मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुरधाम।
मेडिसिन वार्डको बेड नम्बर ८२ मा छन् तेतरा मण्डल।
उनको उपचार सुरु भएको १५ दिन भयो। श्रीमती रामकली बिरामी श्रीमानकै छेउमा हुन्छिन्। उनका आँखाबाट निरन्तर आँसु बग्दो छ। धनुषाको औरही गाउँपालिका, देउरीका बासिन्दा तेतरा दुई महिनामा दोस्रो पटक प्रादेशिक अस्पतालमा भर्ना भएका हुन्।
उपचारका लागि पैसाको अभाव छ। यसै कारण रामकलीका आँखा रसाइरहन्छन्।
डाक्टरले तेतराको छातीमा पानी जमेको छ, निको हुन अप्रेसन गर्नुपर्छ भनेका छन्। रामकलीका अनुसार पहिलोपटक यही अस्पताल आउँदा डाक्टरले आइसियू छैन भनेर निजी अस्पताल पठाइदिए। आफूसँग भएको र ऋण गरेको थोरैतिनो पैसाले पुगेन।
सम्पत्तिका नाममा पाँच धुर घडेरी थियो। त्यही बेचेर उपचार गर्ने सल्लाह भयो। रामकलीले चार लाख रुपैयाँमा खडेरी बेचिन्। सबै पैसा सकियो।
केही आराम भएपछि तेतरा फर्के। एक महिनापछि तेतरालाई फेरि सास फेर्न अप्ठ्यारो भयो। निजी अस्पताल जाने उपाय थिएन। रामकलीले तेतरालाई प्रादेशिक अस्पताल, जनकपुर पुर्याइन्।
अस्पतालमा श्रीमानको कुरुवा बसेकी रामकलीले भनिन्, ‘जाँचपड्ताल, औषधि–उपचारमा धेरै पैसा खर्च भयो। पाँच धुर घडेरीबाहेक सम्पत्ति केही थिएन। त्यही बेचेर उपचार गरायौँ।’
रामकलीले सरकारी अस्पतालले औषधि उपचारमा लाग्ने खर्चमा छुट दिन्छ भन्ने सुनेकी थिइन्। त्यहीअनुसार छुट दिन डाक्टरहरूसँग हारगुहार गरिन् तर त्यस्तो सुविधा प्राप्त भएन।
तेतराको अवस्थामा केही सुधार भएको छ तर निको भएको छैन। घडेरी बेचेको सबै पैसा सकियो। अप्रेसन गराउन सक्ने अवस्था छैन।
पैसा नभएर उपचार नहुने अवस्था भएपछि रामकलीको समुदायका अगुवाहरूले चन्दा उठाएर सहयोग गरे।
‘सुरुमा म आफैँ गाउँ पुगेर चन्दा मागेँ। दस, बीस, सय, पचास गरेर केही पैसा जम्मा भयो,’ रामकलीले भनिन्, ‘पैसा नपुग्ने भएपछि फेरि गाउँ गएर सबैलाई भनेँ। अहिले समुदायबाटै चन्दा उठाएर केही सहयोग भयो।’
रामकली र तेतराका तीन छोराछोरी छन्। उनले चन्दा माग्दा कसैकसैले धानचामल पनि दिए। अहिले छोराछोरी त्यही चामल खाँदैछन्।
सरकारी अस्पतालले गरिबको समस्या नबुझेको रामकलीको गुनासो छ।
‘म पढेलेखेको छैन। गाउँका नेता र अगुवा सबैलाई उपचारमा सहयोग गराइदिन भनेँ तर अस्पतालले सुनिदिएन,’ उनले भनिन्, ‘सरकारी अस्पतालले छुट गरदिन्छ भन्थे, मैले केही पनि पाइनँ। सम्पत्ति केही पनि छैन, ऐलानी जग्गामा बसेका छौँ।’
प्रादेशिक अस्पताल, जनकपुरमा पहुँच नपुग्दा कयौँ बिरामी बाध्य भएर निजी अस्पताल पुग्ने गरेको चिकित्सकहरू नै बताउँछन्।
‘गरिबलाई आइसियू पाउन समस्या पर्छ। आइसियूमा ६ वटा बेड छन्। त्यो ठूलाबडाले मात्र पाउँछन्,’ प्रादेशिक अस्पतालका एक चिकित्सक भन्छन्, ‘गरिबहरू आइसियू बेड नपाएर निजीमा जान्छन्। निजी अस्पतालले औषधि बाहेक दिनकै २० हजारसम्म असुल्छन्।’
उनका अनुसार ‘ठूलाबडा’ बिरामीहरू आइसियूबाट वार्डमा सर्न र डिस्चार्ज हुन पनि ढिलो गर्छन्। एकदुई दिन बढी बस्न खोज्छन्।
‘विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका, २०७५’ मा विपन्न नागरिकले औषधि उपचारमा आर्थिक सहायता पाउने व्यवस्था भए पनि तेतरा त्यसमा समेटिन सकेका छैनन्।
विपन्नको नाउँमा नेता, उच्च कर्मचारी र ‘ठूलाबडा’ मानिने व्यक्ति र तिनका आफन्तले सुविधा लिने गरेको चिकित्सकहरूकै भनाइ छ।
एक चिकित्सकले भने, ‘विपन्नलाई फ्री (निःशुल्क) उपचार हुन्छ भन्छन् तर विपन्नको नाउँमा यहाँ उपचार गराउन आउने मन्त्री, सांसद, कर्मचारी र उनीहरूका आफन्तले सुविधा लिन्छन्।’
अस्पतालले उपलब्ध गराएको विवरणमा मधेश प्रदेशका कांग्रेसका प्रदेशसभा सदस्य शेष नरायण यादवका बुवा सुवरण यादव १० दिन आइसियूमा भर्ना थिए । तर उनको सबै शुल्क अस्पतालले माफ गरिदियो । अस्पतालका अनुसार उनलाई शत प्रतिशत छुट अर्थात ३२ हजार रुपैयाँ गत पुस ९ गते छुट दिइएको छ। त्यस्तै पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवकी श्रीमती ओनिता यादव यहीँ फागुन १ गतेदेखि ४ गतेसम्म आइसियूमा भर्ना थिइन्। अस्पतालले ४ दिन बराबरको आइसियूको बेड चार्ज १२ हजार रुपैँया छुट गरिदियो।
प्रादेशिक अस्पताल जनकपुरले एक दिनको आइसियु बेड शुल्क तीन हजार रुपैयाँ लिन्छ। तर उनिहरूले निशुल्क पाए। विपन्नले पाउनुपर्ने सुविधा उनीहरूले पाएको डाक्टरहरूको भनाइ छ।
अर्का एक चिकित्सकले भने, ‘यहाँ सोर्सफोर्सका आधारमा निःशल्क उपचार हुन्छ। गरिबले केही पनि पाउँदैन।’
अस्पतालका निर्देशक डा. प्रमोद यादवका अनुसार सम्बन्धित वार्डका चिकित्सकको सिफारिसमा विपन्नलाई औषधि उपचारमा सहुलियत दिइन्छ।
उनले सम्पन्न तथा 'ठूलाबडा'ले पनि निःशुल्क उपचार गराइरहेको स्वीकार गरे। संख्यात्मक हिसाबमा त्यस्ता सम्पन्न १० प्रतिशत मात्र सम्पन्नले विपन्नले पाउने निशुल्क उपचार पाएको उनको दाबी छ।
‘छुट पाउने ९० प्रतिशत विपन्नै छन्। १० प्रतिशत सम्मपन्नले पनि उपचारमा छुट पाएका भने छन्। हामीले कुनै असहाय, विपन्न र अपांगता भएका व्यक्तिलाई उपचारबाट बन्चित गरेका छैनौँ । बेड चार्ज, अपरेशन, आइसियूमा छुट दिएका छौँ,’ उनले भने।
बिरामीको चाप बढी भएकाले आइसियू बेड व्यवस्थापनमा समस्या हुने गरेको निर्देशक डा. यादवको भनाइ छ।
‘आइसियू बेड ६ वटामात्र छ, आवश्यकता कम्तीमा २० वटाको छ। आइसियू बेड खाली नहुँदा बाहिर रिफर गर्ने गरेका छौँ,’ उनी भन्छन्, ‘आइसियूमा जनशक्तिको पनि अभाव छ। हामीले बेड संख्या बढाउन र जनशक्ति थप्न मन्त्रालयलाई बारम्बार भनेका छौँ तर सुनुवाइ भएको छैन।’