भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान)का लागि फागुन ९ गते विमान अवतरण गर्ने गरी तयारी गरिएको आइसिबी टु अन्तर्गतको निर्माण कम्पनी एरोथाइले बताएको छ।
भर्खरैमात्र निर्माण कार्य सम्पन्न भएको विमानस्थलमा जडान गरिएका उपकरण र ग्राउण्डको परीक्षणका लागि तीन चार दिनयता एरोथाइका प्राविधिकहरू भैरहवामा छन्।
प्राविधिक परीक्षण भइरहेको बेला प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरलाई लिएर निरीक्षणको लागि आएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई विमानस्थलको अवस्थाबारे जानकारी गराउँदै एरोथाइका नेपाल प्रतिनिधि विजेन्द्र श्रेष्ठले मौसम अनुकूल भए क्यालिब्रेसन फ्लाइटका लागि फेब्रुअरी २१ (फागुन ९ गते) तारिखमा थाइल्याण्डदेखि जहाज ल्याण्ड गर्ने जानकारी दिएका हुन्।
श्रेष्ठले तीन वर्षको भैरहवाको मौसमलाई अध्ययन गर्दा भिओएफआरमा जहाज उड्न मिल्ने भएकोले मौसम नबिग्रिए फागुन ९ गते जहाज ल्याण्ड गर्ने जानकारी दिएका हुन्।
श्रेष्ठका अनुसार क्यालिब्रेसन फ्लाइटका लागि कम्तीमा ५ किलोमिटर भिजिबिलिटी चाहिन्छ।
अहिले एरो थाइ कम्पनीका तर्फबाट विमानस्थलमा परीक्षण उडान सञ्चालन तयारीका लागि आएको थाइल्याण्डको प्राविधिक टिमले विमानस्थलमा जडान गरिएका उपकरण, विमानस्थलको ग्राउण्ड तथा यहाँको पछिल्लो तीन वर्षको मौसमको अवस्था अध्ययन गरिरहेको छ।
क्यालिब्रेसन फ्लाइट विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्ने विधि हो।
यसका लागि पाँच/सात सिट भएको विमानले विमानस्थललाई केन्द्रित गरी उडानका क्रममा एन्टिना, सिग्नल रिसिभ, लाइटिङ, कम्युनिकेसन लगायतका सूचना ठीक छ छैन भनी परीक्षण गरिन्छ।
क्यालिब्रेसन फ्लाइटमा सबै सिग्नल र सूचना सही देखिएपछि मात्रै अरू जहाजको उडान र अवतरण सुरू गरिन्छ।
क्यालिब्रेसन फ्लाइटका लागि बनाइएको योजना अन्तर्गत विमानस्थलमा जडान गरिएको सञ्चार उपकरणहरूको जाँच गरिने, क्यालिब्रेसन फ्लाइट सुरू गर्ने, उडान भरेको विमानको दूरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रूटको जाँच, उडान र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङ लगायतका परीक्षण हुनेछ।
अनुगमनको क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले आगामी बुद्धजयन्ती सम्ममा विमानस्थल सञ्चालनमा आइसक्ने गरी काम गर्न निर्देशन दिए।
मन्त्री आलेले निर्माण कार्य सम्पन्न भए पनि मौसम अनुकूल नभएका कारण परीक्षण उडानमा ढिलाइ भइरहेको भन्दै मौसम अनुकूल हुने वित्तिकै परीक्षण उडान गरिने बताए।
‘यो विमानस्थलप्रति विश्वकै ध्यान केन्द्रित भएको छ, अब कुनै ढिलाइ हुनु हुँदैन’, मन्त्री आलेले भने, ‘बुद्ध जयन्ती अगावै ठूला-ठूला विमान उडेर सञ्चालन भएको देख्न पाइयोस्,’ उनले भने।
२०७४ साल पुस मसान्तभित्रै निर्माण सम्पन्न गर्नेगरी निर्माण सुरू गरिएको रूपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ५ वर्ष ढिलो गरी सम्पन्न भएको हो।
२०७१ साल माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाले शिलान्यास गर्दा विमानस्थलको निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने गरी ठेक्का सम्झौता गरिएको थियो।
तर विभिन्न अवरोधको बहानामा निर्माण कार्यमा ढिलाइ भएको भन्दै ८ पटकसम्म म्याद थप गरी अहिले भौतिक संरचना, सञ्चार उपकरण जडान लगायतका काम सम्पन्न भएका छन्।
आइसिबी वान र आइसिबी टु गरी दुई चरणमा निर्माण गरिएको विमानस्थलमा अहिले जडान गरिएका उपकरणहरूले काम गरे नगरेको जाँच प्राविधिकहरूले गरिरहेका छन्।
भौतिक निर्माणका कामहरूमा पनि रंगरोगन, फिनिसिङ लगायतका साना-तिना र छुटफुटका कामहरू भइरहेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए।
विमानस्थलको फ्लाइट क्यालिब्रेसनका लागि आइसिबी टु अन्तर्गतको कामको निर्माण कम्पनी एरो थाईका प्राविधिक टोलीले मंगलबारदेखि नै जडान गरिएको उपकरणहरू र ग्राउण्ड चेक गरिरहेको आइसिबी टु को योजना प्रमुख प्रविन न्यौपानले जानकारी दिए।
प्राविधिकहरूले परीक्षण गरेपछि फ्लाइट क्यालिब्रेसन सुरू गर्ने र त्यसैको रिपोर्टका आधारमा बल्ल नेपाल वायु सेवा निगमको जहाजले परीक्षण उडान गर्नेछ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घण्टौंसम्म एयर ट्राफिक जाम हुने गरेकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई त्यसको विकल्पको रूपमा हेरिएको छ।
बुद्ध जन्मस्थल लुम्बिनीसँगै जोडिएर निर्माण भइरहेको गौतमबुद्ध विमानस्थललाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाएको थियो भने लुम्बिनी प्रदेशको पर्यटनको मुख्य आधार मानिएको छ।
एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा निर्माण भएको विमानस्थलको आइसिपी वान अन्तर्गत गरिएको भौतिक संरचना निर्माणको सम्पूर्ण काम चिनियाँ निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले गर्दै आएको छ।
उपकरण जडान लगायत आइसिबी टु को निर्माणको काम भने थाइल्याण्डको एरोथाई कम्पनीले गरिरहेको छ।
आइसिपी वान अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, टर्मिनल बिल्डिङलगायत संरचना निर्माण भएका छन्।
आइसिपी टु अन्तर्गत हवाईजहाज पाइलट र विमानस्थलबीचको समन्वयका लागि प्राविधिक काम भइरहेको छ।
आयोजनाका अनुसार आइसिबी वान अन्तर्गत नर्थ वेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लिए पनि २०७५ साल मंसिरमा कस्ट भेरियसन हुँदा ६० करोड रकम वृद्धि भएको थियो।
जहाज उडान र अवतरणको लागि आवश्यक भिजिबिलिटीका थप काम पनि आइसिबी वान अन्तर्गत राखिएकोले भेरियसन गरी ६० करोड रकम थप गरिएको आयोजना प्रमुख अधिकारीले जानकारी दिए।
आइसिबी टु अन्तर्गत एरोथाईले ५० करोड रुपैयाँमा ठेक्का सम्झौता गरी काम गरिरहेको छ।
यी काम भइरहँदा विमानस्थलको पश्चिमतर्फ ९० करोड रुपैयाँमा ठेक्का सम्झौता गरी कार्गो निर्माणको काम भइरहेको छ।
विमानस्थल निर्माणको लागि महत्वपूर्ण काम जग्गा अधिग्रहण भएकोले विमानस्थल आसपासका करिब २३ सय घरधुरीलाई मुआब्जा वापत २२ अर्ब ४० करोड रुपैयाँ वितरण गरिएको छ।
मुआब्जा, भौतिक संरचना निर्माण र उपकरण जडान सम्पूर्ण कामको लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि ३० अर्बभन्दा बढी लगानी भएको आयोजनाले जनाएको छ।
विमानस्थलमा भएको लगानीमा एडिबीको ६२ दशमलव ६ प्रतिशत र नेपाल सरकारको ३७ दशमलव ४ प्रतिशत लगानी छ।
गौतमबुद्ध विमानस्थल भारत सरकारको सहयोगमा २०२३ सालमा निर्माण भएको थियो। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा धेरै क्षेत्रमा फैलिएको यो विमानस्थलको क्षेत्रफल १० हजार ५ सय रोपनी पुगेको छ।
अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नतिसँगै अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङ ७७७, एयर बस ३३० सम्मका जहाज सहजै उडान र अवतरण गर्न सक्ने नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले जानकारी दिए।
२०६१ साल अघिसम्म भने विमानस्थलको क्षेत्रफल ८४ बिघा तीन कठ्ठा थियो। अहिले निर्माण गरिएको विमानस्थलका भौतिक पूर्वाधारले आगामी ५० वर्षसम्म अन्तर्राष्ट्रियस्तरको उडान र अवतरण थेग्ने उनले जानकारी दिए।