गुल्मी मजुवाका डिलबहादुर सुनारको सानैदेखिको सपना थियो बुटवलमा ठूलो सुनचाँदी पसल चलाएर बस्ने।
उनी सानो छँदा नै बुवा नन्दबहादुरले गाउँघरमै सुनचाँदीका गरगहनाको पसल चलाएका थिए।
गाउँघरमा खेतीपातीको लागि सामान्य जग्गाजमिन थियो। खानलाउन जग्गा जमिनबाटै पुगे पनि घरपरिवारको अन्य खर्चपर्च र भैपरी आउने कामहरूको लागि भने गरगहना बनाएको ज्यालाबाट गर्जो टर्थ्यो।
बुवाले गाउँघरमा गरेजस्तो काम गरेर सहरमा ठूलो सुनचाँदीको पसल चलाउने डिलबहादुरको योजना पूरा हुँदैनथ्यो।
सहरमा आएर पसल चलाउन पनि उनीसँग पैसा थिएन।
डिलबहादुरले योजना बनाए ‘केही वर्ष विदेश जान्छु, अनि त्यहाँ दु:ख गरेर कमाएको पैसाले नेपालमा सुनपसल चलाउँछु।’
२० वर्ष पहिले उनी सुखी भविष्यको लागि भन्दै रोजगारीको लागि दुबई गए।
दुबईमा पनि उनले राम्रै काम पाए, घरपरिवार छोडेर गए पनि राम्रो कमाइ थियो।
उनले दुई चार वर्ष होइन, दुबईमा पन्ध्र वर्ष बिताए। डेढ दुई वर्षको बीचमा बिदा लिएर घर आउँथे, बिदा पूरा भएपछि उनी फेरि फर्किएर दुबई जान्थे।
पाँच वर्षअघि भने उनले अब नेपालमै बसेर आफ्नै व्यवसाय चलाउने निधो गरे। सानैदेखिको उनको चाहना र पुर्ख्यौली पेशा सुनचाँदी व्यवसाय भएकोले उनले बुटवल–६ बिपीचोकमा घरभाडामा लिएर पसल सुरू गरे।
१५ वर्ष दुबईमा काम गरेर कमाएको पैसामा बैंकबाट डेढ करोड जति ऋण लिएर उनले पसल सुरू गरेका थिए। बुवा नन्दबहादुरको नाममा दर्ता गरी उनले पसलको नाम राखे ‘कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसल।’
बिपीचोक र अमरपथ बुटवलको सबभन्दा व्यस्त हुने बजार क्षेत्र पर्छ। बुटवलका अधिकांश सुनचाँदीका पसल तथा बैंकहरू समेत यही स्थानमा रहेकोले बिपीचोक र अमरपथलाई सुरक्षाको हिसाबले पनि अलि संवेदनशील क्षेत्रको रूपमा लिइन्छ।
डिलबहादुरले डा. योगेन्द्र अग्रहरीको घरको तल्लो तलाको सटर भाडामा लिएर पसल चलाइरहेका थिए।
दुई वर्षसम्मको कोरोना महामारीको कारण थलिएको व्यवसाय त्यसमाथि सुरक्षा चुनौती, जेनतेन चलिरहेको थियो।
सुनचाँदी खरिद गर्ने र बाहिरी व्यवस्थापनको काम डिलबहादुरले गर्थे, पसलमा बस्ने काममा भने बुवा नन्दबहादुर र श्रीमती अमृताले सघाउँथे।
अन्य साताको सोमबारजस्तै गत सोमबार पनि बुटवलका अधिकांश पसलहरू बन्द थिए। विवाहको लगन चलिरहेकोले सुनचाँदीका पसलहरूमा भने ग्राहकको भिडभाड नै थियो। देशभरजस्तै बुटवलमा पनि दिनभरजसो चुनावी माहोल थियो।
स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार दर्ता गर्ने अन्तिम दिन भएकोले राजनीतिमा संलग्न मात्र होइन सर्वसाधारण समेतको ध्यान त्यतै केन्द्रित थियो।
डिलबहादुरले पनि साँझ चाँडै नै पसलमा भएका गरगहना लकरमा राखेर सटरमा चाबी लगाएर निस्किएका थिए।
भोलिपल्ट बिहान पसलमा जाँदा भने अघिल्लो दिन लकरमा राखेका र बाहिर शो गरिराखेका सबै गरगहना र काँचो सुन समेत चोरी भएको छ। सटरमा लगाएको ताला र लकरमा समेत वेल्डिङ मेसिनको प्रयोग गरी चाबी फोरेर राति २ बजेको समयमा सम्पूर्ण सुनचाँदीका गरगहना चोरी गरिएको डिलबहादुरले बताए।
उनका अनुसार कतिपय विवाहको लागि अर्डर गरी तयार गरिएका र पसलमै तयारी अवस्थामा राखिएका ३ सय ६० तोलाका गरगहना र २३ तोला काँचो सुनसहित तीन सय ८३ तोला सुन र नगद पाँच लाख चोरी भएको बताए।
तयारी गरगहना, काँचो सुन र नगद गरी करिब ५ करोड मूल्य बराबरको धनमाल चोरी भएको उनले बताए।
डिलबहादुरले २० वर्ष कमाएको र साथीभाइ तथा बैंकबाट ऋण खोजेर सुरू गरेको पसलको सम्पूर्ण गरगहना चोरी भएकोले अब के गर्ने भन्ने सोच्नै नसकिएको उनले बताए।
‘के भयो, अब के गर्ने भन्ने नै सोच्न सकिएको छैन, अहिलेसम्मको कमाइ मात्र होइन जमानी राखेर बैंकबाट निकालेको ऋणसमेत कसरी तिर्ने!’ उनले भने।
पसल चोरीबारे सुनचाँदी व्यवसायी संघ रूपन्देहीले बुधबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा डिलबहादुरले आफूमाथि परेको बज्रपात मुखले व्यक्त गर्न नसके पनि उनको अनुहार र आँखामा देखिएको पीडाले व्यक्त गरिरहेको थियो।
उक्त घटनापछि पसलमा राखिएको सिसिटिभी क्यामेरा फुटेज हेर्दा दुई जना भारतीय नागरिकले चोरी गरेको देखिएको उनले बताए।
प्रहरीले पनि सोही सिसिटिभी क्यामेरामा देखिएको फुटेजको आधारमा अनुसन्धान सुरू गरेको जनाएको छ।
पछिल्लो एक सातादेखि डिलबहादुरको सुनचाँदी पसलको छेउमा खाली रहेको सटरमा कपडा पसल खोल्ने भन्दै दुई जना व्यक्तिले तयारी गरिरहेका थिए।
भारतीय नागरिक उनीहरूले घरधनी डा. योगेन्द्र अग्रहरीसँग एक वर्षको अग्रिम पैसा बुझाएर सटर भाडामा लिएका थिए।
सटरमा रंगरोगन र अरू डेकोरेसनको काम भइरहेको थियो। उनीहरू र डिलबहादुरको देखादेख भए पनि हेलमेल हुनेगरी बोलीचाली भने भएको थिएन। खाली रहेको सटरमा घरधनीले राम्रै व्यक्तिलाई व्यवसायको लागि भाडामा दिए होलान् भनेर उनी पनि ढुक्क थिए।
डिलबहादुरका अनुसार कपडा पसल चलाउने भनेका भारतीय ती व्यक्तिहरूले घरधनीलाई आधार कार्ड बुझाएर भाडा सम्झौता गरेका थिए।
उक्त आधार कार्डमा ती व्यक्तिको नाम राजीव शर्मा र ठेगाना किशन पुरा पुलिस चेक पोष्ट न्यू मुल्तान नगर मेरठ उल्लेख छ।
सुनचाँदी व्यवसायी संघ रूपन्देहीले भने पहिचान नखुलेका भारतीय नागरिकलाई घर भाडामा दिनु घरधनीको गम्भीर लापरबाही भएको बताएको छ।
पसलका सञ्चालक डिलबहादुरले योजनाबद्ध रूपमा चोरी गर्ने उद्देश्यले सटर भाडामा लिएको हुनसक्ने बताए।
उनले आफ्नो घरमा कस्तो व्यक्तिले भाडामा लिएको छ भन्ने कुरा घरधनीलाई समेत थाहा हुनुपर्ने बताए।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले सुन चोरी गर्नेहरूको खोजी भइरहेको बताए।
उनले सिसिटिभी क्यामेराको फुटेजमा देखिएका व्यक्तिको हुलियाको आधारमा नेपालभित्र र सीमामा समेत खोजी भइरहेको बताए।
‘चोरीमा संलग्नहरूको खोजीका लागि हामीले सुरक्षा संयन्त्र परिचालन गरेका छौं, केहीलाई शंकाको घेरामा राखेर पनि अनुसन्धान गरिरहेका छौं, आशा गरौं छिटोभन्दा छिटो उनीहरू पक्राउ पर्ने छन्।
प्रहरी नायब उपरीक्षक पौडेलले चोरीमा संलग्नहरूको खोजी कार्य र अनुसन्धान भइरहेको बताए पनि यसअघिका घटनालाई हेर्दा व्यवसायीहरू यो घटनामा पनि प्रहरीले चोरीमा संलग्नलाई पक्राउ गर्न नसक्ने बताउँछन्।
सुनचाँदी व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामकृष्ण विश्वकर्माले पटक-पटक सुनचाँदी पसलमा चोरी हुने गरे पनि संलग्नहरू भने पक्राउ नपरेको गुनासो गरे।
उनले रूपन्देहीमा सुनचाँदी पसल चोरीका घटना यसअघि पनि भइरहेकोमा सोमबार भएको चोरीको घटना भने रूपन्देहीमा अहिलेसम्मकै ठूलो भएको बताए।
यसअघि सैनामैना रानीबगियामा सुन पसलमा लुटपाट गर्न आएकाहरूले व्यवसायीलाई आक्रमण गरी घाइते बनाएका थिए। बुद्धनगरमा एक महिलाको सुन लुटेको घटना पनि सार्वजनिक भएको थियो।
निर्वाचनको मुखमा सुरक्षा व्यवस्था कडा पारिएको भनिए पनि व्यस्त बुटवलमा भएको यो घटनाले बुटवलको सुरक्षा व्यवस्था कति कमजोर रहेछ भन्ने प्रष्ट पारेको बताए।
‘यस्तो कमजोर सुरक्षा अवस्था छ, व्यवसायीहरूले कसरी ढुक्कले व्यवसाय गर्ने,’ उनले भने।
चोरीको घटनापछि बुटवलका सुनचाँदी व्यवसायीहरूले बुधबार सबै पसल बन्द गरेका छन्।
उनीहरूले झण्डै ५ करोड बराबरको सुनचाँदीका गरगहना र धनमाल चोरी भएको विरोधमा सबै सुनचाँदी पसल बन्द गरेका हुन्।
संघका अध्यक्ष विश्वकर्माले चोरीमा संलग्नलाई तत्काल पक्राउ गर्न प्रशासनलाई दबाब दिनका लागि पसल बन्द गरिएको बताए।