिरीले महायज्ञमा पूजापाठ गर्न नदिएको भनी उजुरी आएको तर छलफलपछि उनीहरू मिलिसकेको बताए।
‘जिल्ला प्रशासन, जिल्ला प्रहरीमा दुबै पक्षबीच छलफल भयो। के गरी मिल्यो हामीलाई थाहा भएन्। तर गुनासो केही छैन,’ उनले भने।
दलित अगुवा चन्देश्वर सदा महायज्ञमा विभेद गर्ने, पूजापाठ गर्न रोक लगाउने आयोजकलाई कानुनी कारबाही हुनुपर्ने माग गर्छन्। उनका अनुसार ४ हजार वर्षदेखि लादिएको अन्धविश्वास, जातीय विभेद र छुत/अछुत परम्पराले कयौं यस्ता विभेदका घटना भए पनि देखिन नआएको बताए।
‘छुवाछुत अन्त गर्नेगरी संविधान बन्यो। तर गाउँमा छुट्टै धार्मिक संविधान छ। संविधानअनुसार नभई धर्मअनुसार समाज चलेको छ। त्यसकै परिणाम हो यो,’ उनले भने।
यस्ता विभेद अन्त्य गर्न राज्यले दलितसँग आर्थिक र समाजिक न्याय, अन्तरजातीय विवाह प्रोत्साहन गर्न पुरस्कारको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।