अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गर्नुपर्ने उद्धारको अभ्यास गरिएको छ।
आपतकालीन अवस्थामा विमान अवतरण गराउनुपर्दा र जहाज दुर्घटना पश्चात उद्धारलाई कसरी व्यवस्थित र छिटो छरितो बनाउन सकिन्छ भनेर तयारीको लागि उद्धार अभ्यास गरिएको हो।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार विमानस्थलमा रहेका फायर फाइटर, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहितको उद्धार टोली र उद्धार पछिको उपचारको लागि स्वास्थ्यकर्मीको टोलीले अभ्यास गरेका थिए।
एम्बुलेन्स तथा दमकलसमेतको उक्त टोलीले दुर्घटनामा परेको जहाजबाट घाईतेको उद्धार गरि सुरक्षित स्थानमा पुर्याएर तत्काल गर्नुपर्ने उपचारको समेत आपतकालिन अभ्यास गरेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्ता अभ्यासहरु समय समयमा हुने गरेको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक गोविन्द प्रसाद दाहालले जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल सञ्चालन र आपतकालीन उद्धारमा सरोकारवालाको सक्रियतालाई व्यवहारिक रूपमै प्रयोग गर्न यस्तो अभ्यास गरिएको बताए।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको फायर फाईटरलाई समेत अत्याधुनिक बनाईएको र प्राविधिकको अभ्यासलाई पनि व्यवहारिक बनाउन यस्तो अभ्यासले सघाउ पुर्याउने दाहालले बताए।
आन्तरिक विमानस्थलमा तयारी र अभ्यासका काम हुने भए पनि अन्तराष्ट्रिय बिमानस्थलमा रातीमा वृहत अभ्याससहित पहिलो पटक कार्यक्रम गरिएको उनले जानकारी दिए। यसले भोलि जहाज वास्तविक रूपमा दुर्घटना हुँदा उद्धार टोलीलाई नआत्तिई घाइतेको मनोबल बढाउदै उद्धार गर्न सहज हुने उनको बुझाई छ। ‘भगवानको कृपाले कुनै दुर्घटना नहोस् तर कुनै पनि दुर्घटना भए हामी त्यसको सामना गर्न तयार छौं भन्ने सन्देश यो अभ्यासले दिएको छ,’ दाहालले सेतोपाटीसँग भने।
आपतकालीन अवस्थामा जहाज अवतरण गराउनुपर्दा जहाजभित्र रहेका यात्रु अतालिने र दुर्घटना हुने जोखिम रहने भएकोले यात्रुहरुलाई मनोपरामर्शसहित घाइते भएको अवस्थामा उपचार गर्ने गरि अभ्यास गरिएको भिम अस्पताल भैरहवाका चिकित्सक शुभम शर्माले बताए।
आईतबार साँझ ७ बजेदेखि गरिएको उक्त अभ्यासमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड भित्र रहेर फायर फाइटर, सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली विमानस्थलमा एम्बुलेन्स तथा दमकल समेत तयारी अवस्थामा राखी फुल स्केलको आपतकालिन अभ्यास गरिएको थियो।
हिले विमानस्थलबाट भैरहवा आउँदै गरेको मुकु एयरलाइन्सको ए ३३० प्रकारको फ्लाइट नम्बर एमयुकेयु १८१ विमानको इन्जिनमा एक्कासी आगो लाग्दा आकस्मिक अवतरणको क्रममा विमान दुर्घटनामा परेको काल्पनिकतामा उक्त अभ्यास गरिएको विमानस्थलले जनाएको छ।
२ सय यात्रु बोकेर आएको उक्त जहाजको बायाँ ईन्जिनमा एक्कासी आगो लागेपछि आपतकालीन अवतरण गराउँदा ५० जना यात्रुको मृत्यु भएको र १ सय ५० जना यात्रु घाइते भएको दु:खद घटना कल्पना गरि उद्धार टोली खटिएको थियो।
उक्त अभ्यास गर्दाको दृश्य हेर्दा विमानस्थलमा वास्तविक रुपमै कुनै ठूलो दुर्घटना भएको आभास हुन्थ्यो।
आगामी जेठ २ गते परेको बुद्ध पूर्णिमाको दिन अन्तर्राष्ट्रिय उडानको तयारी गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ वर्षको पहिलो दिन वैशाख १ गते नेपाल वायुसेवा निगमको वाईडबडी जहाजले परिक्षण उडान गर्दैछ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा खराब मौसममासमेत जहाज अवतरण गर्न सक्ने गरि उपकरण जडान गरिएकोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेका जहाज पनि यहाँ अवतरण गर्न सक्नेछन्।
अत्याधुनिक र हाई भिजिविलीटी क्षमताका उपकरण जडान गरिएकोले रातीको समयमा समेत यहाँ विमानहरु सहजै अवतरण गर्न सक्नेछन्। विमानस्थलका अनुसार, विमान अवतरणका लागि कम्तिमा १ हजार ५ सय मिटरको भिजिविलिटी आवश्यक पर्नेमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ६ सय मिटरमैं अवतरण गर्न सकिने गरि उपकरण जडान गरिएको छ।