बुटवलका टिकाराम पौडेल २०६४ सालयताका तीन वटा निर्वाचनमा सहभागी भए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचन, २०७० सालको अर्को संविधानसभा र २०७४ सालमा भएका तीन वटै निर्वाचनमा उनी बुटवल सिद्धेश्वरी मतदान केन्द्रबाट मतदानमा सहभागी भएका थिए।
न्यून दृष्टि भएका कारण मतदान अधिकृतको सहयोगमा मतदानमा सहभागी भएका टिकारामलाई आफ्नो मत आफूले चाहेको र भनेको उम्मेदवारलाई पर्यो होला भनेर अहिले पनि विश्वास लागेको छैन।
तिलोत्तमाका टिकाराम घिमिरे पूर्ण दृष्टिहिन हुन्। घिमिरे पनि २०७४ सालको तीनै तहको मतदानमा सहभागी भए। आफ्नै बुवाको सहयोगमा मतदानमा सहभागी भएका घिमिरे पनि बुवाले आफूले भनेकै उम्मेदवारलाई मतदान गरिदिए होलान् भनेर ढुक्क छैनन्।
निर्वाचनमा आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न पाउनु हरेक मतदाताको नैसर्गिक अधिकार हो। तर, पूर्ण दृष्टि गुमाएका, न्युन दृष्टि भएका, सांकेतिक भाषाको प्रयोग गर्ने, बौद्धिक अपाङ्गलगायतका सबै खालका अपाङ्गता भएका मतदाता अधिकारबाट बञ्चित हुँदै आएका छन्।
हरेक पटकको निर्वाचनमा सबै खालका अपाङ्गता भएका मतदाताले मतदान त गर्दै आएका छन्, तर उनीहरू टिकाराम पौडेल र घिमिरेले भनेजस्तो मतदानमा लगिएको सहयोगी आफूले भनेकै उम्मेदवारलाई मतदान गरिदिए होलान् भन्नेमा ढुक्क छैनन्।
निर्वाचन कार्यालयले दृष्टिहिन, न्यून दृष्टि, न्युन श्रवणशक्ति र हरेक प्रकारका शारीरिक अपाङ्गता भएका व्यक्तिलाई घरपरिवारको एक जना सदस्य वा मतदान अधिकृतलाई सहयोगीको रूपमा लगेर मतदान गर्न दिने व्यवस्था गरेको छ।
तर, न्युन दृष्टि र पूर्ण दृष्टिहिन मतदाताले भने टिकारामजस्ता आफूले चाहेको व्यक्तिलाई नै मतदान भयो भनेर बिश्वस्त हुने आधार छैन। सहयोगी लैजानु पर्ने अवस्थाका मतदाताले आफुले रोजेको सहयोगी लैजान पाउनुपर्ने भए पनि मतदान अधिकृत वा घरपरिवारको एक जना सदस्यलाई लैजानुपर्दा आफूले चाहेको व्यक्तिलाई मतदान गर्न नसकिएको उनीहरूको अनुभव छ।
‘सहयोगीले मतदान गर्दा मैले भनेको उम्मेदवारलाई नदिएर उसले चाहेको व्यक्तिलाई पनि मत दिएको हुनसक्छ, अर्को कुरा परिवारका सदस्यलाई यसैलाई भोट दिनु पनि भन्न सकिदैन। हिम्मत जुटाएर आफूले चाहेको व्यक्तिको नाम भन्यौं भने पनि सबैलाई थाहा हुन्छ,’ घिमिरेले भने।
पौडेल पनि गोप्य मतदान भनिए पनि आफूहरू जस्तै व्यक्तिको मतदान गोप्य हुन नसकेको बताउँछन्। ‘भन्नलाई त मतदानलाई गोप्य भनिएको छ, तर आफूजस्तै अरूको सहारामा मतदान गर्नेको मत गोप्य हुन सकेको छैन,’ पौडेलले भने।
नेत्रहीन युवा संघ नेपाल रूपन्देहीका अध्यक्षसमेत रहेका पौडेलले अपाङ्गता भएका मतदाताका लागि सहयोगीका रूपमा एकाघरका परिवार सदस्य वा मतदान अधिकृतलाई सिमित गर्नुको सट्टा मतदाताले इच्छाएको व्यक्तिद्वारा मतदान गर्न सक्ने व्यवस्था लागू गर्नुपर्ने बताउँछन्।
न्युन दृष्टि भएका मतदातालाई चुनाव चिन्ह ठूलो भएको मतपत्र, त्यही किसिमको स्वस्तिक छापको व्यवस्था गरिनुपर्ने उनको माग छ। ‘चुनाव चिन्ह र मतपत्र ठूलो भइदिएको भए म आफैंले मतदान गर्न सक्थे, तर सानो मतपत्र भएका कारण अरूकै सहारा लिनुपर्यो, मेरो मत सदुपयोग भयो होला भन्नेमा म ढुक्क छैन’, उनी भन्छन्।
पत्रकारसमेत रहेका घिमिरे राज्यका हरेक सेवा सुविधाबाट बञ्चित अपाङ्गता भएकाहरू मतदान गर्नबाट पनि बञ्चित हुनुपरेको बताउँछन्।
विद्युतीय मेसिनबाट मतदान गर्ने व्यवस्था भए आँखाको दृष्टि नभएकाले आफैं मतदान गर्न सक्ने उनले बताए। शारीरिक अपाङ्गता भएका मतदातालाई मतदानस्थलसम्म सहज रूपमा जाने/आउने र व्हिलचियर सहजै गुडाउन पर्याप्त स्थल नहुने उनले जिकिर गरे। ‘श्रवणशक्ति नभएका तथा न्यून भएका मतदातालाई सांकेतिक भाषाको दोभासे व्यवस्था छैन, न्युन दृष्टि भएकालाई मतपत्रका चिन्ह देखिने म्याग्रिफाइङ ग्लासको व्यवस्था हुनुपर्ने, दृष्टिबिहीनका लागि छामेर मत पेटिकामा मतपत्र खसाल्न मतपेटिकामा ट्याक्टाइल स्टिकर टाँस्नुपर्ने, ब्रेललिपी र ठूला छापामा मतपत्र निर्देशिका बनाइनुपर्छ,’ उनले भने।
मतदाता नामावली दर्ता गर्दा नै अपांगता भएका मतदाता कति छन् र उनीहरूलाई कस्ता किसिमका सहायता आवश्यकता पर्छ? भन्नेबारे तथ्यांक समेत संकलन गर्नुपर्ने उनीहरूको माग छ।
अपांगता भएका मतदातालाई मतदानस्थलसम्म लैजाने व्यवस्था नहुँदा जुन उम्मेदवार वा राजनीतिक दलले ल्याउने लैजाने व्यवस्था गर्छ उसैका निम्ति मतदान गर्न नतमस्तक हुनुपर्ने परिस्थिति रहेको उनीहरुको अनुभव छ।
राजनीतिक दल, निर्वाचन आयोग, सरकार कसैले पनि आफूहरूको आवाज नसुनेको उनीहरुको गुनासो छ।
१० वर्ष पहिलेको तथ्यांक अनुसार, नेपालभरि सम्पूर्ण खालका अपाङ्गता भएकाको जनसंख्या ५ लाख माथि छ। ती मध्ये १ लाख भन्दा धेरै दृष्टिबिहीन रहेको नेत्रहीन संघको दाबी छ।
रूपन्देहीमा पनि सबै प्रकारका अपाङ्गता भएकाहरू १० हजार र दृष्टिविहिन र न्यून दृष्टि भएका मात्रै २ हजार १ सय १ जना दृष्टिहिन र न्यून दृष्टि भएकाको संख्या रहेको पौडेलको दाबी छ।