करिब पाँच वर्षअघि आफू बुटवल उपमहानरपालिका, वडा नम्बर १६ को वडाध्यक्ष निर्वाचित भएपछि रामप्रसाद रेग्मीले वडामा चाँडै गर्नु पर्ने र पाँच वर्षमा गर्न सकिने कामबारे सुझाव संकलन गर्न सर्वपक्षीय भेला बोलाए।
भेलामा अनेक सुझावहरूका साथ कपरकट्टीमा रहेको नीलदह संरक्षित र व्यवस्थित गरेर पर्यकटीय स्थलका रूपमा विकास गर्न सबैले जोड दिए।
स्थानीय बुढापाकाहरूका अनुसार नीलदह सय वर्षभन्दा बढी पुरानो ताल मानिन्छ। हाल यो ताल कपरकट्टी चपरखोनवा नामले चिनिन्छ।
ताल वरपरका गाउँमा थारू समुदायको बाहुल्य रहेका बस्ती थिए। थारू भाषाबाट चपरखोनवा नाम चल्तीमा आयो। तत्कालीन अवस्थामा ताल करिब २५ बिघा क्षेत्रफलमा फैलिएको थियो। ताल वरपरका गाउँमा बसोबास बाक्लिँदै गयो। यससँगै ताल मानिसको अतिक्रमणमा पर्न थाल्यो। तालमा वर्षातको पानीले बगाएर ल्याउने गेग्रान थुप्रिँदै गयो।
पानीले भरिएर नीलो देखिनु पर्ने ताल दलदलमा परिणत हुँदै गयो। ताल जलकुम्भी र विभिन्न मिचाहा वनस्पतिले ढाकिँदै र पुरिँदै गयो। बुटवल उपमहानगरले करिब पाँच वर्षअघि गरेको नापजाँचमा ताल तीन बिघामा सीमित भएको पाइएको थियो। बाँकी भाग खेत र दलदल थियो।
लम्बाइको तुलनामा निकै कम चौडाइ रहेको तालको सरदर गहिराइ ७ मिटरसम्म छ। अतिक्रमण हटाएर बाहिरी भूभागसहित तालको क्षेत्रफल २५ बिघा नै कायम भएको बुटवल उपमहानगरले जनाएको छ।
वडाध्यक्ष रेग्मीले चलाएको छलफलबाट आएको निष्कर्ष र सुझावअनुसार वडा नम्बर १६ कार्यालयले उक्त ताल व्यवस्थित गर्नेसम्बन्धी प्रस्ताव तयार गर्यो।
‘म आफैंलाई पनि ताल संरक्षण र विस्तार गर्न सकियो भने पर्यटकीय गन्तव्य बनाउन सकिन्छ भन्ने लागेको थियो,’ वडा अध्यक्ष रेग्मी भन्छन्, ‘स्थानीय अगुवाहरूको सुझाव आएपछि प्राथमिकताका साथ मैले कार्यपालिका बैठकमा प्रस्ताव लगेँ।’
ताल ‘नीलदह’ र ‘चपरखोनवा’ भनेर दुइटा नामले चिनिने भएपछि वडाका अगुवाले एउटै नाम राख्न प्रस्ताव गरे। केहीले ताल नजिकै नरेश्वर धाम रहेकाले ‘नरेश्वर ताल’ राख्न पनि सुझाएका थिए। धेरैले भने पुरानो नाम नीलदह नै कायम राख्न वा ‘चपरखोनवा’ मा ‘कपरकट्टी’ थप्न सुझाए।
अन्ततः तालको नाम ‘कपरकट्टी चोपरखोनवा’ राखियो। वडाध्यक्ष रेग्मी तालको नाम स्थानीय अगुवाकै छलफलको निष्कर्षअनुसार राखिएकाले नाममा कुनै विवाद नरहेको बताउँछन्। स्थानीय समुदायको सम्मान हुने गरी तालको नाम राखिएको रेग्मीको भनाइ छ।
‘कपरकट्टी’ स्थानीय ठाउँको नाम हो। ‘चपरखोनवा’ भनेको थारू भाषामा ‘पानी जमेको ठूलो खाडल’ हो।
तीन वर्षअघि वरपरको अतिक्रमण हटाएर तालको संरक्षण र विस्तारको काम सुरू भएको थियो। हाल डुंगा सयरसहितको आकर्षक तालको रूपमा विस्तार भएको छ। लेऊ, जलकुम्भी र मिचाहा वनस्पतिले ढाकिएर पानी जम्ने दलदल बनेको क्षेत्र अहिले बुटवलबासीमाझ ‘मिनी-फेवाताल’ भनेर चिनिन थालेको छ।
तीन वर्षमा तालमा जमेको गेग्रान हटाउने र वरिपरि डिल लगाउने काम गरिएको छ। अहिले आगन्तुकहरू तालमा डुंगा सयर गर्न थालेका छन्। वडा अध्यक्ष रेग्मीका अनुसार उपमहानगरले ताल संरक्षण र विस्तारका लागि पहिलो र दोस्रो वर्ष ४०–४० लाख रूपैयाँ बजेट दिएको थियो। चालु आर्थिक वर्ष गौरवको आयोजना मानेर चार करोड ८२ लाख रूपैयाँ छुट्याएको छ।
लुम्बिनी प्रदेश सरकारले पहिलो वर्ष ५० लाख र दोस्रो वर्ष २० लाख रूपैयाँ दिएको थियो। चालु आर्थिक वर्षमा भने प्रदेशको पूर्ववर्ती सरकारले १० लाख रूपैयाँ छुट्याएकोमा वर्तमान सरकारले कटौती गरिदिएको वडाध्यक्ष रेग्मीले बताए।
बुटवल उपमहानगरले ताल ठेक्कामा लगाएर आम्दानी समेत गर्न थालेको छ। तालमा पर्यटकका लागि डुंगा सञ्चालनका साथै माछापालन गरिएको छ। वडा अध्यक्ष रेग्मीका अनुसार डुंगा सञ्चालन गर्न र माछा पालन गर्न पाँच वर्षका लागि ४५ लाख रूपैयाँमा ठेक्कामा दिइएको छ।
तालभित्र प्राकृतिक मूल रहेकाले हिउँद याममा समेत पानीको परिमाण धेरै नघट्ने स्थानीयबासीहरू बताउँछन्।
आफूहरूको सुझाव मानेर ताल संरक्षण र विस्तार गरेकोमा स्थानीयबासिन्दा खुसी छन्। ताल व्यवस्थापन समितिका अध्यक्ष खेमलाल कँडेलले आफूहरूको सुझाव र समन्वयमा जनप्रतिनिधिले चासो राखेर इच्छाशक्तिसमेत देखाउँदा ताललाई अकर्षक पर्यटकीय गन्तव्य बनाउन सकिएको बताए।
उनले भने, ‘झाडीले ढाकिएको घोलामा यति छिटै पानी भरिएर डुंगा चलाउन सकिएला भन्ने कल्पना पनि गरिएको थिएन। तर इच्छाशक्ति भएपछि गर्न सकिँदो रहेछ।’
तालमा थुप्रिएको गेग्रान निकालेर डेढ वर्षअघि नै डुंगा सञ्चालन गरिए पनि ताल वरिपरिको संरचना निर्माणको काम चालु छ। यस वर्ष ठेक्का सम्झौता गरिएको चार करोड ८० लाख रूपैयाँबाट तालवरिपरि पदमार्ग, टिकट घर, सार्वजनिक शौचालय, डुंगा फर्किने अन्तिम बिन्दुमा बेलिब्रिज निर्माण र विद्युतीकरणको काम भइरहेको छ।
बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीका अनुसार कपरकट्टी चपरखोनवा ताललाई नजिकै रहेको नरैनापुर धाम र अन्य पर्यटकीय तथा ऐतिहासिक स्थलहरूसँग जोडेर विकास गर्ने योजना छ।
सहरमा मौलिक संस्कृति हराउँदै गए पनि गाउँको मौलिकता बचाउन सके पर्यटकको रोजाइ बन्ने निष्कर्षका साथ उपमहानगरले पर्यटकीय क्षेत्रहरूको विकासलाई प्राथमिकतामा राखेको सुवेदीले बताए।
पशुपतिनाथको समकालीन मानिने नरैनापुर धाम हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थल मानिन्छ। यो धाममा नेपालका विभिन्न ठाउँबाट र भारतबाट समेत धार्मिक पर्यटक र अध्येताहरू आउँछन्।
उपप्रमुख गुमादेवी आचार्यका अनुसार बुटवल उपमहानगर निकट भविष्यमै उक्त ताललाई लक्षित गरेर सुविधा सम्पन्न रिसोर्ट, स्थानीय कला, सँस्कृति झल्किने होमस्टे, वनभोजस्थल, स्विमिङ पुल, बाल उद्यान जस्ता पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजनामा छ।