रूपन्देहीको मणिग्राम र मोतिपुर जोड्न तिनाउ नदीमाथिको पक्की पुल ११ वर्षपछि निर्माण पूरा हुने आशा पलाएको छ।
दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०६७ असार २५ गते एलिट कन्स्ट्रक्सन प्रा.लि.सँग ठेक्का सम्झौता भएको थियो।
तिनाउ नदीले विभाजन गरेको मणिग्राम र मोतिपुर जोड्न उक्त पुल निर्माण थालिएको थियो। सडक विभाग पुल महाशाखाका अनुसार १० करोड ३८ लाख ९७ हजार रूपैयाँमा ठेक्का सम्झौता गरी काम थालेको निर्माण कम्पनीले दुई वटा पिलर उठाएर तेस्रोको लागि जग खन्दा जमिनमुनि चट्टान भेटिएपछि निर्माण कार्य रोकेको थियो।
६ वटा फाउन्डेसन रहने गरी डिजाइन गरिएको पुलका ३ वटा फाउन्डेसनमा चट्टान भेटिएको थियो। सडक विभाग पुल महाशाखाले वर्षौंसम्म अलपत्र पुलको प्राविधिक अध्ययन गरी पुलको वैकल्पिक डिजाइन स्वीकृत गरेपछि २०७७ भदौदेखि पुनः निर्माणको काम थालिएको थियो।
पुल विभागका सिनियर डिभिजनल इञ्जिनियर जीवेन्द्र मिश्रले वैकल्पिक डिजाइन पछि पुनः सुरू गरिएको पुल निर्माणको कामले अहिले गति लिएको जानकारी दिए।
‘सुरूमा गरिएको डिजाइनमा वेल फाउन्डेसन (कुवा जस्तो) डिजाइनमा स्वीकृत भएकोमा फाउन्डेसनमै कडा चट्टान भेटिएपछि वेल फाउन्डेसनलाई परिवर्तन गरी पाइल फाउन्डेसन (किला गाडेर बनाउने फाउन्डेसन) मा निर्माण सुरू गरिएको हो,’ मिश्रले भने।
पुल निर्माणको सम्झौता र डिजाइनअनुसार फाउन्डेसन जमिनबाहेक १७ मिटर गहिरो हुनुपर्नेमा कडा चट्टान भेटिएपछि १० मिटर पनि गहिरो फाउन्डेसन बन्न सकेको थिएन।
मिश्रले यसअघिको वेल फाउन्डेसनकै सपोर्टमा किला गाडेर फाउन्डेसन तयार गरी काम भइरहेको बताए।
मिश्रले अब पुलमा कुनै समस्या नभएकोले आगामी असारसम्म निर्माणको काम सम्पन्न हुने जानकारी दिए।
डिभिजन सडक कार्यालय बुटवल मातहत निर्माण भइरहेको पुलका साईट ईञ्जिनियर मुम पल्लीका अनुसार वेल फाउन्डेसनको डिजाइनमा ठेक्का सम्झौता गरिए पनि फाउन्डेसनको डिजाइन परिवर्तन गरिएकोले लागत रकम केही थप भएको छ।
भौगोलिक कारण फाउन्डेसननै परिवर्तन भएपछि पुल ठेक्का रकममा ७ प्रतिशत लागत थप गरी निर्माण थालिएको पल्लीले जानकारी दिए।
निर्माण कम्पनीले ४२ प्रतिशत निर्माण पूरा गरेपछि काम रोकिएकोले यसअघि नै ५० प्रतिशत भन्दा बढी ५ करोड २८ लाख ७७ हजार रुपैयाँ भुक्तानी लगिसकेको थियो।
बुद्धजन्मस्थल लुम्बिनी र बुद्धको मावली देवदहलाई जोड्ने सिधा मार्गको रूपमा रहेको लुम्बिनी परिक्रमा सडकमा पर्ने यो पुलको निर्माण सम्पन्न भएपछि लुम्बिनी जाने आन्तरिक एवं बाह्य पर्यटक सिधा पुग्न सक्ने छन्।
लुम्बिनी परिक्रमा सडकको देवदहदेखि लुम्बिनीसम्मको ४२ किलोमिटर सडकको निर्माण कार्य पूरा भइसकेको छ। यो पुल निर्माण भएपछि लुम्बिनी जाने मात्र नभई मोतिपुर, शुद्धोधनबाट तिलोत्तमा आउने सडकको दूरी पनि घट्ने छ।