प्युठानको नौबहिनी गाउँपालिका-६ लुङका सुदन जिसी भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसको डिलक्स एसी वार्डमा आइतबार बिहान ओहोर-दोहोर गरिरहेका थिए। मेडिकल कलेजको तेस्रो तलामा रहेको उक्त वार्डको बेडमा सुदनकी श्रीमती सावित्रा, बहिनी रिमा र नवविवाहित बहिनीज्वाइँ दानबहादुर खड्कालाई लस्करै सुताइएको थियो।
मेडिकल कलेजको तेस्रो तल्लामा रहेको डिलक्स एसी वार्डको १७ नम्बर बेडमा रिमालाई राखिएको छ। सँगै रहेको १६ नम्बर बेडमा दानबहादुर छन्। सोही वार्डको अर्को बेडमा बेहुलीकी भाउजू (ठूलो बुवाकी बुहारी) सावित्रालाई राखिएको छ।
सुदन शनिबार बिहान प्युठानको गौमुखी गाउँपालिका-६, लिवाङ ओखरपाटामा जन्ती बोकेको ग १ ज ५०९२ नम्बरको जिप दुर्घटनामा परी घाइते भएकी बेहुली रिमाका दाजु (ठूलो बुवाका छोरा) हुन्।
नयाँ जीवनको सुरूवात गर्ने भन्दै विवाह गरेका जोडी अहिले दुर्घटनामा घाइते हुँदाको गहिरो पीडा र आफन्त गुमाउँदाको शोकका साथ अस्पतालको बेडमा पल्टिएको छ। उनीहरूलाई राखिएको वार्डभित्र र बाहिर आफन्त मलिन अनुहार लिएर बसिरहेका छन्।
१८ वर्षीया रिमा कक्षा १० पढ्दै थिइन्, २५ वर्षीय दानबहादुर भने रोजगारीको लागि विदेश गएर केही महिना पहिले फर्किएका थिए। पक्षघातका कारण आमाको एउटा हात नचल्ने भएपछि रिमा धेरै टाढा विवाह गर्ने पक्षमा थिइनन्। यसअघि दाङबाट विवाहको कुरा भए पनि टाढा हुने भन्दै उनले इन्कार गरेकी थिइन्।
रिमा र दानबहादुरको विवाहबारे भने तीन-चार दिन अघिमात्रै कुराकानी भएको थियो। रिमा नौबहिनी गाउँपालिका-६ लुङकी हुन्। दानबहादुरको घर गौमुखी गाउँपालिकाको लिवाङ हो। रिमाका ठूलो बुवा ईश्वर जिसीका अनुसार लुङ र लिवाङ हिँडेरै गए पनि दुई घन्टाको बाटो भएकाले बेलाबेला पक्षघातबाट थलिएकी आमाको रेखदेख गर्न पनि सजिलो हुने भन्दै रिमा विवाहका लागि राजी भएकी थिइन्।
विवाह गर्न राजी भए पनि माइती पक्षले 'अहिले पानी परिरहेकाले मौसम ठीक नभएको र लगन पनि त्यति राम्रा नभएको' भन्दै फागुन लागेपछि मात्रै विवाह गर्ने प्रस्ताव गरेका थिए। बेहुला पक्षले अहिले नै विवाह गर्ने भनेपछि माइती पक्ष पनि सहमत भएका थिए।
‘हामीले त अहिले मौसम पनि ठीक छैन, लगन पनि त्यति राम्रो छैन। फागुन लागेपछि विवाह गरौंला भनेका थियौं। तर घरपट्टीबाट धेरै टाढा छैन केही हुँदैन भन्नुभएपछि तयार भयौं,’ ईश्वरले भने।
शुक्रबार साँझ विवाहको साइत जुराइएको थियो। ईश्वरका अनुसार शुक्रबार दिउँसो ४ बजेका लागि जन्ती बोलाइए पनि ७ बजेतिर मात्रै उनीहरू आइपुगेका थिए।
बेहुलीलाई सिन्दुर लगाइदिने र अन्य पूजापाठको काम बेहुलाको घरमै लगेर गर्ने भनेपछि माइती पक्षले सामान्य टीकाटालो र खानपिन गराएपछि राति ११ बजेतिर बेहुली लिएर जन्ती फर्किएको थियो।
पानी परिरहेको र रात पनि छिप्पिइसकेकाले शनिबार बिहान मात्रै जन्ती फर्किन माइती पक्षले आग्रह गरेका थिए। तर शनिबार बेहुली भित्र्याउन राम्रो नहुने भन्दै राति नै जन्ती हिँडेको थियो।
‘हामीले त भोलि बिहान मात्र जानुहोला भनेर धेरै अनुरोध गरेका थियौं। जन्ती पट्टिकाले मान्नुभएन, यस्तो हुनलाई रहेछ,’ ईश्वरले भने।
११ बजेतिर दुलही अन्माएर सुतेका आफूहरू बिहान उज्यालो नहुँदै जन्ती बोकेको जीप दुर्घटनामा परेको सुनेपछि शोकमा डुबेको उनले बताए।
‘११ बजे हिँडेका जीप दुई बजेतिर दुर्घटनामा परेछ। अप्ठ्यारो बाटो पार गरिसकेकोले अझै १५ मिनेट अगाडि गएको भए बेहुलाको घरमै पुगिने थियो,’ उनले भने।
जीपका चालकसहित ८ जनाको मृत्यु भइसकेको र घाइते अवस्थामा रहेका पनि आफन्त गुमाउँदाको शोक र घाइते हुँदाको पीडाको कारण दुर्घटना कसरी भयो भन्ने अवस्थामा छैनन्।
सावित्राकी दिदी मन्जु जिसीका अनुसार हिउँ परिरहेकाले बाटो चिप्लो भएको र बाटोमा रहेको माटोको थुप्रोलाई तर्काएर गाडी अगाडि बढाउँदा दुर्घटना भएको हुनसक्ने बताइन्।
‘बहिनी सावित्रा, दुलहा र दुलही जिपको सबैभन्दा पछाडिको सिटमा थिए रे। एक्कासि जिप तल खसेको मात्र थाहा पायौं त्यसपछि केही थाहा पाइएन भन्छन्,’ घाइतेहरूलाई उद्धृत गर्दै मन्जुले भनिन्।
मन्जुका अनुसार बेहुला दानबहादुर जीप पल्टिएपछि माथि नै झ्यालबाट बाहिर खसेका थिए। जीपबाट बाहिर खसेपछि केहीबेर बेहोस भएका दानबहादुरले होस खुलेपछि आफैंले चिच्चाएर वारिपारिका घरमा गुहार मागेका थिए।
‘सबैभन्दा पहिले दुलहाको होस् आएको रहेछ, उहाँले चिच्चाएर गुहार मागे पनि राति भएकाले धेरै पछि मात्रै गाउँले थाहा पाएका रहेछन्,’ मन्जुले भनिन्।
राति भएकाले समयमा उद्धार नहुँदा धेरैको ज्यान गएको उनले बताइन्। ‘दिउँसोको समय भए त दुर्घटना पनि हुने थिएन होला, राति सबै निदाएको र हिउँ परिरहेकाले उद्धार हुन पनि समय लाग्यो,’ उनले भनिन्।
दुर्घटनामा परी ६ जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी ८ जनाको मृत्यु भएको छ। पाँच जना घाइते छन्। ईश्वरका अनुसार बेहुला दानबहादुरका भाइ नरेश खड्काको अवस्था गम्भीर छ। दानबहादुर र सावित्राको अवस्था भने खतरामुक्त रहेको अस्पतालले जनाएको छ।
अर्की घाइते २१ वर्षीया हरि बुढामगरको पनि देब्रे खुट्टामा गहिरो चोट लागेको छ। हरि दुर्घटनामा परी मृत्यु भएका जीपका मालिक बलबहादुर बुढाकी छोरी हुन्। जीपका चालक घर गएकाले आफूले पनि जीप चलाउन जानेकाले बलबहादुर आफैंले जन्ती लिएर गएका थिए। जन्ती छोडेर घर फर्किँदा एक्लै हुने भन्दै उनले छोरी हरिलाई साथी लिएर गएका थिए।
बेहुली रिमाको दाहिने हात नाडीदेखि तल काटिएको छ। दुबै खुट्टाको घुँडामा चोट लागेको छ भने शरीरका विभिन्न भागमा थिलथिलिएको छ। ‘पक्षघात भएकी आमालाई सहारा दिन्छु भन्थी, उसकै एउटा हात गुम्यो,’ ठूलो बुवा ईश्वरले भने।
रिमाले घरबाट अन्मिएर जान लागेपछि भाउजु र बहिनीलाई पनि लैजाने भनेपछि उनीहरू पनि सँगै हिँडेका थिए। भाउजु सावित्री घाइते भई ज्यान जोगिए पनि बहिनी १६ वर्षीया विपना जिसीको भने घटनास्थलमै मृत्यु भइसकेको छ।
‘बहिनीको मृत्यु भएको कुरा त रिमालाई भनेका पनि छैनौं, उसले पनि कसैसँग केही सोधेकी छैन,’ ईश्वरले भने, ‘एउटा छोरीको शनिबार राति दाहसंस्कार गरी भाइ छोरीको काजकिरियामा बसेको छ। म अर्की छोरी, बुहारी र ज्वाइँको रेखदेखमा छु।’
वल्लोपल्लो बेडमा रहेका रिमा र दानबहादुर आपसमा पनि बोल्न नसक्ने अवस्थामा रहेको मन्जुले बताइन्। मागी विवाह भएको कारण बेहुला बेहुलीबीच धेरै कुराकानीसमेत हुन पाएको थिएन।
‘के भनेर बोल्ने भनेर होला, हेराहेर भए पनि बोल्न भने सक्नुभएको छैन, अहिले त रिमाको अप्रेसन गर्ने भन्दै तल लैजानुभएको छ,’ उनले भनिन्। शनिबार चुँडिएको हातको पुनः अप्रेसन गर्ने भन्दै उनलाई आइतबार बिहान शल्यकक्षमा लगिएको थियो। दानबहादुर भने मुख ढाकेर सुतेका थिए।
दुर्घटनामा परी गौमुखी गाउँपालिका ६ लिवाङका ३९ वर्षीय बसन्त खड्का, उनकी श्रीमती ३९ वर्षीया बसन्ती खड्का र ११ वर्षीया छोरी एलिसा खड्काको घटनास्थलमै मृत्यु भएको छ। मृतक बसन्त खड्का नेपाली कांग्रेस गौमुखी गाउँपालिकाका उपसभापति समेत हुन्।
त्यस्तै, सोही ठाउँकी २९ वर्षीया केशरी खड्का, जीप चालक ५२ वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का र नौवहिनी गाउँपालिका ६ की १६ वर्षीया विपना जिसीको मृत्यु भएको छ। एउटै गाउँ र परिवारभित्रैका व्यक्तिको मृत्यु भएपछि अहिले लिवाङ र लुङ गाउँ शोकमा डुबेको छ।
‘बेहुली भित्र्याउने तयारीमा जुटेको गाउँबाटै सात वटा शव निकाल्नु परेपछि त्यहाँको अवस्था कस्तो होला आफैं कल्पना गर्नुस् न,’ ईश्वरले भने।