इलामका विशाल सारू मगर ढुंगामा मानव जीवन र सँस्कृति खोज्दै हिँड्न थालेको एक दशक बढी भयो। उनलाई खोल्साखोल्सी र पाखापखेरामा पल्टिएका हरेक ढुंगाभित्र जीवन लुकेको अनुभूति हुन्छ।
पछिल्ला केही दिनदेखि उनी बुटवलमा यस्तै निर्जीव ढुंगाभित्र लुकेका जीवन खोज्दै छन्। गत फागुन १ गतेदेखि मणिमुकुन्द सेन उद्यान संरक्षण समितिद्वारा आयोजित मूर्तिकला कार्यशालामा भाग लिन उनी बुटवल आएका हुन्।
फूलबारीबाट पूर्वतर्फ ढुंगैढुंगा थुप्रिएको खोल्सामा उनी मूर्ति कुँदिरहेका छन्। बडेमानको ढुंगामा छिनो र हतौडा चलाउँदै जाँदा उनले ढुंगामा जोडी नाग बेरिएर बसेको आकृति तयार गरे।
कलामा स्नातकोत्तर गरेका विशाललाई मूर्ति कुँद्ने कामका लागि व्यवस्थापनकी विद्यार्थी सुरक्षा काफ्लेले सघाएकी छन्। कार्यशालाको समेत व्यवस्थापनका लागि आएकी सुरक्षा कलाकारहरूको काम हेर्दै जाँदा रमाइलो लागेर सहयोगीका रूपमा आफूले काम थालेको बताउँछिन्।
पाटनका भूषण दुवाल पनि मूर्तिकलामा लागेको १२ वर्ष भयो। सम्पदा क्षेत्रमै जन्मिएर त्यहीँ हुर्किएका भूषणको रूचि सानैदेखि कला क्षेत्रमा थियो। भूषणका दाजुहरू पहिलेदेखि नै काठको कला (उड क्राफ्ट) व्यवसायमा थिए। काठबाट बनाइएका आँखीझ्याल र अनेक प्रकारका मूर्तिहरूका वरिपरि उनको बाल्यकाल बित्यो।
अहिले उनले ढुंगामा मूर्ति कुँद्ने कामलाई आफ्नो पेसा बनाएका छन्।
'हेरिटेज (सम्पदा) क्षेत्रमा जन्मिएर हुर्किएको भएर होला सानैदेखि आर्ट (कला) मा रूचि थियो। पाटन र भक्तपुरका विभिन्न कला र आकृति हेरेर बाल्यकाल बित्यो,' भूषण भन्छन्, 'बाल्यकालमा यसरी आफूले पनि आर्ट गर्न सकिएला भन्ने लागेको थिएन, समय बित्दै जाँदा सानैदेखिको रूचि नै पेसा बनेको छ।'
भूषण पनि फूलबारीमा चलिरहेको कार्यशालामा मूर्ति कुँदिरहेका छन्। 'गार्डेन अफ टेम्पल' थिममा उनी ढुंगामा हिन्दु मन्दिरमा हुने विभिन्न आकृतिहरू कुँद्दै छन्। उनले एउटै ढुंगामा माथिल्लो भागमा प्यागोडा शैलीको छानो, अगाडिको भागमा शंख, नाग, हात्ती लगायत आकृति कुँदेका छन्।
वनारस हिन्दु विश्वविद्यालयबाट मूर्तिकलामा स्नातक गरेका भूषणले मूर्तिकलामै त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्। पछिल्ला केही वर्षमा कलाको मूल्य बढेपछि यसैलाई पेसा बनाउन सकिएको उनको भनाइ छ।
'विभिन्न क्षेत्रमा पार्क बन्न थालेपछि भगवानका मूर्तिसँगै विभिन्न विभूतिका शालिक निर्माण क्रम पनि बढेको छ,' भूषण भन्छन्, 'घरमा सजाउन र मायाको चिनो दिन पनि कलात्मक वस्तुहरू प्रयोग हुँदा हामीजस्ता कलाकारलाई राहत मिलेको छ।'
चन्द्रागिरि नगरपालिकाका आकाश बलामी मूर्तिकला कार्यशालाका सहभागीमध्ये एक हुन्। एउटै ढुंगामा आकृति कुँदिरहेका उनले मानिसहरू गुफामा बस्ने समयको समाज, त्यो समयको संस्कृति र प्रकृति ढुंगामा उतार्न लागेको बताए।
प्राचीनकालमा गुफामा बस्ने मानिसले बनाएका मूर्तिहरूमा पाइने समाज र संस्कृतिको झलकबाट प्रभावित भएर आफू मूर्तिकलामा लागेको उनको भनाइ छ।
भारतको शान्ति निकेतन कलेजमा कला विषयमा स्नातकोत्तरका विद्यार्थी आकाश ढुंगासँगै माटाको, काठको र सिमेन्टको मूर्ति बनाउँछन्। उनलाई मूर्ति कुँद्नमा मात्र होइन पेन्टिङमा पनि उत्तिकै रूचि छ।
विज्ञान विषयमा १२ कक्षा पूरा गरेका आकाश फिजिक्स मुख्य विषय लिएर बिएससी पढ्ने योजनामा थिए। अचानक उनले आफू फिजिक्स विषयका लागि उचित नरहेको ठाने अनि पढाइको क्षेत्र नै परिवर्तन गरेर आर्ट अर्थात कला रोजे।
'फिजिक्स पढेर जीवनभर त्यसैमा लाग्न सक्छु जस्तो लागेन,' उनले भने, 'सानैदेखि कलामा रूचि भएकाले यसमा जीवन बिताउन सक्छु जस्तो लाग्यो। अनि बिएससी योजना त्यागेर यो क्षेत्रमा लागेँ।'
आकाश आफूले बनाएका मूर्तिहरूले प्राचीन समाज र सँस्कृति बोलोस् भन्ने चाहन्छन्।
'मैले छनोट गर्ने विषय समाज, संस्कृति र प्रकृति नै हो। कतिपय मूर्ति र कला बुझ्न कि त पहिले नै त्यसबारे थाहा पाएको हुनु पर्छ, कि हेरेपछि त्यसबारे बुझ्नु पर्छ,' उनी भन्छन्, 'मैले बनाएका मूर्ति हेरेर समाज सजिलै बुझ्न सकियोस् भन्नेमा म सचेत छु।'
विशाल, भूषण र आकाशसँगै अहिले फूलबारीमा चलिरहेको कार्यशालामा देशका विभिन्न जिल्लाबाट आएका १७ जना कलाकार मूर्ति कुँदिरहेका छन्। ढुंगैढुंगा थुप्रिएको खोल्सामा अहिले विभिन्न आकृति ठडिएका छन्।
मणिमुकुन्द सेन उद्यान संरक्षण समितिले ढुंगाका मूर्तिहरू राखेर 'मुनामदन पार्क' निर्माण गर्ने भएको छ। मूर्ति कुँद्ने कार्यशाला यही फागुन १६ गतेसम्म चल्ने छ। मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष खेमप्रसाद लुइँटेलका अनुसार पार्कको सौन्दर्यीकरण गर्न र पर्यटकको आकर्षण बढाउन मूर्तिकला कार्यशाला आयोजना गरिएको हो।
फूलबारी लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ। यहाँ आन्तरिक र बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ।